‘आँखामा पनि क्यान्सर हुनसक्छ है’

रेटिनोब्लास्टोमा भनेको बालबालिकामा हुने एक किसिमको आँखाको क्यान्सर हो। यो संसारमा १५ हजार शिशुमध्ये एक जनालाई लाग्ने गरेको तथ्यांक छ।
यो रोग जन्मेदेखि पाँच वर्षमुनिका बालबालिकालाई हुन्छ। कोही जन्मिँदै लक्षण लिएर आउँछन् भने कसैमा दुई तीन वर्ष पुगेपछि मात्र यो रोग देखा पर्न सक्छ।
शुरुमा आँखाको कालो भागमा सेतो टिका अथवा ज्योति जस्तो देखा पर्छ। त्यो ज्योति फोटो खिच्दा बढी थाहा पाउन सकिन्छ। अथवा अँध्यारोमा बढी देखिन्छ। त्यस्तै असामान्य रूपमा आँखा रातो भइरहने हुनसक्छ। दुइटै आँखामा क्यान्सर देखिएमा लक्षण छिटो देखिन्छ भने एउटा मात्र आँखामा हुँदा कहिलेकाहीं सेतो दाग ढिलो देखिन सक्छ । विश्वमा साठी प्रतिशत बालबालिकामा एउटा मात्र आँखामा क्यान्सर हुन्छ भने चालिस प्रतिशतलाई दुइटा आँखामा हुने गरेको तथ्यांक छ ।
धेरै जनाले शुरुको अवस्थामा आँखाको नानीमा देखिएको सानो दागलाई वास्ता नै गर्दैनन्, जसले अन्धोपन ल्याउने मात्र होइन बच्चाको ज्यानै लिनसक्छ। नेपालकाे सन्दर्भमा कुरा गर्ने हाे भने प्रत्येक वर्ष यो रोगका ३५ देखि ४० नयाँबालबालिका फेला पर्छन्।
हामीले यो वर्षदेखि रेटिनोब्लास्टोमा सचेतना सप्ताह (मे १२–१८) मनाउन शुरु गरेका छौँ। यो रोगबारे जनमानसमा अझै चेतना पुगेको छैन।
यो रोगको उपचार वेलैमा गर्ने हो भने आँखा मात्र होइन बच्चाको ज्यानै जोगाउन सकिन्छ। तर दुर्भाग्यको कुरा एक त अभिभावकहरू बालबालिकालाई लिएर अस्पताल ढिला आइपुग्छन्, क्यान्सरले अन्य अंगहरुमा पनि असर गरिसकेपछि उपचारमा कठिनाई मात्र हैन बच्चाको ज्यानै जाने हुन्छ ।
अर्को कुरा आएकामध्ये ६० प्रतिशत भन्दा बढी बालबालिकाको आँखा निकाल्नुपर्ने अवस्थामा आउँछन्।
हुन त आँखामा क्यान्सर भइसकेको छ भने हामी बाबु आमालाई उपचारको ‘अप्सन’बारे भन्छौँ। उपचारका क्रममा ‘किमोथेरापी’ र अन्य उपचारकाबारेमा जानकारी दिन्छाैं ।
रोग शुरुकै अवस्थामा आउँदा आँखालाई पूर्णरूपमा जोगाएर उपचार गर्न सकिन्छ भन्ने कुरा सबै माझ पुर्याउन जरुरी छ। मुख्य कुरा त ‘आँखामा पनि क्यान्सर हुन्छ है’ भन्ने कुरा थाहा पाउनुपर्यो। साना बालबालिकाको आँखामा केही सेतो दाग जस्तो देखियो भने अभिभावकले आँखारोग विशेषज्ञसँग सल्लाह लिइहाल्नुपर्छ। यसले गर्दा भविष्यमा हुने जोखिम र क्षति कम गर्न सकिन्छ ।
उपचार
आँखाको क्यान्सरको उपचारमा हामीले तिलगंगा आँखा अस्पतालमा केमोथेरापी, क्रायोथेरापी, रेडियोथेरापी, टीटीटीलगायत प्रविधिमार्फत् उपचार गर्छौँ। त्यसका लागि शुरुमा आँखाको जाँच, सीटी स्क्यान, एमआरआई गरेर रोग पत्ता लागेपछि कसका लागि कुन प्रविधि उपयुक्त हुन्छ, त्यही शुरु गर्छौँ।
क्यान्सरका कारण कतिपय बालबालिकाको आँखाको नानीको भाग निकालिएको हुन्छ भने कतिपयको पूरै आँखा निकाल्नुपर्ने हुन्छ। सौन्दर्यसँग पनि जोडिएका हुनाले यस्ता बालबालिकालाई हामी कृत्रिम आँखा प्रत्यारोपणसमेत गर्छौँ।
त्यसका लागि यसै वर्षदेखि अष्ट्रेलियास्थित ओपन आईज ग्लोबल नामक संस्थाले यस्ता बालबालिकाको आँखा राख्न सहयोग शुरु गरेको छ। संस्थाले यो वर्ष चार लाख रुपैयाँ दिएको छ। यसलाई निरन्तरता दिने प्रतिवद्धता पनि जनाएको छ ।
दुःखको कुरा अन्य क्यान्सरको लागि सरकराले एक लाख रुपैयाँ उपचार सहयोग गर्ने गरेको भए पनि भने अहिलेसम्म त्यो सुविधा दिएको छैन। त्यो सुविधा उपलब्ध गराइदिए पीडितहरूलाई केही हदसम्म राहत हुन्थ्यो।
अर्को कुरा आँखामा पनि क्यान्सर हुनसक्छ है भनेर स्वास्थ्य संस्था एवं स्वास्थ्यकर्मीलाई पनि तालिम दिन आवश्यक छ, जसले गर्दा गाउँघरमा उनीहरूले पनि सर्वसाधारणमा यो सन्देश प्रवाह गरुन्। सर्वसाधारण पनि यस्ता लक्षण देखिनेवित्तिकै सचेत बनुन् र सम्बिन्धत विशेषज्ञकोमा जाउन्।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights