Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

मधुमेहबारे भ्रम नै भ्रम

मधुमेहबारे भ्रम नै भ्रम

मधुमेहबारे बिरामीमा भ्रम नै भ्रम छन्। यसले गर्दा बिरामी आफैँले त दु:ख पाइरहेका छन्, हामी डाक्टरलाई पनि उपचारमा अप्ठ्यारो हुन्छ। आउनुस् आज हामी मधुमेहबारेमा बिरामीमा भएका भ्रमबारे चर्चा गरौँ

भ्रम नं. १

बिरामीले लक्षण देखिएको छैन भनेर यसलाई साधारण रोग हो भन्ने भ्रम पाल्ने गरेका छन्। यो साधारण रोग होइन भन्ने कुरा बुझ्न जरुरी छ। चनाखो भएर यसलाई नियन्त्रणमा लिइएन भने यो निकै डरलाग्दो रोग हो। यसमा सावधानी नअपनाए  मुटु मिर्गौलामा असर गर्ने, यौन दुर्बलता निम्त्याउने, संक्रमणका कारण खुट्टा काट्नुपर्ने सम्मका जटिलता आउनसक्छन्।

भ्रम नं. २

खानेकुरामा त झन ठूलो भ्रम छ। के खाने के नखाने भनेर धेरै जनाले आफैँ निर्णय लिने गरेको पाइन्छ। भात खानै हुँदैन भनेर ‘महिनौँ भात खाइनँ’ भनेर आउने बिरामी पनि छन्। उनीहरूको सुगर नियन्त्रण भएको हुँदैन। हामीले सोध्दा ६ वटा रोटी खान्छु भन्छन । हामीले खाना कम कम खानुस् भन्छौँ। रोटी खान हुने, भात खान नहुने कुरा होइन, मात्रा मिलाउने र पोषणयुक्त खानेकुरा महत्त्वपूर्ण हो। मधुमेह रोगीका लागि छुट्टै भोजन चाहिँदैन ।

भ्रम नं. ३

धेरै बिरामी एकपटक उपचारमा गएर औषधि खाएपछि ‘फलो अप’मा जाँदैनन्। यही औषधि खाने त हो भनेर भ्रम पालेर बस्छन्। जसले गर्दा सुगर लेबल घटबढ भएको थाहा हुँदैन र जटिलता आउँछ। धेरै जटिलता आउन थालेपछि वर्षौँपछि आउँछन्। सुगरका बिरामीले प्रत्येक तीन महिनामा जाँच गेर आफ्नो डाक्टरलाई भेट्नैपर्छ। गाडी ‘सर्भिसिङ’ गरेजस्तै नियमित जानैपर्छ । अन्यथा जटिलता बढ्दै जान्छ ।

भ्रम नंं. ४

औषधि शुरु गरेपछि जीवनभर खानुपर्छ भन्ने भ्रम छ। यही कारण धेरैले औषधि शुरु गर्न नै आनाकानी गर्छन्। यो भ्रम मात्र हो। कतिपय बिरामीले जीवनभर खानुपर्ने भए पनि सबैले खानुपर्छ भन्ने होइन। अवस्था हेरेर डाक्टरले औषधि कम गर्न वा बन्द गर्न सक्छन्।

भ्रम नं. ५

मधुमेह सँगै उच्च रक्तचापको औषधि खान हुँदैन भन्ने भ्रम छ। यो पनि भ्रमै हो । त्यस्तो कुनै नियम छैन । बरु उच्च रक्तचाप नियन्त्रणमा नआएसम्म सुगर घट्न गाह्रो हुन्छ। त्यसैले यसलाई नियन्त्रणमा राख्न जरुरी छ। यदि उच्च रक्तचाप बढी भएमा यसले ‘ब्रेन स्ट्रोक’ बनाउन सक्छ। याे कुरा बेलैमा बुझेर डाक्टरकाे सल्लाहमा प्रेसरको औषधि खाइहाल्नुपर्छ ।

भ्रम नं. ६

मधुमेह आयुर्वेद औषधिले ठीक गर्छ भन्ने अर्को भ्रम छ। त्यतातिर धेरै जना लाग्छन्। मलाई लाग्दैन मधुमेहलाई आयुर्वेदले ठीक गर्छ। यो मधुमेहको उपचारका लागि प्रमाणित भएको छैन। अझ भनौँ आयुर्वेद औषधि प्रमाणको कठघरामा उभिएको छैन। तितेपातीले मृगौलालाई पनि बिगारेको उदाहारण  छन्।

त्यसैले आयुर्वेदतिर जाने गल्ती नगर्नुस्। भ्रमको पछि नलागी डाक्टरको सल्लाहअनुसार औषधि सेवन गर्नुपर्छ। राम्रो सँग नियन्त्रण गर्न खुशीसाथ सुखी जीवन बिताउन सकिन्छ। भ्रम पालेर नबस्नुस्।

भ्रम नं. ७

भारत या अन्य देशमा मधुमेह रोग सम्पूर्ण रुपमा ठिक पार्छ  रे भनेर त्यसको पछि दौडिनेहरू पनि छन्। मधुमेह दीर्घरोग हो। यो पूर्णरूपमा निको हुँदैन यसलाई नियन्त्रणमा राखेर हाँसीखुशी जीवनयापन गर्न सकिन्छ।  यसलाई पूर्ण रुपमा निको पार्ने औषधि अहिलेसम्म बनेको छैन्।

यस्ता भ्रमहरूको पछि नलाग्नुस्। वेलावेलामा डाक्टरलाई जचाउँनुस्। उनीहरूको सल्लाहअनुसार खानपान, व्यायाम र आवश्यक परेको औषधि सेवन गर्नु नै उपयुक्त हुन्छ।

हेर्नुहोस् भिडियो:

  • डा. ज्योति भट्टराई

    हर्मोन रोग विशेषज्ञ डा.भट्टराई मेट्रो काठमाडौं अस्पतालमा कार्यरत छिन्।

थप समाचार

के हो अटिजम ?

के हो अटिजम ?

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या