क्यान्सरको उपचारमा पोषणयुक्त खाना एक उपचार पद्धतिभित्रै पर्छ

क्यान्सर रोग लागे पछि यसको जतिसक्दो छिटो उपचार गर्नुपर्छ भन्ने कुरा त हामीलाई थाहा छ । तर यो सँगै यो रोगको उपचार गरिरहँदा खानपानमा पनि त्यत्तिकै ध्यान पुर्याउनुपर्छ भन्ने पनि जान्न जरुरी छ । क्यान्सर लागेको थाहा पाइसकेपछि शीघ्र उपचारको जति आवश्यकता हुन्छ, त्यति नै बिरामीलाई सन्तुलित खानपान आवश्यक पर्छ।
लगभग सबै प्रकारका क्यान्सरमा बिरामीलाई खानामा खासै रुचि हुँदैन जसले गर्दा बिरामीले खानेकुरा खानै छोड्छन्। क्यान्सरले गाल्दै लगेको बिरामीलाई यसले झनै कमजोर बनाउँछ।
अर्को कुरा बिरामीमा यो खान हुन्छ कि हुँदैन, त्यो खान हुन्छ कि हुँदैन भन्ने अन्योल पनि हुन्छ। त्यसैले कतिपय बिरामीले आफै फैँ खाना बारिरहेका पनि हुन्छन्। एक त रोगले कमजोर बनाएको हुन्छ त्यसमा खाना बार्दा बिरामी शारीरिक रूपमा पनि कमजोर बन्दै जान्छन्। जसले रोग निको हुन बाधा पर्न सक्छ ।
त्यसो त चिकित्सक र डाइटिसियनले यो खानेकुरा खान हुन्छ भन्दा पनि खान नमान्ने बिरामीहरु पनि प्रशस्तै छन्। खान हुन्छ भनेर पठायो एक सातापछि ‘यो पनि खान हुन्छ र’ भन्दै आउँछन्। तर हामी सम्झाउँछौं ।
क्यान्सरको उपचारमा पोषणयुक्त खाना एक उपचार पद्धतिभित्रै पर्छ। यो रोगको उपचारका क्रममा विभिन्न ‘साइड इफेक्ट’हरु देखिन सक्छन् जसका कारण बिरामीमा खानामा रुचि नहुने, बान्ता हुने, रिंगटा लाग्ने, खाएको नपच्नेजस्ता समस्या देखा पर्छन्। यसो भयो भन्दैमा खाना खान छोड्नु हुँदैन।
यस्तो अवस्थामा दुई दुई घण्टामा थोरै थोरै गरेर खानुुपर्छ। यदि पचाउन गाह्रो भएको छ भने नरम बनाएर खान सकिन्छ। बिरामीले तरकारी खान सकिरहेका छैनन् भने त्यसलाई जुसको रूपमा दिन सकिन्छ। हेरचाह गर्नेले पनि बिरामीले खान सकेन भनेर नदिने होइन, कुन रूपमा दिँदा उनीहरूलाई खान सजिलो हुन्छ र पोषण पनि पुग्छ भन्ने कुरामा ध्यान दिनुपर्छ।
यदि बिरामीलाई केमोथेरापी दिइएको छ भने त्यस्तो बेलामा काँचो सलाद दिन हुँदैन। पचाउन गाह्रो हुन्छ । बिरामीलाई खान मन लागे बफ्फाएर मात्र दिनुपर्छ। यसैगरी बट्टामा राखिएको अचार, तारेको खाना, बोसोयुक्त र चिल्लो खाना जुस र प्रोसेस्ड खाना सकेसम्म नदिँदा राम्रो हुन्छ । यस्ता खानेकुराले हानी गर्छन ।
सकेसम्म घरमा सफासँग बनाएको ताजा खाना दिनुपर्छ। माछा, मासु, अण्डा, दूध, चीज पनिर खानामा समावेश गर्दा पोषणको कमी हुँदैन। खान सजिलो होस् भनेर स्वादका लागि ल्वाङ, सुकमेल र तेजपातको पनि प्रयोग पनि गर्न सकिन्छ। खाना सँगसँगै कसैकसैलाई चिकित्सक तथा डाइटिसियनको सल्लाह बमोजिम‘प्रोटिन सप्लिमेन्ट’ पनि दिनुपर्ने हुन्छ। त्यसैले क्यान्सर निको हुन औषधि मात्र हैन खानाको पनि उत्तिकै महत्व हुन्छ ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights