किशोरावस्थामा मानसिक परिवर्तन

गर्भावस्थादेखि मृत्युको अवधि नै जीवन हो। मानिसको जीवनका महत्त्वपूर्ण कालखण्डमध्ये किशोरावस्था पनि एक हो। यो यस्तो उमेर हो, जहाँ व्यक्ति यौनिक एवं कानुनी रूपमा परिपक्व हुन्छ।
सामान्यतया किशोरावस्था १३ वर्षदेखि १८ वर्षसम्म रहन्छ। यो उमेरलाई हामी टिनएज पनि भन्छौँ। जीवनका अरु कालखण्डहरू झै किशोरावस्थामा पनि विभिन्न किसिमका शारीरिक मानसिक व्यवहारजन्य एवं संवेगात्मक परिवर्तनहरू देखा पर्छन्। यस्ता परिवर्तन हर्मोनको तथा पौष्टिक तत्त्वयुक्त खाना सामाजिक सञ्जाल लगायतका कारणले आजभोलि छिटै देखिन थालेका छन्।
किशोरावस्थालाई जीवनको संक्रमण कालका रूपमा पनि लिइन्छ। यो उमेरमा उनिहरू न त बालबालिका जस्तो रहन्छन् न त युवायुवतीसरह नै हुन्छन्। यसमा परिचयको संकेत देखा पर्छ। यो अशान्तिको समय हो। उनीहरूलाई चैन हुँदैन। आन्तरिक द्वन्द्वबाट उनीहरू गुज्रिनु पर्छ। घर– परिवार समाजले विश्वास नगर्दा गल्ती गर्छु कि भन्ने डर त्रासले सताउँछ। समाजले चाहेको भूमिका निर्वाह गर्न नसक्दा किशोरकिशोरीहरूले आफूभित्र अपर्याप्तता र कमजोरीको महशुस गर्छन्।
यो त्यही उमेर हो, जहाँ किशोर किशोरीहरू ज्यादा रिसाउने, झर्किने, दिवा सपना देख्ने, कल्पनामा रमाउने, आफू ठूलो भएको देखाउन धूमपान गर्ने। किशोरकिशोरीहरू घरमा भन्दा समय बाहिर साथीहरूसँग बिताउन रुचाउछन्। साथीहरूको संगतमा परेर चुरोट गाँजा रक्सी खाने खतरायुक्त काम गर्न रुचाउने हुँदा दुर्घटनामा समेत सडक दुर्घटनामा समेत पर्न सक्छ। बुबाआमासँगको सम्बन्ध किशोरावस्थाको शुरुमा त्यति राम्रो हुदैन। तर पछि क्रमशः सुधार हुँदै जान्छ।
उनीहरू सोच्छन्, ‘आमाबुवाले मेरो कुरा सुन्दै सुन्नु हुन्न। म के चाहन्छु भन्ने कुरा बुझ्नै चाहनु हुन्न। खाली आफ्नो कुरा मात्र लाद्नु हुन्छ।’ मनोवैज्ञानिकहरू यो उमेरलाई आँधी र तुफन तनाव आवेग तथा विरोधी अवस्था भन्न रुचाउँछन्। यस उमेरमा तनाव अत्यधिक हुन्छ। सामाजिक दबाब समेत त्यति नै हुन्छ। यसैकारण किशोरीहरूमा तनावले गर्दा हुने मनोवैज्ञानिक समस्या ‘हिस्टेरिया कन्भर्जन डिसअडर्स’ पनि देखा पर्न सक्छ। तनाव, डर, चिन्ता डिप्रेसन आत्महत्या जस्ता समस्या पछिल्लो समयमा किशोर किशोरीहरूमा बढ्दै गएको छ।
अध्ययनअनुसार १५ देखि २९ वर्षका किशोरकिशोरी र युवाहरूमा मृत्युको दोस्रो कारण आत्महत्या देखिन्छ। आत्महत्याको पहिलो कारण डिप्रेसन नै हो। साथीहरूसँग मिलेर खेल खेल्ने घुम्न जाने, गफ गरेर समय बिताउने, फिल्म हेर्ने, डिस्को–पिकनिक जाने, पार्टी भोजभतेरमा रमाउने जस्ता क्रियाकलापमा किशोरकिशोरीहरू रुचि राख्छन्। पढाइ गृहकार्यप्रति रुचि हुँदैन। शिक्षक विद्यालयप्रति आलोचना देखिन्छन्। कसैको दबाब उनीहरूलाई मन पर्दैन। शारीरिक कमी कमजोरी, भद्दा शरीर साथीहरूले नराम्रो उपनामले बोलाउने, पटक पटकको असफलता, अतिरिक्त क्रियाकलापमा साथीहरूले जस्तो राम्रो गर्न नसक्नु, आर्थिक कमजोरी र आफ्नो आवश्यकता पूरा नहुन जस्ता कुराहरूले उनीहरूलाई निराश बनाउँछ।
किशोरावस्थामा देखिने व्यवहार
चाँडो रिसाउने झर्किने, जिद्दी गर्ने,
बुबाआमा तथा ठूलाको भनेको नमान्ने अटेरी हुने, साथीहरूको लहैलहैमा लाग्ने,
आफूलाई मनपर्ने चलचित्रको नायक नायिका वा खेलाडीहरूको नक्कल गर्ने,
साथी संगतको कारणले जाँड, रक्सी चुरोट, गाँजाको सेवन गर्ने जोखिमपूर्ण काम गर्ने,
जोखिम मोल्ने मन पराउने इत्यादि।
कसरी ह्याण्डल गर्ने?
किशोरकिशोरीहरूले यो उमेरमा आफूमा देखा पर्ने यस्ता परिवर्तनहरू स्वाभाविक हुन् भनेर बुझ्नुपर्छ। त्यस्तै संयमित हुनु, आफ्नो काम कर्तव्य र जिम्मेवारी इमानदारीका साथ बहन गर्नु जरुरी छ।
उमेर र हर्मोनको कारण यस्तो भएको हो र यो समान्य कुरा हो। समय बित्दै गएपछि यो कम हुँदै जान्छ भन्ने कुरा प्रत्येक अभिभावकले बुझ्न जरुरी छ। अभिभावकको आफ्ना छोराछोरीमा देखा पर्ने मानसिक संवेगात्मक एवं व्यवहारजन्य परिवर्तनबारे जानकारी राख्नु पर्छ। कुन उमेरमा बालबालिकामा के कस्तो परिवर्तन आउँछ? यस्तो अवस्थामा उनीहरूसँग कस्तो व्यवहार गर्ने? उनीहरूबाट के कस्तो अपेक्षा राख्ने? उनीहरूलाई कसरी उत्प्रेरित गर्ने भन्ने सिप र ज्ञान अभिभावकमा हुनुपर्छ।
नेपालमा ‘प्यारेन्टिङ’को ज्ञान कमैलाई मात्र छ। यसकारण अभिभावकको किशोरकिशोरीसँग सही व्यवहार गर्न नसक्दा समस्या उत्पन हुने गर्छ। किशोरकिशोरीहरूसँग साथीजस्तो व्यवहार गर्ने उनीहरूको विश्वास जित्ने कर्तव्य र जिम्मेवारीका विषयमा किशोरकिशोरीहरूमा मानिसिक तनाव उत्पन्न हुने गर्दछ। यो उमेरका बालबालिकालाई अभिभावकहरूले सही परामर्शद्वारा जीवन जिउने सिप, यौन शिक्षा, नैतिक शिक्षा, दौँतरी शिक्षा र शारीरीक तथा मानसिक रूपमा आउने परिवर्तनबारे जानकारी दिन जरुरी छ।
त्यस्तै मानिसहरूसित कसरी बोल्ने उनीहरूसित कसरी लिने, कसरी सिर्जनात्मक हुने, अन्तर वैयक्तिक सम्बन्ध कसरी स्थापित गर्ने, तनाव कसरी कम गर्ने भनेर समेत सिकाउन जरुरी छ।
यौवनावस्थामा चासो यौनकै
यौनिक रूपमा परिपक्क हुने उमेर नै यौवनावस्था हो। बाल्यवस्थाको अन्तिम समय र किशोरावस्थाको शुरुवातको समय यौवनावस्थाभित्र पर्छ। केटीहरूको निम्ति ११ देखि १६ वर्षको अवधिलाई सामान्यतया यौवनावस्था भनिन्छ। यौवनावस्थामा पुग्ने समय व्यक्ति पिच्छे फरकफरक हुने सक्छ। पौष्टिकयुक्त खाना आधुनिक प्रविधि वातावरण जीवनशैली सानै उमेरमा ब्वाईफ्रन्ड र गर्लफ्रेन्ड बनाउने चलन स्रोत र साधनको पहुच सामाजिक सञ्जाल, जलवायु परिवर्तन, मोबाइल एल्डट सामग्री (पोर्नोग्राफी) मिडियाको प्रभाव, टेलिभिजन, बदलिँदो जीवन शैली खाद्यान्नमा प्रयोग हुने विषादीका कारण पनि बालबालिका चाँडै यौवनावस्थामा पुग्ने गर्छन्।
पछिल्लो समय यौवनावस्थाका लक्षणहरू देखिन सक्छन्। सामान्यतया केटाहरू भन्दा केटीहरू चाडो यौवनावस्थामा पुग्छन्। यौवनावस्थामा पुगेका केटीहरू रजस्वला हुने, केटाहरूको यौन अङ्गबाट वीर्य निस्कने हुँदा यस उमेरमा बच्चालाई जन्म दिन सक्ने क्षमता राख्छन्। यौवनावस्था शुरु हुने समयमा पुरुष सेक्स हर्मोन एन्ड्रोजिन र महिला सेक्स हर्मोन एन्ट्रोजिनबाट प्रशस्त मात्रामा यौन रसहरू निस्कछन्। यसले पुरुष प्रजनन अङ्ग र स्त्री प्रजनन अङ्गलाई उत्तेजित बनाउँछ। साथै यी हर्मोनहरूले पुरुष तथा महिलाका गुणहरू ‘सेकेण्डरी सेक्स’ क्यारेक्टर विकसित गर्न र प्रजनन अङ्गहरू विकास गर्न मद्दत गर्छ।
यौन अभिरुचिमा यी हर्मोनहरूको मुख्य हात रहन्छन्। यौवनावस्थामा विपरीत लिङ्गीप्रतिको भावनामा परिवर्तन आउने र विपरित लिङ्गप्रति आकर्षित हुुने हुन्छ। मानव जीवनमा दुईपटक तिव्र शारीरिक वृद्धि र परिवर्तन आउँछ। त्यसमा एउटा गर्भावस्था हो भने अर्को यौवनावस्था हो। यौवनावस्थामा यौन हर्मोन र ग्रोथ हर्मोनको कारण तीव्र शारिरिक परिवर्तन हुन्छ। यौवनावस्थामा पुगेका केटाहरू पहिलो पटक स्वप्नदोष हुँदा निकै चिन्तित र भयभित हुन्छन्। ‘कतै मलाई भयङ्कर रोग त लागेन?’ ‘नपुङ्सक हुने त होइन?’ भन्ने कुरा मनमा खेल्न थाल्छ। थकित टाउको दुख्ने कमजोर महसुस हने आलस्य लज्जाबोध गर्ने एकान्तप्रिय हुने अरुको आँखामा आँखा जुधाएर कुरा गर्न नसक्ने हुन सक्छ।
यौवनावस्था पुगेपछि स्वप्नदोष हुनु स्वाभाविक र प्राकृतिक कुरा हो। यो सबैलाई हुन्छ भन्ने शिक्षा नपाउँदा कतिले निरास भएर आत्महत्याको प्रयास गरेको पनि देखिन्छ। यौवनावस्थामा पुगेका केटीहरूमा पहिलो पटक रजस्वला हुँदा यसरी नै भयभित चिन्तित हुने गर्दछन्। आफूलाई यो के भएको होला। अरुलाई भन्न मिल्छ कि मिल्दैन भनुँ कि नभनुँ दोधारमा पर्ने गर्छन्। ‘सेक्स कन्सियस’ व्यवहार देखाउने रिसाउने, झर्किने, टाउको, ढाड, पेट दुख्ने, निन्द्रा नलाग्ने, बान्ता हुने, खाना खान मन नलाग्ने, थकान महशुस गर्ने मासंपेशीहरू खुम्चिने केटीहरूमा देखा पर्ने गर्दछन्। यौवनावस्थामा पुगेका केटाकेटीहरूमा आउने परिवर्तनले उनीहरूलाई हैरान समेत बनाउँछ। यसले मनोवैज्ञानिक असर समेत पार्न सक्छ।
यौवनावस्था केटाकेटीहरू बिरामी परिरहने उमेर पनि हो। केटाहरूलाई दाह्री, जुँगा, यौन अङ्गको आकार अनुहार र स्वरमा आएको परिवर्तन अनौठो लाग्छ। यसले उनीहरूलाई लज्जाबोध समेत गराउन सक्छ। केटाहरू भन्दा केटीहरू यौवनावस्थामा आफनो शरीरमा आएको परिवर्तनप्रति बढी नै सम्वेदनशिल हुने गर्दछन्। आफनो शारीरिक विकास प्राकृतिक रूपमा भइरहेको छ कि छैन भन्ने कुरामा उनीहरू धरै नै सचेत हुने गर्छन्। स्तनको आकार नितम्ब हात खुट्टा, अनुहार उचाइ ,दाँत, आाँखा, नाक, कपाल, शरीरको रौँ, डन्डीफार जस्ता कुरामा उनीहरू बढी सचेत हुने गर्छन्। अनुहारकै कारण साथीहरूबाट अपहेलित हुनु पर्ला कि भन्ने डर उनीहरूलाई जहिले पनि हुन्छ। केटाहरूको ध्यान आफूतिर आकर्षित गर्न सकिन्छ कि सकिँदैन भन्ने चिन्ताले ग्रसित समेत हुन्छन्।
यौवनावस्थामा पुगेका केटीहरूप्रति घर परिवार समाजले राख्ने निगरानी, बढ्दै गएको जिम्मेवारी, रजस्वला हुँदा छापघर वा छुट्टै बस्नुपर्ने र महिनावारी बार्नुपर्ने बाध्यता, बुवा आमाले एक्लै हिँड्न–डुल्न र साथीहरूसँग खेल्न बन्देज लगाउनु, ठूली भई भनेर सानाको भन्दा फरक व्यवहार गर्नुले उनीहरू दु:खी हुन्छन्। यौवनावस्थामा पुगेका केटाकेटीहरूले आफ्नो यौन अङ्गको काम र व्यवहारबारेचासो राख्न थाल्छन्। यौवनावस्थामा पुगेका केटाकेटीहरूमा यौनबारे जिज्ञासा हुनु स्वभाविकै हो।
यसरी चासो र जिज्ञासा राख्दा अभिभावकहरू समेत लजाउने, मुख खुम्च्याउने, उत्ताउलो\उत्ताउली भनेर गाली गर्छन्। उनीहरू यौन जिज्ञासा पूरा गर्न किताब यौन फिल्म, इन्टरनेट, साथीभाइहरूको सहयोग लिन बाध्य हुन्छन्। यस उमेरका केटाकटीहरूले शारीरिक सम्पर्क राख्ने उद्देश्यले भन्दा उत्सुकता र यौन जिज्ञासा पूरा गर्न यस्तो व्यवहार देखाउँछन्। यसलाई अरुले गलत रूपमा बुझ्न सक्छन्। साथै ठूलाले यसको फाइदा उठाएर दुर्व्यवहार गर्न समेत सक्छन्।
यौवनावस्थामा यौन शिक्षा र जानकारीको अभावमा गलत कार्य गर्न सक्ने सम्भावना पनि रहन्छ। शारीरिक रूपमा चाँडै परिपक्व हुने तर मानसिक रूपमा परिपक्व नहुने अज्ञानता र भ्रमका कारण यो उमेरमा उनीहरू दुर्घटनामा पर्न सक्छन्। यौवनावस्थामा यौन शिक्षाको अति नै आवश्यकता पर्छ। सेक्स भनेको के हो?, सानैमा शारीरिक सम्पर्क राख्दा हुने जोखिम असुरक्षित यौन सम्पर्क गर्भधारण यौनजन्य रोगहरू यौन अनुशासन जस्ता विषयमा जानकारी दिनुपर्छ।
प्रथम पाइला म्यागाजिनमा संग्रहित लेख
नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाइँदै
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा