थाइराइडमा बार्नुपर्दैन खाना

शरीरको मेटाबोलिजम अर्थात् खानालाई शक्तिमा परिणत गर्ने प्रक्रिया नियन्त्रण गर्न थाइराइड हर्मोन आवश्यक पर्छ। थाइराइड रोग होइन। यो एउटा ग्रन्थी हो।
थाइराइड घाँटीमा रुद्रघण्टीको माथिल्लो भागमा हुन्छ । यसले थाइराइड हर्मोन बनाउँछ। यो हर्मोनले शरीरलाई चाहिने तत्त्व विभिन्न अंग, कोशिकामा पुर्याउन मद्दत गर्छ र शरीरले शक्ति प्राप्त गर्छ। तर यसलाई लिएर थुप्रै भ्रम छन्, विशेषगरी खानेकुराका विषयमा।
यो खानासँग सम्बन्धित रोग होइन। त्यसैले पनि कुनै पनि खाना बार्नुपर्दैन। हामीकहाँ आउने ९० प्रतिशत बिरामीको पहिलो सोधाइ नै ‘मैले के के खानु हुँदैन’ भन्ने हुन्छ। हामी यस्ता बिरामीलाई कुनै पनि खाना बार्न नपर्ने बताउँदै आएका छौँ।
पहिलेको कुरा गर्ने हो भने नेपालमा ढिके नुनको प्रयोग हुन्थ्यो, जसमा आयोडिनको मात्रा हुँदैनथ्यो। यसले गर्दा आयोडिनको कमीले हुने थाइराइड धेरै थियो। तर अहिले आयोडिनयुक्त नुनको प्रयोग हुन्छ। पछिल्लो समय आयाेडिनको कमीले हुने थाइराइड छैन। अहिले हुने थाइराइड ‘अटोइम्युन’ किसिमको छ। यसको सम्बन्ध खानासँग छैन नै भन्दा पनि हुन्छ।
धेरैमा हुने थाइराइड दुई प्रकारका हुन्छन्, हाइपोथाइराइड र हाइपर थाइराइड। यी दुवै थाइराइडमा यो खाना वा यो नखाने भन्ने हुँदैन। दुवै समस्या भएकाले नियमित जे खाने हो त्यही खान खान मिल्छ। तर धेरै बिरामीले मधुमेहमा खाना बारेजस्तै खाना बन्देज गरेर आउँछन्। सँगसँगै विभिन्न समस्या लिएर आउँछन्।
हाइपाेमा मोटाउने समस्या हुने हुँदा यस्ता बिरामीलाई हामी कार्बोहाइड्रेट भएका खानेकुरा कम खान सल्लाह दिन्छौँ।
त्यसो त सबै जनालाई सन्तुलित आहार खान जरुरी छ। सन्तुलित आहार खाने र चिकित्सकको सल्लाह बमोजिम औषधि सेवन गर्ने हो भने थाइराइड भएका बिरामीले खानेकुरामा बन्देज लगाउनुपर्दैन।
बिरामीबीच एउटा भ्रम के छ भने, थाइराइडका बिरामीले काउली बन्दा खान हुँदैन। हामी नेपाली काउली बन्दा पकाएर खाने हुनाले यसमा हामीलाई हानि गर्ने कुनै पनि तत्त्व बाँकी रहँदैन। काँचो काउली बन्दा गाँजर भने धेरै एकैपटक नखाएकै राम्रो हुन्छ। थाेरै राम्ररी पखालेर खाँदा खासै असर गर्दैन ।
अर्को कुरा बिरामी औषधि सेवनको बारेमा त्यति जानकार नभएको पाइन्छ। थाइराइडको औषधि खाली पेटमा खानुपर्छ भने औषधि खाएको कम्तीमा आधा घण्टासम्म कुनै पनि खानेकुरा नखानु राम्रो हुन्छ।
सामान्य मानिसले जस्तै सन्तुलित भोजन खाने, नियमित व्यायाम गर्ने र समय समयमा चिकित्सकलाई जाँच गराएर औषधि नियमित सेवन गर्ने हो भने यसले खासै हानि पुर्याउँदैन।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights