Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

आयुर्वेदको विषयमा फैलाइएको भ्रम र यथार्थ

आयुर्वेदको विषयमा फैलाइएको भ्रम र यथार्थ

अचेल विभिन्न क्षेत्रबाट आधारहीन कुरा गरी आयुर्वेदप्रति सर्वसाधारणमा भ्रम फैलाउने कार्य भइरहेकोे छ। समाजमा प्रतिष्ठित व्यक्ति तथा आधुनिक चिकित्सकहरूबाट समेत आयुर्वेद विधा र यसमा लागेका चिकित्सक तथा स्वास्थ्यकर्मीको मानमर्दन हुने गरी सञ्चार माध्यमबाट भ्रम फैलाउने र आयुर्वेद चिकित्सा विधिलाई बदनाम गर्ने काम निरन्तर भइरहेको छ।

विशेषगरी नाम चलेका केही डाक्टरहरूले आयुर्वेद र यसका चिकित्सकीय ज्ञान नबुझी भ्रम फैलाउने कार्य गरिरहनु भएको छ। कहिलेकाहीँ अनलाइन तथा अन्य लोकप्रिय मिडियामार्फत उहाँहरू आम नागरिकलाई झुक्याउन सफल भएको देखिन्छ। यही क्रममा भदाै १३ मा हेल्थ टिभी अनलाइनमा डा ज्योति भट्टराईद्धारा लिखित ‘मधुमेहबारे भ्रम नै भ्रम’ भन्ने लेखमा आयुर्वेदप्रति उहाँले जे भन्नुभएको छ त्यसमा  हाम्रो आपत्ति छ ।

आयुर्वेद चिकित्सामा मधुमेह, बाथ, पेट र कलेजोसम्बन्धी रोग, पिनास, पाइल्स, फिस्टुला स्त्रीरोग, हाडजोर्नीसम्बन्धी रोग, कमजोरी, यौन दुर्बलता आदिमा अति राम्रो उपचार छ। यीबाहेक अन्य धेरै रोगमा आयुर्वेदको उपचार प्रभावकारी छ। आयुर्वेदमा औषधि, पञ्चकर्म, क्षारसूत्र लगायत विधिबाट उपचार गरिन्छ। साथै योग र ध्यानको समेत सहयोगबाट उपचार गरिन्छ।

आयुर्वेद प्राचीन ऋषिमुनिहरूको उपदेश तथा आधुनिक विज्ञानले प्रमाणित गरेका तथ्यहरूको सम्मिश्रणबाट श्रृजना भएको हो। आयुर्वेद आयुको ज्ञान अर्थात् जीवनको ज्ञान हो। नेपालीहरूले प्राचिन कालदेखि नै आफ्नै गाउँघर वरिपरी पाइने जडीबुटीहरूमा आधारित आयुर्वेद औषधिहरूको उपयोग गर्दै स्वास्थ्य रक्षा गर्दै आएका छन्। प्राचीन कालदेखि हालसम्म निरन्तर रूपमा चलिआएको आयुर्वेद वैज्ञानिक पद्धति हो।

विशेषगरी नाम चलेका केही डाक्टरहरूले आयुर्वेद र यसका चिकित्सकीय ज्ञान नबुझी भ्रम फैलाउने कार्य गरिरहनु भएको छ। कहिलेकाहीँ अनलाइन तथा अन्य लोकप्रिय मिडियामार्फत उहाँहरू आम नागरिकलाई झुक्याउन सफल भएको देखिन्छ।

यसका आफनै विशिष्ट प्रकारका ज्ञान एवं शैली छन्। अहिलेका वैज्ञानिक सोचहरूलाई बढीभन्दा बढी प्रकृतिसँग दाँजेर हेर्ने र प्रकृतिसँग सात्म्य भएका विषयहरूलाई व्यवहारमा ल्याउने कार्यहरूमा दत्तचित्तले लागेको देखिन्छ। वेदमा वर्णित आयुर्वेदको विकास मानवको विकासयात्रा भन्दा अघि भएको हो भन्ने कुरा विभिन्न समयमा गरीएका अध्ययन—अनुसन्धानबाट समेत पुष्टि भइसकेको छ। आत्मा, मन र शरीरको सम्बन्धको बारेमा वेदमा विस्तृत रूपमा व्याख्या गरिएको छ, जुन कुरा आधुनिक चिकित्सा विज्ञानमा अहिले एक्काइसौँ शताब्दीमा भर्खरै बहस हुँदैछ। अस्वस्थ व्यक्तिको स्वास्थ्य उपचार तथा स्वस्थ व्यक्तिको स्वास्थ्य रक्षा गर्नु आयुर्वेदको प्रमुख उद्देश्य हो।

आयुर्वेद औषधिहरू औषधि ऐन २०३५, औषधि दर्ता नियमावली २०३८, औषधि स्तर नियमावली २०४३, औषधि दर्ता कार्यविधि २०७३, औषधि उत्पादन कुशल अभ्यास संहिता २०७२ तथा चूर्ण औषधि उत्पादन निर्देशिका २०७२ को परिधिमा रही उत्पादन गरिन्छ। आयुर्वेद औषधि उत्पादन गर्ने उद्योगको स्थापना, नियन्त्रण, नियमन, औषधि दर्ता, उत्पादन अनुज्ञापत्र, औषधि पैठारी, औषधि पसल दर्ता, औषधि बिक्री वितरण, नियन्त्रण र व्यवस्थापनसम्बन्धी सम्पूर्ण कार्य औषधि व्यवस्था विभागबाट हुन्छ तर आवश्यक आयुर्वेद विभागको समेत राय–सुझाव लिइन्छ।

आयुर्वेदिक औषधि विभिन्न स्वरूप जस्तै चूर्ण, बटि, कल्क, आसव, अरिस्ट, स्वरस, क्वाथ, फान्ट आदि विधिबाट उत्पादन गरिन्छ। त्यसैगरी अञ्जन, पिष्टि, नस्य, मञ्जन, लेप, गुटिका, कुपिपक्व, क्षार, पर्पटि, काजल, क्याप्सुल, मल्हम, पाक, मोदक, सुरा, अर्क, तेल, घृत आदि स्वरूपमा आधुनिक र शास्त्रीय रूपमा उत्पादन गरिन्छ। आयुर्वेदिक औषधिको शास्त्रीय रूपमा नाम, परिचय, गुण, कर्म आदिको संहिता र निघण्टुहरूमा वर्णन गरिएको हुन्छ। शास्त्रीय रूपमा वर्णन गरिएका र शास्त्रमा उल्लेखित घटकहरूका प्रभावकारिताको आधारमा शास्त्रीय आयुर्वेदिक औषधिहरूको उल्लेख गरिएको हुन्छ। आधुनिक वैज्ञानिक खोज र अनुसन्धान समेत समावेश गरी ती औषधिको पाश्र्व प्रभाव कम गर्न, प्रभावकारिता बढाउन, सुरक्षित तथा गुणस्तरीय बनाउन शास्त्रीय आधार वा अनुसन्धानबाट कुनै घटक द्रव्यहरूको फेरबदल पनि गरिएको हुनसक्छ।

आयुर्वेदमा उपचारको लागी बोटविरुवा, जनावर वा रस रसायनहरूलाई औषधिको रूपमा प्रयोग गरिन्छ। यी औषधिहरू तुलनात्मक रूपमा कम हानिकारक र पाश्र्व प्रभावरहित छन्। सम्बन्धित विषयमा अध्ययन गरेका आयुर्वेद चिकित्सकको सल्लाहमा नियमित रूपमा उपचार गरे धेरैजसो रोगको उपचार आयुर्वेदबाट सम्भव छ। यसका लागि दर्तावाला चिकित्सकको परामर्श लिनु जरुरी छ। आयुर्वेद पद्धतिबाट उपचार गर्ने विभिन्न प्रकारका जनशक्ति हुन्छन्। विशेषज्ञको रूपमा काम गर्न आयुर्वेदमा एमडी गरी आयुर्वेद चिकित्सा परिषदमा विशेषज्ञ दर्ता भएको हुनुपर्छ। यी जनशक्ति तथा आयुर्वेद अध्ययन गरेका स्वास्थ्यकर्मीबाहेक अरु कसैले गर्ने आयुर्वेद उपचार गैह्रकानुनी र नक्कली हो।

हरेक चिकित्सा पद्धतिका आ—आफ्नै सबल र दुर्बल पक्ष हुन्छन्। आधुनिक चिकित्सा पद्धतिको सबल पक्ष भनेको शल्यक्रिया र एन्टीबायोटिक्सको विकास हो। आयुर्वेदको सबल पक्ष पञ्चकर्म र रसादि औषधि हो। आयुर्वेद आफैँमा पूर्ण चिकित्सा हो त्यसैले यो पद्धतिबाट विभिन्न रोगको सफल उपचार हुन्छ तर जुनसुकै रोगको पनि ग्यारेन्टीका साथ उपचार हुँदैन।

कुनै पनि रोग उत्पत्तिदेखि विभिन्न चरण पार गर्दै शरीरमा देखा पर्छ र मानिसलाई रोगी बनाउँछ। त्यसकारण कुनै पनि चिकित्सा पद्धतिबाट सकेसम्म छिटो उपचार गराउन सके मात्र बिरामीले चाँडै सकारात्मक प्रतिफल पाउँछन्। आयुर्वेद पद्धतिमा पनि यदि रोगको उपचार प्रारम्भिक अवस्थामै गर्न सकियो भने राम्रो नतिजा आउँछ। त्यस कारण सकेसम्म सबैभन्दा पहिला आयुर्वेदमा उपचार गराउनु राम्रो हुन्छ। अन्यत्र कतै उपचार नभएर आयुर्वेदमा उपचार गराउन जाँदा ढिलो भइसकेको हुन सक्छ।

विभिन्न रोग उत्पन्न हुने र निको हुने समय फरक—फरक हुन्छ। कतिपय रोगहरू जस्तै– मधुमेह, रक्तचाप, बाथ आदिको औषधि जीवनभर खानुपर्ने हुन सक्छ। ग्याष्ट्राइटिस, पिनास, कास आदि रोगको औषधि केही समय खाएपछि निको हुन्छ। यो कुरा आयुर्वेद, आधुनिक चिकित्सा तथा अन्य चिकित्सा पद्धतिमा बराबर रूपमा लागु हुन्छ। त्यसैले, आयुर्वेद उपचारले ढिलो गरी निको हुने होइन। रोगको प्रकृति अनुसार विभिन्न चिकित्सा विधामा हरेक रोगलाई करिब उस्तै समय लाग्छ।

कुनै पनि रोग गराउने विभिन्न कारण हुन्छन्। ती कारणहरू वंशाणुगत, वातावरणीय, खानपिन, रहनसहन आदि हुन्। यी कारणमध्ये खानपिन र रहनसहन हाम्रो कारणबाट नियन्त्रण गर्न सक्छौँ। त्यसैले आधुनिक चिकित्सा तथा अन्य चिकित्सा पद्धतिमा बराबर रूपमा खानपिन तथा रहनसहन मिलाउन बिरामीलाई परामर्श दिनुपर्छ। यो अकाट्य सत्य हो। त्यसैले रोगअनुसारको खानपिन र रहनसहन सबै पद्धतिमा मिलाउनु पर्छ। आयुर्वेदमा मात्र यो नियम लागु हुने होइन।

अतः जथाभावी रूपमा बिक्रीवितरण भएका, म्याद नाघेका, सम्बन्धित विशेषज्ञको रेखदेख नभई उत्पादित, बाटोमा बिक्री गरिएको, रेडियो, टेलिभिजन तथा पत्रपत्रिकाहरूमा निस्कने विज्ञापनबाट बढाइचढाइ गरिएका र नेटवर्क व्यवसायमार्फत बिक्री भइइरहेका औषधिजन्य पदार्थ जथाभावी रूपमा प्रयोग गर्नु हुँदैन। आयुर्वेद औषधिहरू सही तरीकाले प्रयोग नगरे ती हानिकारक पनि हुन सक्छन्। चिकित्सक वा आयुर्वेद स्वास्थ्यकर्मीको सल्लाह र परामर्शविना आयुर्वेद औषधि प्रयोग गर्नु हुँदैन।