Health TV Online
Health TV Online

के हो ‘सेप्सिस’? कसरी बच्ने?

के हो ‘सेप्सिस’? कसरी बच्ने?

प्रत्येक वर्ष सेप्टेम्बर १३ मा जनचेतनाका लागि विश्व सेप्सिस दिवस मनाइन्छ। ‘सेप्सिस’ एउटा यस्तो असाधारण अवस्था हो जहाँ संक्रमणसँग लड्ने प्रक्रियामा हाम्रो आफ्नै शरीरका विभिन्न अंगहरूमा नकारात्मक असर पर्न गई ज्यानलाई नै जोखिमको अवस्था सिर्जना हुन्छ। सेप्सिस समयमै निदान नभएमा मृत्युसमेत हुनसक्छ।

विश्व चित्र

सेप्सिस विश्वव्यापी समस्या हो। प्रत्येक वर्ष लगभग तीन करोड मानिसलाई सेप्सिस हुन्छ, जसमध्ये झण्डै ७० देखि ९० लाख मानिसको मृत्यु हुन्छ। यो समस्याबाट प्रत्येक ३.५ सेकेण्डमा एकजनाको मृत्यु हुने गरेको तथ्यांक छ।

हाम्रो अवस्था

हामीकहाँ तथ्यांक अभाव छ। हाम्रा अस्पतालहरूमा दिनहुँ धेरै मानिस सेप्सिस भएको अवस्थामा आउँछन्। आईसीयूमा मृत्यु हुने कारण नै सेप्सिस हुने गरेको छ। सेप्सिस भएर बाँच्न सफल मानिसहरूमा समेत लामो समयसम्म नकारात्मक असरहरू रहिरहन्छन्।

कारणहरू

धेरैजसो सुक्ष्मजीवी किटाणु ब्याक्टेरिया, भाइरस, ढुसी तथा परजीवीहरूले सेप्सिस गराउन सक्छन्। अहिलेको अवस्थामा स्वाइन फ्लु, डेंगु, मलेरियाले समेत सेप्सिस गराइरहेको पाइएको छ।

लक्षणहरू

असाध्यै कमजोरी महसुस हुनु

कम्पन हुनु,

बोली लर्बराउनु

बारम्बार झुक्किनु

पिसाब कम हुनु वा पिसाब नै नलाग्नु

सास फेर्न गाह्रो हुनु

‘अब म मर्छु कि क्या हो’ जस्तो अनुभव हुनु

छालाको रङ फेरिनु

ज्वरो आएको अवस्थामा वा किटाणुको संक्रमण भएको शंका भएको अवस्थामा यी लक्षण देखिएमा सेप्सिस भएको हुनसक्छ।

यस्ता व्यक्तिलाई जोखिम?

एक वर्षमुनिका बालबालिका

६० वर्ष माथिका वृद्धवृद्धा

लामो समयदेखि मुटु, फोक्सो, कलेजो र मिर्गौलाको रोग भएका व्यक्तिहरू

रोगसँग लड्ने क्षमता कम भएका व्यक्तिहरू, जस्तै एचआईभी, एड्स मधुमेह, मिर्गौला वा अन्य प्रत्यारोपण गरेका व्यक्ति।

कसरी बच्ने?

संक्रमणबाट जोगिनु नै सबैभन्दा महत्वपूर्ण उपाय हो। यसका निम्ति यी उपाय अपनाउन सकिन्छ।

खोप लगाउने

स्वच्छ पानी पिउने

सरसफाइमा सधैँ ध्यान दिने

सुरक्षित प्रसूति सेवा

जनचेतना।

सेप्सिस भएमा आईसीयूमै भर्ना हुनैपर्छ?

चाँडै स्वास्थ्य संस्थामा गई उपचार शुरु गरेमा धेरै बिरामीलाई सञ्चो हुन्छ। तर ढिलो भई महत्त्वपूर्ण अंगहरूमा असर परिसकेको अवस्थामा भने आईसीयूमा भर्ना गरेर उपचार गर्नुपर्ने हुन्छ।

आईसीयूमै भर्ना हुनुपरेको अवस्थामा बाँच्ने सम्भावना हुन्छ?

आईसीयूमै भर्ना हुनुपर्ने अवस्था भनेको गम्भीर अवस्था हो। तर उपयुक्त उपचार समयमै शुरु गर्न सकेमा बाँच्ने सम्भावना हुन्छ। आईसीयुमा भर्ना भएका ४० देखि ६० प्रतिशत बिरामीको भने मृत्यु हुन्छ।

  • डा. हेमराज पनेरु

    डा. पनेरु नेप्लिज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिनका महासचिव हुन्।

थप समाचार

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या

यस्तो छ ‘हट स्टोन मसाज’ को फाइदा

यस्तो छ ‘हट स्टोन मसाज’ को फाइदा