६ महिनासम्म आमाको दूध खुवाउनुपर्छ भनेर सिकाउँछौँ, हाम्रै बच्चा खान पाउँदैनन्

काठमाडौं बबरमहलकी सिर्जना भोमी २० वर्षदेखि नर्सिङ पेशामा छिन्। २०५५ सालमा चितवनको भरतपुरबाट नर्सिङ सेवा शुरु गरेकी उनी एक वर्षपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज आइन्। आईसीयू, सीसीयू हुँदै हाल एनआईसीयूमा कार्यरत उनै सिर्जनाका कुरा यसपटकको नर्सका कुरा स्तम्भमा–
भक्तपुरको कमलविनायक मेरो जन्मथलो। घरकी एक्ली छोरी म। पढाइ राम्रै थियो। बुबाआमा दुवै शिक्षण पेशामा संलग्न हुनुहुन्थ्यो। शारदा सेकेण्डरी स्कुलबाट राम्रै अंकका साथ एसएलसी सकेँ।
त्यतिवेला छोराछोरीलाई डाक्टर इञ्जिनियर बनाउन आकांक्षा हुन्थ्यो धेरैजसो बुबाआमाको। मेरो बुबालाई म इञ्जिनियर बनेको हेर्ने रहर थियो। मलाई पनि इञ्जिनियरिङमा विशेष रुचि थियो। म केही साथीहरूसँग त्रिचन्द्र कलेजमा साइन्स पढ्न थालेकी थिएँ। कलेजमा आईएस्सी पढ्दैगर्दा कता कताबाट साथीहरूले कुरा गरेको सुन्दा ‘नर्सिङ’ पनि राम्रै होला भन्ने लाग्यो। लहलहैमा लागेर ‘इन्ट्रान्स’ दिइयो। त्यसअघि नर्सिङबारे जानकारी नै थिएन।
जाँच दिएका आठ नौजनामध्ये दुई तीनजना पास भयौँ। नाम त निस्कियो। साइन्स पढिरहेकी छोरीले नर्सिङ पढ्छु भन्दा बुबाआमा रिसाउने कुरा नै थियो। आमाले चाहिँसुरुमै मान्नुभयो। बुबालाई ‘कन्भिन्स’ गर्न साह्रै गाह्रो भयो।
वीर अस्पतालमा नर्सिङ क्याम्पसमा पीसीएल नर्सिङ(प्रमाणपत्र तह) पढेँ। त्रिभुवन विश्वविद्यालयअन्तर्गत तीनवर्षे कोर्स थियो। २०५५ मा पीसीएल सकेर चितवनस्थित भरतपुर क्यान्सर अस्पताल पुगेँ। त्यहाँ झण्डै एक वर्ष काम गरेँ। एकातिर घर छोडेर टाढाको बसाइ, हावापानी वातावरण नै नमिल्ने, अर्कोतिर बिरामीहरूको अवस्था देखेर मलाई असहज अनुभव भयो। त्यहाँ मन रमाउन सकेन। टिनएज पार गरेकै थिइनँ।
हामी नर्सहरू आफ्नो सबै काम छाडेर आठ घण्टा भनिए पनि ९\१० घण्टा काम गरेकै हुन्छौँ। परिवारलाई समय दिन सकिँदैन। भर्खर ‘डेलिभरी’ भएका आमाहरू पनि घरमा बच्चा छोडेर कुद्नुपर्छ। हामी नै हौँ नवजात शिशुलाई छ महिना दूध ख्वाउनुपर्छ भनेर सिकाउने। तर हाम्रै बच्चाले राम्ररी दूध खान पाउँदैनन्। मेरै सन्दर्भमा जेठो छोरा जन्मिँदा ब्याचलर पढ्दै थिएँ। ४० दिनमै निस्केँ। आठ घण्टाको पढाइ थियो। घरनजिकै भएर पनि बच्चालाई दूध खुवाउन जान सकिँदैनथ्याे।
त्यहाँ बिरामी देखेर अत्यास लाथ्यो। कसरी काम गर्ने होला भनेजस्तो हन्थ्योे। धेरैजसो ‘ब्लड क्यान्सर’का बिरामीको केयर गर्नुपर्थ्याे। त्यतिवेला अस्पतालमा भर्खर भर्खर बिरामी भर्ना गरेर उपचार गर्न शुरु गरेको रहेछ। त्यति व्यवस्थित पनि भइसकेको थिएन। बिरामीलाई हुने पीडा र परिवारले ‘एफर्ड’ गर्न नसक्ने जस्ता समस्या देख्नुपर्थ्याे। कतिपय बिरामीहरू खर्च नपुग्ने भएर ‘ट्रिटमेन्ट’ नगरी फर्किन्थे।
यस्ता दृश्य देख्दा त्यो वेला लाग्थ्यो, बेकारमा यो पेशामा बेकारमा आएछु। घरमा बसेर इञ्जिनियरिङ पढेको भए। त्यहाँ धेरै समय टिक्न सकिनँ। भरतपुरमा धेरै टिक्न सकिनँ। फर्किएँ भक्तपुर। लगत्तै शिक्षण अस्पताल महाराजगञ्जम(टिचिङ) पुगेँ। पोस्टिङ भयो ‘हेमोडाइलाइसिस’ विभागमा। मृगौलाको समस्या भएकाहरूको ‘केयर’ गर्नुपर्थ्यो। शुरुशुरुमा ‘एजजस्ट’ हुन गाह्रै भयो। तर क्यान्सर अस्पतालमा भन्दा यहाँ सजिलो भयो। हप्तामा दुई तीनपटक आउने बिरामीहरू हुन्थे। त्यहाँ ‘फ्यामिलियर’ हुँदै गएँ। सात वर्ष हेमोडाइलाइसिसमा काम गरेँ।
त्यसवेलाको एउटा घटना सम्झिन्छु। ६२ तिर हो क्यारे। एक किशोरको डायलासिस भइरहेको थियो। परिवारले ‘ट्रान्सप्लान्ट’ गर्नुपर्ने ‘डोनर’ भेटेका थिएनन्। यही बिचमा कसैले सुनाइदिएछ, ‘क्रिश्चियन’ धर्म अँगाल्यो भने रोग निको हुन्छ। त्यहाँ ‘काउनिन्सलिङ’ पनि हुन्छ। परिवारले ती किशोरलाई त्यहाँबाट झिकेर लगे। कताकता आयुर्वेदिक औषधि पनि थालेछन्। डायलासिस घटाउँदै लगे। खर्च धान्न सकेनन् सायद।
अन्तिम अवस्थातिर बच्चाले मम खान खोजिरहेको थियो। डायलाइसिस गरिरहेका बिरामीलाई प्रोटिन पाउने चीज कम दिने भन्ने हुन्छ। ‘कडिण्सन’ राम्रो नभएकाले हुँदैन भनेर हामीले रोक्यौँ। खानै दिएनौँ। केही दिनमै उसको मृत्यु भयो। पछि फिल भयो, ‘ओहो मम खान दिएको भए हुने रहेछ। विचरा अन्तिम इच्छा पनि अधूरै रह्यो।’ तर कतिखेर के हुन्छ भन्ने के थाहा? लाग्यो ‘रेस्ट्रिक्सन’ आफ्नो ठाउँमा छ तर, त्यस्तो ‘सिचुएसन’अनुसार ‘डिल’ पनि गर्नुपर्ने रहेछ।
यस्तै यस्तै घटनाले त हो सिक्दै जाने। परिपक्व हुँदै जाने। हेमोडाइलाइसिसमा काम काम गर्दैगर्दा आईसीयूको तालिम पनि लिएँ। सीसीयूमा पाँच वर्ष गरेँ। काममा व्यस्त भए पनि पढाइ छोडिनँ। यही समयमा मैले स्नातक गरेँ। त्यसपछि एनआईसीयूमा पसेँ। यहाँ आएको पनि नौ वर्ष हुनलाग्यो। यहाँ आएपछि स्नातकोत्तर (डिग्री) पनि गरेँ।
अहिले कार्यरत एनआईसीयूमा काम गर्दा धेरै चुनौती छन्। यहाँ भर्खर जन्मेको बच्चा एकदेखि डेढ महिनासम्म राखेर केयर गर्नुपर्छ। समय नपुगी जन्मिने ८००\ ८५० ग्रामको बच्चालाई केयर गरेर पठाउँछौँ। बच्चालाई केयर गरेर राम्रो बनाएर पढाउँछौँ। राम्रो भएर गएका आमाहरू पछि पनि आउँछन्। त्यहाँ धेरै बस्नुपर्दा डाक्टरले भन्दा नर्सले केयर गरेको भन्ने आमाहरूले बुझेका हुन्छन्। ‘फलोअप’मा आउँदा सिस्टरहरूलाई भेटेर जाने गर्छन्। कतिले त यहीँ आएर बाबुनानीहरूको बर्थडे मनाउँछन्।
आार्थिक अवस्थाका कारण बच्चाको उपचार हुँदाहुँदै बीचैमा निकालेर लग्ने पनि छन्। एउटा घटना तीनचार महिनाअघिको, नुवाकोटका हुन् जस्तो लाग्छ। २८ हप्ताको बच्चा जन्मेको थियो। आमाबाबुको आर्थिक अवस्था राम्रो थिएन। श्रीमान् सानोतिनो व्यवसाय गर्थे। गृहिणी। आईसीयूमा राम्रै केयर भइरहेको थियो। तर आर्थिक अवस्थाले हो वा बच्चा राम्रो हुँदैन किन खर्च गर्नु भन्ने सोचेर हो, उनीहरूले बच्चा निकालेर लग्न खोजे। हामीले सम्झायौँ। बरु बेड निशुल्क गरिदिन्छौँ भन्यौँ तर रोक्न सकेनौँ।
भेन्टिलेटरबाट झिक्दा बच्चा त्यति नराम्रो थिएन। आमा बच्चालाई खास्टोले छोपेर रुँदै रुँदै गइन्। उनको अवस्था देखेर हामीले पनि आँसु थाम्न सकेनौँ। एक हप्तापछि फोन गरेर सोध्दा बच्चा अस्पतालबाट लगेको चारदिनमै बितेछ।
त्यो घटनामा मलाई लाग्छ, आमा रोजगार भएको भए अर्थात् कमाउने भएको भए त्यसरी बच्चा झिकेर लग्दैनथे होला। त्यो बच्चा बाँच्थ्यो होला।
यस्ता घटना धेरै देख्छौँ। भोग्छौँ। ‘यूज टु’ नै भइसक्यो। अब त्यस्ता घटनाले काममा बाधा आउन दिँदैन। शुरु शुरुमा त दुई तीन दिनसम्म बस्दा सुत्दा त्यही घटना सम्झिइन्थ्याो। नरमाइलो लाग्थ्यो।
बिरामी वा उनीहरूका आफन्तले नर्सहरूले राम्रो व्यवहार गर्दैनन् भनेको पनि सुनिन्छ। तर २० वर्षको अवधिकमा ‘पेसेन्ट पार्टी’सँग मैले त्यस्तो अनुभव गर्नुपरेको छैन। नर्स बिरामीको रेसियोका कारण कतैकतै समस्या आउँछ होला। कसैकाे चाहिँ प्रवृत्ति नै त्यस्ताे हुन्छ हाेला।
आईसीयूमा बिरामीहरू एक डेढ महिनासम्म बस्छन्। बिरामीको सबै कुराको जानकारी राख्ने र उनीहरूको केयर गर्ने नर्सले नै हो। उनीहरू २४सै घण्टा ड्युटीमा हुन्छन्। गर्नुपर्ने म्यानेज सबै गरिसकेको हुन्छ। डाक्टरलाई सहज पारिदिन्छन्। तर बिरामी राम्रो हुँदा डाक्टरको नाम मात्र आउँछ। नर्सलाई ‘थ्याङ्क्स’ मात्रै भनिदिए पनि धेरै हुन्छ।
ड्युटी आवर आठ घण्टा भनिए पनि ९\१० घण्टा काम गरेकै हुन्छौँ। परिवारलाई समय दिन सकिँदैन। भर्खर ‘डेलिभरी’ भएका आमाहरू पनि घरमा बच्चा छोडेर कुद्नुपर्छ। हामी नै हौँ, नवजात शिशुलाई छ महिना दूध ख्वाउनुपर्छ भनेर सिकाउने। तर हाम्रै बच्चाले राम्ररी दूध खान पाउँदैनन्। मेरै कुरा गर्दा जेठो छोरा जन्मिँदा ब्याचलर पढ्दै थिएँ। ४० दिनमै घरबाट निस्केँ। आठ घण्टाको पढाइ थियो। घरनजिकै भएर पनि बच्चालाई दूध खुवाउन जान सकिँदैनथ्याे। आमाले नभ्याउने भएर छोरा ल्याक्टोजेन खान बाध्य भयो। यता मलाई ‘ब्रेस्ट एब्सेसेस’ भएछ।
एउटा बिरामीको लागि नर्सले कति ‘सेक्रिफाइज’ गरेको हुन्छ। बिरामीहरू नर्सिङ केयरले नै राम्रो हुन्छ। तर स्वतन्त्रतापूर्वक काम गर्न पाउँदैनन्। समय नै पुग्दैन। बिरामीलाई हेरेर उनीहरूको समस्या बुझ्ने, उनीहरूको केयर गर्ने कतिखेर? फेरि भिजिटरले पनि हैरान पारिरहेकै हुन्छन्। परिवारले भन्दा पनि आफन्त र साथीहरूले। उनीहरूसँग ‘डिल’ गर्दागर्दै बिरामीको ‘केयर’ छुट्छ।
टिचिङमा काम गर्ने भएकाले मेडिकलका विद्यार्थीहरू आउँछन्। उनीहरूलाई हात समातेर सिकाउँछौँ। तीन चार वर्षमा डाक्टर भएर आएपछि उनीहरूले नर्सहरूलाई सम्झिँदैनन्।
पढाइअनुसार अन्यत्रको तुलनामा प्रोफेसनल डेभलपमेन्ट नहुँदा कहिलेकाँही दिक्क लाग्छ। जहिले पनि तलै बसेर काम गर्नुपर्छ। डाक्टरसँग ‘डिपेन्डेड’ पेशा भएकाले राम्रो पढाइ र ‘हार्ड वर्क’ भएर पनि स्वतन्त्रतापूर्वक काम गर्न नपाउने स्थितिले कहिलेकाहीँ दुःखी बनाउँछ। डाक्टरहरूले ‘डोमिनेट’ गरेको सहनुपर्छ। तर बिसेक भएर जाँदा बिरामीले दिने ‘थ्यांक्स’ले सबै पीडा बिर्साइदिन्छ।
बिरामी, उनीहरूका आफन्त र आम मानिसमा एउटै आग्रह, नर्सिङ पेशालाई बुझिदिनुस्। उनीहरूकाे बाध्यता बुझिदिनुस्।
श्रमशोषण जहाँ पनि छ। नर्सिङमा पनि छ। सरकारी अस्पतालमा त्यति नराम्रो छैन। प्राइभेटमा माथिलाई राम्रो दिएको हुन्छ। तर तलको मानिसलाई शोषण गरिरहेको छ। मिडियामा ‘नर्सहरूको तलब थोरै छ’ भन्ने मात्र आउँछ। यो पेशामा भएका अन्य पक्षको पनि उजागर हुनुपर्छ जस्तो लाग्छ मलाई।
यो पेशामा रहेको समस्या समाधान गर्न म्यानेजमेन्टमा जाने मान्छे ‘क्यापेबल’ हुनुपर्छ जस्तो लाग्छ।
नर्सिङ पेशा अँगाल्दै गरेका र काम गरिरहेका कति बहिनीहरू यहाँ राम्रो अवसर छैन भन्छन्। पैसा छैन भन्छन्। बाहिरै जान खोज्छन्। राम्रो पढाइ र ‘हार्ड वर्क’ र काममा दत्तचित्त हुने नर्स विदेश नै जानुपर्छ भन्ने छैन। यहीँ पनि अवसर छ।
मलाई चाहिँ पीएचडी गर्न एकपटक बाहिर जान मन छ।
हेल्थ टिभी अनलाइनका रामप्रसाद काैशिकसँगकाे कुराकानीमा आधारित-
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights