मधुमेह रोग र दाँतको समस्या

मधुमेह अर्थात् चिनीरोग भएका बिरामीलाई अन्य रोगले समेत सताउँछ, त्यसमध्ये दाँतको समस्या अग्र पङ्क्तिमा आउँछ।
मधुमेह भइसकेपछि नियन्त्रणमा राख्न सकिएन भने यसले मुटुरोग, मिर्गौला फेल हुने, आँखामा असर गर्नेजस्तै विशेष केयर नगरे दाँतमा समेत गम्भीर असर पुर्याउँछ।
मधुमेहका बिरामीको मुख सुख्खा हुने र बढी प्यास लाग्ने प्रमुख लक्षण नै हो। यसरी मुख सुख्खा हुने भएकाले दाँत किराले खाने समस्या पनि यस्ता बिरामीमा बढी हुन्छ। मधुमेहकै कारण दाँतलाई गिजा र हड्डीले बिस्तारै छोड्दै जान्छन्। यसले गर्दा दाँत कमजोर हुने, हल्लिने र कतिपय अवस्थामा निकाल्न समेत पर्ने हुन्छ।
त्यसैले यदि कसैलाई मधुमेह छ भने त्यस्ता बिरामीले औषधि खाएको छु मात्र भनेर ढुक्कसँग बस्न हुँदैन। जसरी ‘डाइबेटिक रेटिनोप्याथी’ हुन्छ की भनेर नियमित आँखा जँचाउन जरुरी हुन्छ त्यसैगरी दाँत स्वस्थ भए नभएको थाहा पाउन र उपचार गर्नका लागि प्रत्येक ६ महिनामा दाँतको डाक्टरलाई देखाउनुपर्छ।
कतिपय बिरामी ‘म त मधुमेहको बिरामी किन दाँतको डाक्टरकोमा जाने’ भन्ने गर्छन्। यस्ता कुराहरूमा जनचेतना नै पुगेको छैन। हाम्रो अस्पतालमा आउने बिरामीे पनि ‘मलाई दाँतको केही समस्या नै छैन किन यहाँ पठाएको होला’ भनेर आउँछन्। तर जाँच गर्दा दाँतमा ठूलै समस्या देखिन्छ ।
अर्को कुरा यदि सुगर निन्त्रणमा आउन सकेन भने यसले दाँतमा भएको समस्या निको हुन पनि निकै समय लाग्छ। दाँतको समस्या कम नगरे सुगर नियन्त्रण गर्न पनि गाह्रो हुन्छ। त्यसैले यी कुराहरु बिरामीले बुझ्न जरुरी छ।
कतिपयले नक्कली दाँत राखेका हुन्छन्। यो अवस्थामा दाँत निकाल्न मिल्ने हो भने प्रत्येक खानापछि निकालेर राम्रोसँग सफा गरेर मात्र राख्नुपर्छ। यदि ‘फिक्स’ गरिएको हो भने पनि सरसफाइमा बढी ध्यान दिनुपर्छ ।
यसै पनि मधुमेहका बिरामीमा कुनै पनि इन्फेक्सन , घाउ छिटो निको हुँदैन। दाँत र गिजामा भएको ‘इन्फेक्सन’ पनि समयमै वास्ता गरिएन भने निकै दुःख दिने खालका हुन्छन्। त्यसैले पनि समस्या आउनुभन्दा अगावै आफ्नो दाँत ठिक छ की छैन भनेर देखाउन जरुरी छ। अन्य बिरामीको तुलनामा मधुमेहका बिरामीमा मुखमा हुने समस्या पनि बढी नै हुन्छ।
बढी समस्या भएर दाँत नै निकाल्नु पर्दा पनि सुगर नियन्त्रणमा नभएसम्म दाँत निकाल्न पनि मिल्दैन। त्यसैले तपाईँ पनि मधुमेहको बिरामी हो भने दाँतको पनि विशेष ख्याल गर्नुस्। प्रत्येक ६ महिनामा दन्त चिकित्सकलाई जाँच गराउनुस्। यसो गर्दा दाँतबाट हुने समस्याबाट बच्न सकिन्छ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights