किन गराउने शिशुलाई कम्तीमा २ वर्षसम्म स्तनपान?
आमाको दूध शिशुका लागि नभई नहुने पदार्थ हो। शिशुका लागि यो अमृत समान हुन्छ। केही दिनसम्म आउने पहेँलो, बाक्लो आमाकाे बिगौती दूधमा रोगसँग लड्ने प्रतिरोधात्मक तत्त्व हुन्छ, जसले शिशुलाई संक्रामक रोग लाग्नबाट बचाउँछ। त्यसैले स्तनपानलाई पहिलो खोप भनिन्छ। त्यसकारण शिशु जन्मिएको एक घण्टाभित्रमा उसलाई आमाको बिगौती दूध अनिवार्य रूपमा खुवाउनुपर्छ।
बिगौती दूधले बालबालिकालाई भविष्यमा हुनसक्ने विभिन्न प्रकारका रोगको जोखिमबाट टाढा राख्छ। कुपोषण, पुड्कोपना मधुमेह, मोटोपना र मृत्युदर घटाउनुको साथै आमाको स्वास्थ्यमा समेत सकारात्मक असर पार्छ। आमामा स्तन क्यान्सर र हृदय रोगको जोखिम कम गराउँछ ।
शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराइसक्नुपर्छ। ६ महिनासम्म उसलाई चाहिने सम्पूर्ण पौष्टिक तत्त्वहरू आमाको दूधमा पर्याप्त मात्रामा पाइने हुँदा निरन्तर रूपमा पूर्ण स्तनपान गराउनुपर्छ। शिशुलाई तीन तीन घण्टामा स्तनपान गराउनुपर्छ। छ महिनापछि थप आहारको आवश्यकता पर्छ तर दुई वर्ष वा सम्भव भए त्यो बढी समय स्तनपान गराउनुपर्छ।
विश्व स्वास्थ्य संगठनका अनुसार तीन वर्षसम्म बच्चालाई आमाको दूध आवशयक पर्छ। पछिलो समयमा स्वास्थय सर्वेक्षणमा २०१६ को तथ्यांकमा नेपालमा स्तनपान गराउनेको संख्या ६६ प्रतिशत छ। बच्चा जन्मेको एक घण्टाभित्र स्तनपान गराउनेको संख्या ५५ प्रतिशत छ।
पछिल्लो समय आमाहरू बट्टाको दूधमा आकर्षित हुने गरेका छन्। तर यसमा बच्चाको शारीरिक विकास र स्वास्थ्यका लागि आवश्यक पर्ने तत्त्व हुँदैन जुन आमाको दूधमा पाइन्छ। बट्टाको दूधमा पर्याप्त रूपमा पोषण तत्त्व नहुने कारण शिशुहरुमा रोगसँग लड्ने क्षमतामा कमी हुन्छ। कुपोषण्का साथै भविष्यमा मोटोपना र मधुमेहजस्ता रोग लाग्नसक्ने खतरा बढ्छ।
कतिपय आमाको पर्याप्त दूध नआउने भएका कारण बट्टाको दूध खुवाउनुपर्ने बाध्यता हुनसक्छ। तर पर्याप्त दूध आएर पनि सौन्दर्य बिग्रिने वा अन्य विभिन्न भ्रममा परेर आफ्ना शिशुलाई स्तनपान नगराउने आमाको संख्या उल्लेख्य छ। कतिपयले कामको व्यस्तताका कारण आफ्ना नानीलाई दूध खुवाउन पाउँदैनन्।
त्यसैले आमाहरूमा चेतना अभिवृद्धि गर्ने कार्यक्रम ल्याउनुपर्छ। कामका कारण व्यस्त भएकाहरूलाई दूध निचोरेर खुवाउनसक्ने विधि सिकाउनुपर्छ। कामकाजी महिलाहरूले दूध निचोरेर सुरक्षित तरिकाले राख्ने र पछि स्वस्थ तरिकाले अरुले खुवाउन मिल्ने तरिका प्रयाेगमा ल्रयाउनु पर्छ। यसैगरी बजारमा अनियन्त्रित रूपमा पाइने ल्याक्टोजेनजस्ता बट्टाका दूधमा सरकारले अंकुश लगाउनुपर्छ।
स्तनपान घटदो अवस्थामा रहेकाले सचेतनामूलक कार्यक्रमस्वरूप प्रत्येक वर्ष अगस्ट १ देखि ७ सम्म विश्वभर स्तनपान सप्ताह मनाइन्छ। नेपालमा पनि यो वर्ष साउन १६ देखि २२ गतेसम्म सप्ताह मनाइँदै छ।
हेलन किलर इन्टरनेसनलका परियाेजना निर्देशक डा. अतुल उपाध्यायसँगकाे कुराकानीमा आधारित ।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड