बर्डफ्लुबारे जानीराखौं

बर्डफ्लु रोगलाई ‘एभिएन इन्फ्ल्युन्जा’ भनेर पनि चिनिन्छ। यो रोग सर्वप्रथम सन् १८७८ मा चराचुरुंगीमा लागेको थियो। त्यसैगरी सन् १९१८–१९ मा यो रोग लागेर संसारमा तीन लाख मानिसको मृत्यु भएको थियो। सन् २००३ देखि २००५ सम्ममा एसियाका धेरैजसो मुलुकमा यो रोग लागेर लाखौँ चरा र मानिस मरेका छन्।
हाल पूर्वी एसियाका केही देशहरूमा यो रोग मानिसहरूमा पनि सरेको हुनाले यसले चर्चा व्यापक थियो। नेपालमा भने यो रोगको लक्षण देखा परेको थियो। यो रोगले यति चर्चा पाउनाको कारण रोग लागेको ४८ घण्टाभित्र मानिस मर्नसक्ने पूर्वानुमान हो। हालसम्म खोप नभएको, उपचार नभएका सरुवा रोग भएकाे हुनाले पनि याे रोगले यसरी ध्यानाकर्षण गराएको हुनसक्छ।
यो रोग चराचुरुंगीबाट मानिसमा सरेमा मानिसमा १८ देखि ७२ घण्टाभित्र रुघाखोकीको लक्षणहरू देखिन्छन्। साधारण इन्फ्ल्युएन्जा ए भाइरस जसले अन्य यसै समूहका ‘एच फाइभ’ र ‘एच सेभेन’ जातका भाइरसहरूसित वंशाणुहरू मिसिई ‘एच फाइभ एच वान’ भन्ने नयाँ भाइरस बन्ने र सो भाइरसविरुद्ध रोगसित लड्ने क्षमता मानिसको शरीरमा नहुने हुदाँ यस्तो भयानक नयाँ रोग उत्पन्न हुन्छ।
यस्तो रोग हालसम्म एसियाका धेरै जसो मुलुकका कुखुरा हाँस, परेवा र अन्य चराचुरुंगीहरूमा देखिएको छ भने हालै आएर युरोपका टर्की र रोमानियामा पनि यो रोगको लक्षण लेखिएको छ। यसरी एसियाबाटै एकैचोटी मध्यपूर्व र पश्चिमी युरोपका देशमा देखिएको हुँदा यो रोग बसाइँ सर्ने चराहरूले सार्न सक्छन्। यो रोगको लक्षण लाओस, मलेसिया, भियतनाम, मंगोलिया, कजाकस् र तिब्बतमा फेला परेको छ।
साइबेरिया र तिब्बतबाट मौसम परिवर्तनसँगै विभिन्न प्रकारका चराहरू नेपालको राराक्षेत्र, घोडाघोडी ताल, चितवन तथा कोशीटप्पु क्षेत्रमा आउने हुँदा त्यसबाट यो रोग नेपाल भित्रिने प्रशस्त सम्भावना छ। पर्यटकहरूबाट तथा रोजगारका लागि पूर्वी एसियाका देशहरूमा गएर फर्किएका नेपालीहरूले पनि यो रोग ल्याउने सम्भावना छ।
रोगका लक्षण
ज्वरो आउनु, टाउको दुख्नु, अलिअलि सिंगान बग्नु, घाँटी दुख्नु, जीउ दुख्नु र बान्ता हुनु।
रोगको चिन्ह
माथिल्लो श्वासप्रणालीको इन्फेक्सनका चिन्हहरू पाउन सकिन्छ। मुटु, कलेजो र मष्तिस्कको संक्रमण भई मायोकार्डाटिस्, हेपाटाइटिस, मेनिन्जाइटिस, इन्सेफ्लाइटिसका लक्षणहरू देखा पर्छन्।
शुरुशुरुमा यो रोग साधारण रुघाखोकी, निमोनिया र हेपाटाइटिस छुट्याउन गाह्रो हुनसक्छ भने ढिला गरी आएमा रुघाखोकी निमोनियाले सिकिस्त भएजस्तो भान हुन्छ।
निदान
भाइरल इन्फेक्सनजस्तै बर्डफ्लुमा पनि साधारण रगतजाँचबाट केही थाहा पाउन सकिँदैन। इन्फ्लुयन्जा र्यापिड टेस्ट, इम्युनोफ्लुरोसेन्स अथवा इमुनोएस्से एन्टिबडी टेस्टबाट यो रोगको निदान गर्न सकिन्छ।
रोकथाम
नेपालमा एभिएन इन्फ्लुएन्जाको खोप हालसम्म उपलब्ध छैन। इन्फ्लुएन्जा रोकथामको खोप बनाउन निकै गाह्रो पर्छ तर विकसित मुलुकमा मोनोभलेन्ट भ्याक्सिन उपलब्ध छ। एभिएन इन्फ्ल्युएन्जाको रोकथामका लागि विश्वका विभिन्न देशले चासो लिए पनि अन्य धेरै देशले यसबारे केही गरेको देखिँदैन।
नयाँ भाइरसविरुद्ध लड्न क्षमता नहुने हुँदा यो रोग लागेमा व्यापक महामारी फैलिन सक्छ भने संसारको एक कुनाबाट अर्को कुनासम्म फैलिन केही सातामात्र लाग्ने पूर्वानुमान विज्ञहरूको छ।
औषधि उपचार
‘एच फाइभ एन वान’ भाइरसविरुद्ध पनि प्रभावकारी औषधि छैन। हालै एमेन्टिडिन, रिभाभेरिन तथा नयाँ ओसल्टामिभिर र जामानाभिर जस्ता औषधिहरू पत्ता लागेका छन्।
सावधानी
यो रोग माटो, हावापानीबाट पनि सर्नसक्ने भएकाले सोहीअनुसार सतर्क रहनुपर्छ। कुखुरा, हाँस, परेवा आदिको सम्पर्कमा रहेका सबैले चराहरू मरेको जानकारी पशुस्वास्थ्य शाखा र जनस्वास्थ्य शाखालाई दिनुपर्छ। पोल्ट्रीमा काम गर्ने कामदारहरूले पञ्जा र मास्क लगाएर काम गर्नुपर्छ।
कुखुराको अण्डा र मासु ७१ डिग्री सेन्टिग्रेडसम्म पकाएर खानुपर्छ। यसो गरे रोग सर्दैन। मुलुकमा आयात गरिने चराचुरुंगीहरू ‘क्वारेन्टाइन’मा राखेर मात्र भित्र्रयाउने व्यवस्था गर्नुपर्छ।
डा. सुनिल चन्द्र झाकाे डाक्टर साहेब भन्नुहुन्छ पुस्तकबाट
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights