Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

‘हार्ट अट्याक’ जत्तिकै खतरापूर्ण ‘लेग अट्याक’

‘हार्ट अट्याक’ जत्तिकै खतरापूर्ण ‘लेग अट्याक’

हामीमध्ये लगभग सबै जनाले ‘हार्ट अट्याक’ (हृदयाघात) को बारेमा सुनेका छौँ र यसबारे थोरबहुत जानकारी पनि छ। हार्ट अट्याक जत्तिकै खतरापूर्ण हुने ‘लेग अट्याक’बारे कतिले सुनेका छौँ? आउनुहोस् आज लेग अट्याकका बारेमा कुरा गरौँ।

भास्कुलर रोगमध्येको एक हो लेग अट्याक। जसरी मुटुको नसा बन्द भएमा ‘हार्ट अट्याक’ हुन्छ त्यसरी नै खुट्टामा रगत जाने नसामा अवराेध  पुगे लेग अट्याक हुन्छ, जुन असाध्यै पीडादायक हुन्छ।

यदि कसैलाई हिँड्ने क्रममा खुट्टामा असह्य पीडा हुन्छ। ६० वर्ष कटेपछि यस्तो समस्या आयो भने कतै लेग अट्याक भएको त होइन भनेर सोच्नुपर्छ। लेग अट्याक विशेष गरी बुढेसकालमा मात्र हुने हुँदा धेरैले बुढ्यौलीका कारण आएको समस्या भनेर औषधि गर्नतर्फ लाग्दैनन्। तर बस्दा सजिलो हुने र हिँड्दा खुट्टा दुख्ने समस्या भए त्यो लेग अट्याक भएको हुनसक्छ। त्यसैले जतिसक्दो चाँडो यसको उपचार गर्नु पर्छ। चाँडै यसको उपचार गरिएन भने बिस्तारै पूरै खुट्टा कालो भएर जाने, मासु फर्किएर बारम्बार पीडा बल्झिने समस्या हुन्छ।

यसको उपचार नेपालमै सम्भव छ। तर यसको उपचार गराउन कमै मात्र मानिस अस्पताल आउँछन्। यो रोग शुरुमै पत्ता लाग्दा सजिलै निको पार्न सकिन्छ।

यस्तो समस्या भएका बिरामी धुलिखेल अस्पतालमा महिनामा एक सयभन्दा बढी आउँछन्।
जसरी अस्वस्थ खानपान, शारीरिक व्यायामको कमी, अत्यधिक धूमपानले हार्ट अट्याकको सम्भावना बढाउँछ, त्यसरी नै लेग अट्याकमा पनि तिनै कुराले जोखिम बढाउँछन्। यस्तै उच्च रक्तचाप, मधुमेह र मोटोपना भएका व्यक्तिलाई यो समस्याले बढी सताउँछ।

संख्याको कुरा गर्दा पनि जुन संख्यामा हार्ट अट्याक हुन्छ त्यत्ति नै संख्यामा लेग अट्याक हुन्छ। हार्ट अट्याकमा तत्काल उपचार नगरे ज्यान जान्छ। लेग अट्याकमा शुरुमा पीडा मात्र हुने हुँदा धेरैले यसलाई वास्ता गर्दैनन्। हिँड्दा खुट्टामा पीडा भएपछि हिँड्नै छोड्ने बिरामी पनि छन्। यसले गर्दा वजन बढ्दै जाने समस्या हुन्छ।

उपचार

लेग अट्याकको उपचार राजधानीका ठूला अस्पतालमा हुँदै आएको छ। भास्कुलर सर्जनले यसको उपचार गर्छन्। तर धेरै बिरामी यो नसाको समस्या ठानेर नसारोग विशेषज्ञकहाँ पुग्छन्। कतिपय छाला तथा हाडजोर्नीको डाक्टरकोमा जान्छन्। वास्तवमा यो रक्तनलीसँग सम्बन्धित रोग हो, जुन ‘भास्कुलर डाक्टर’ले हेर्छन्। यति कुरा थाहा नहुँदा वा नबुझ्दा बिरामी यताउता भौँतारिन्छन्।

लेग अट्याकमा मुटुको सर्जरी गरे जसरी नै खुट्टाको रक्तनलीको ‘बाइपास सर्जरी’ गरिन्छ। त्यसैगरी रगत पातलो बनाउने औषधि पनि दिइन्छ। यससँगै रक्तनली भित्र जाली अर्थात् ‘स्टेन्ट’ हालिन्छ। समस्या भएको रक्तनलीमा क्रृत्रिम रक्तनली पनि हाल्न सकिन्छ।

यसरी हार्ट अट्याककै ‘मोडालिटी’मा  जस्तै लेग अट्याकमा औषधि उपचार हुन्छ। यति फरक छ, हार्ट अट्याकमा सबै आत्तिन्छन् र छिटो अस्पताल पुर्याउँछन्। तर लेग अट्याकबारे धेरैलाई ज्ञान नै छैन। समस्या भइसकेपछि पनि धेरै ढिलो आउँदा कसैकसैको खुट्टै काट्नुपर्ने अवस्था आउँछ।

धुलिखेल अस्पतालमा कार्यरत कार्डियो थाेरासिक तथा भाष्कुलर सर्जन डा रबिनमान कर्माचार्यसँग गरिएको कुराकानीमा आधारित:

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।