‘ब्लड क्यान्सर लाग्दैमा जीवन समाप्त हुँदैन’

क्यासर भन्नेबित्तिकै मानिसहरू डराउँछन्। आत्तिन्छन्। अझ रक्तक्यान्सर अर्थात् ब्लड क्यान्सर भन्नेवित्तिकै झन् मानिसहरू त्यसै हतास हुने गर्छन्। यो क्यान्सर हुनेबित्तिकै संसार देख्न पाइँदैन भन्ने भ्रम छ। समयमै, सही उपचार र बिरामीको आत्मबल उच्च भयो भने ब्लड क्यान्सर पनि अन्य क्यान्सरजस्तै हो।
ब्लड क्यान्सर सबै उमेरकालाई हुने रोग हो। यसले बालक अथवा युवा भन्दैन। ब्लड क्यान्सर के हो ? यसका लक्षण कस्ता कस्ता हुन्छन् सबैले थाहा पाउन जरुरी छ। ब्लड क्यान्सर विशेषगरी तीन प्रकारको हुन्छ। लिउकेमा, लिम्फोमा र माइलोमा।
‘लिउकेमा’ मा लामो समय ज्वरो आइरहने हुन्छ। सानो सानो काममै शरीर गल्ने, थाक्ने हुन्छ। शरीरको रंग सेतो देखिने, रिंगटा लाग्ने, हिँड्दा स्वाँ स्वाँ हुने वा छालामा रातो धब्बा हुन्छ। छालामा निलो दाग देखिन सक्छ, जसलाई हाम्रो समाजमा ‘बोक्सीले चुसेको’ भनिन्छ नाक र गिजाबाट रगत बग्ने समस्या हुन्छ। त्यस्तै उनीहरुको फियो कलेजोहरु ठूलो हुने जस्ता लक्षण ‘लिउकेमा’को हो।
शरीरमा गिर्खा गिर्खी आउने, ज्वरो आउने राति पसिना आउने, फियो ठूलो हुने ‘लिम्फोमा’को मुख्य लक्षण हो। ‘माइलोमा’ का बिरामीमा ८० प्रतिशत हड्डीमा असर गर्छ। हड्डी दुख्ने, हेमोग्लोबिन कम छ भने माइलोमा भनेर बुझिन्छ। २० प्रतिशत माइलोमामा चाहिँ मिर्गौलाको समस्या देखा पर्छ।
ब्लड क्यान्सरको उपचार दुई किसिमको हुन्छ, ‘सपोर्टिभ’ र ‘केमोथेरापी’। रगत कम भयो भने रगत चढाउने, इन्फेक्सन भएकामा एन्टिबायोटिक चढाउने, दुखाइ छ भने ‘पेन’ व्यवस्थापन गर्ने प्रक्रियालाई सपोर्टिभ भनिन्छ।
‘हाई रिस्क’को बिरामीलाई केमोथेरापी गर्नुपर्छ। एउटा महत्त्वपूर्ण कुरा के भने, ब्लड क्यान्सरको उपचारका लागि विदेश जानु र्पदैन्। अहिले ब्लड क्यान्सरको उपचार नेपालमै हुन्छ।
हामी सबैले यी लक्षणहरूबारे जानकारी राख्न जरुरी छ। यिनै लक्षण थाहा पाएर चाँडै उपचार गराउने हो भने यो रोगबाट मुक्ति पाउन सकिन्छ सहज जीवन यापन गर्न सकिन्छ।
सेप्टेम्बरलाई ‘ब्लड क्यान्सर जनचेतना ’ महिनाको रूपमा मनाइन्छ। ब्लड क्यान्सरका बिरामीले समयमा उपचार पाए भने निको हुन सक्छ। साधरण जीवनयापन गर्न सकिन्छ। यही सन्देश दिन पनि यो महिना ब्लड क्यान्सर जनचेतना महिनाको रूपमा मनाउने गरिएको हो।
हेमाटाेलाेजिस्ट डा.श्रेष्ठ नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धिमा कार्यरत छन्।
भिडियाे :
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights