जीवनशैलीका कारण बढ्दैछन् यी रोग
हाम्रो अव्यवस्थित जीवनशैलीका कारण मधुमेह, उच्च रक्तचाप, थाइराइड जस्ता रोग दिनप्रतिदिन बढ्दो रूपमा छन्। मधुमेह विश्वकै टाउको दुखाइ बनेको छ। भारतलाई त ‘क्यापिटल सिटी अफ डाइबेटिज’ भनिन्छ। त्यो अवस्था चाँडै हाम्रोमा नआउला भन्न सकिँदैन।
पहिलेपहिले विश्वमा क्यान्सरबाट धेरै मानिस ज्यान गुमाउँथे। अहिले मधुमेहबाट डराउनुपर्ने अवस्था छ। किनभने यो रोगका कारण हुने जटिलता मृत्यु त्यही अनुपातमा बढेको छ। मधुमेह बढ्नुमा ठ्याक्कै एउटा मात्र कारण हुँदैन। विशेषतः लामो समयसम्म रहिरहने तनावले मानिसहरूमा मधुमेह बढिरहेको छ। यति मात्र होइन, जताततै भागदौड र प्रतिस्पर्धा छ। तर, पर्याप्त शारीरिक गतिविधि छैन। ‘अफिस वर्क’का कारण शरीरलाई आवश्यक व्यायाम पुग्दैन। त्यसमाथि खानपानको ‘सेड्युल’ पनि हुँदैन।
कतिपयको बिहानैदेखि ‘ड्युटी’ हुन्छ। बाध्य भएर बाहिरको खाना खानुपर्छ। बाहिरको खाना घरमा बनाएजस्तो स्वस्थकर हुँदैन। रेस्टुँराको बढी चिल्लो र मसलायुक्तमात्र होइन कतिपय स्थानमा त अखाद्य वस्तु पनि मिसाइएका हुन्छन्। यस्ता भोजनले पनि मधुमेहलाई बढावा दिइरहेको छ। जंक फुडले यसलाई बढाउन मद्दत गरेको छ। लामो समयसम्म बाहिरको खाना खाँदा मोटोपन बढ्नेलगायत समस्या उत्पन्न हुन्छ।
विविध कारणले शरीरमा ‘स्ट्रेस हर्मोन’ उत्पन्न हुन्छ। यो हर्मोनले इन्सुलिनलाई काम गर्न दिँदैन। इन्सुलिनको काम कोषिकामा रगत पुर्याउनु हो। ग्लुकोजलाई शक्तिमा बदल्ने काम इन्सुलिनले गर्छ। तर यो हर्मोनले काम गर्न दिँदैन। अर्थात् इन्सुलिनविरुद्ध काम गर्छ। यसले मधुमेह उत्पन्न गराउँछ। म कार्यरत स्टार हस्पिटलमा पनि मधुमेहका बिरामीको निकै घुइँचो हुन्छ। अव्यवस्थित जीवनशैली त छँदैछ, अहिले जनचेतना वृद्धि भएकाले पनि होला अस्पतालमा आउने बिरामी बढेका होलान्।
त्यसैले मधुमेह मात्र होइन शारीरिक र मानसिक दुःख निम्त्याउने जटिल रोग बढ्न नदिन नियमित शारीरिक व्यायाम गर्ने, सन्तुलित भोजन गर्ने, तनावमुक्त रहने गर्नुपर्छ। यदि रोग लागिहाले नियन्त्रणका उपाय अपनाउनुपर्छ। त्यसका लागि आफ्नो चिकित्सकको सल्लाह लिनुपर्छ। विशेषज्ञको सल्लाह बमाोजिम औषधि सेवन गर्ने हो भने मधुमेह सही घेरामा राख्न सकिन्छ । यी रोगहरुबाट बच्न जीवनशैली परिवर्तन जरुरी भइसकेको छ ।
सानेपास्थित स्टार अस्पतालमा कार्यरत इन्डोक्राइनोलोजिस्ट डा अमितसँग कुराकानीमा आधारित :




जडीबुटी : नेपालको स्वास्थ्य र समृद्धिको हरित पुँजी
यसकारण खाने गरौं बहुगुणकारी कुरिलो
आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा निधन
६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त
औषधिको सही प्रयोग किन आवश्यक छ ?