पाठक र दर्शकको सद्भावले हामी उत्साहित छौँ, जनचासोका विषयवस्तु अझ बढी पस्किने वाचा गर्छौँ

‘स्वास्थ्यका लागि सञ्चार’ मूल मर्मसहित आम मानिसलाई आफ्नो स्वास्थ्य अवस्था, उपचारमा पहुँच र स्वास्थ्य अधिकारबारे सुसूचित गराउने उद्देश्यसहित स्वास्थ्यको विशिष्टीकृत विधा ‘स्वास्थ्य पत्रकारिता’को विकासका लागि एक वर्षअघि असार २४ गते हामीले ‘हेल्थ टिभी अनलाइन डटकम‘ सञ्चालनमा ल्याएका थियौँ।
स्वास्थ्यसँग जोडिएका विषयवस्तुलाई ‘टेक्स्ट’ मा मात्र नभई अडियो र भिडियोमार्फत सम्प्रेषण गर्ने भएकाले हेल्थ टिभी अनलाइन अरु अनलाइनभन्दा पृथक रहेको प्रिय पाठक तथा दर्शकलाई अवगत नै छ।
यो एक वर्षमा जनस्वास्थ्यसँग सरोकार राख्ने समसामयिक विषयमा शब्द, श्रव्य–दृश्य, तस्विर र ग्राफिक्सको माध्यमबाट विश्वसनीय सूचना र समाचार सम्प्रेषण गर्यौँ भन्ने हामीलाई लागेको छ।
यो एक वर्षमा हामीले नीतिगतदेखि जनचासोका थुप्रै विषयवस्तु उठान गर्यौँ। तीमध्ये केही लेख र समाचार पाठकले असाध्यै धेरै मन पराएर सय, हजारमा होइन एक लाख भन्दा बढी सेयर भएका छन्। यो छोटो समयमा हामीले पाएको यो ठूलो उपलब्धि हो भन्ने हामीलाई लागेको छ।
डा. ज्योती अग्रवालसँगको कुराकानीमा आधारित ‘छोरीलाई दाइजो होइन, क्यान्सरबाट जाेगाउने एचपीभी भ्याक्सिन दिनुस्’ शीर्षकको लेख एक लाख ११ हजारभन्दा बढी पटक सेयर भएको छ। यसले हामीलाई ज्यादै नै उत्साहित बनाएको छ।
जनस्वास्थ्यविज्ञ डा. अरुणा उप्रेतीको भिडियोसहितको ‘हर्लिक्स\भीभाले बुद्धि र उचाइ होइन फजुल खर्च बढाउँछ’ शीर्षकको लेख पनि ४१ हजारभन्दा बढी पटक सेयर भएको छ।
यसैगरी वरिष्ठ न्यूरो सर्जन डा. बसन्त पन्तको भिडियो अन्तरवार्ता ‘गाडी ‘ब्याक’ गरेर मान्छे मार्नेले उन्मुक्ति पाउने, बचाउन प्रयास गर्ने डाक्टरले चाहिँ जन्मकैद भोग्नुपर्ने?’ पनि पाठक\दर्शकले असाध्यै रुचाउनुभएको छ, जो ३३ हजारभन्दा बढी सेयर भएको छ। अन्य विषयवस्तु पनि धेरै छन्, जो १० हजार भन्दा बढी सेयर भएका छन्।
यो एक वर्षको छोटो समयमा हामीलाई माया र सद्भाव देखाउने सम्पूर्ण पाठक तथा दर्शकवृन्दलाई हामी मुरीमुरी धन्यवाद दिन चाहन्छौँ।
यहाँहरूले देखाउनु भएको सद्भाव एवं विश्वासले आगामी दिनमा पनि निरन्तरता पाउने अपेक्षा गर्दछौँ। साथै अबका दिनमा अझ बढी सान्दर्भिक र जनचासोका विषयवस्तु पस्किने वाचा समेत गर्न चाहन्छौँ।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा