क्यान्सरको उपचार हुँदै गर्दा कसैले ‘निको हुन्छ’ भनिदिए हुन्थ्यो नि जस्तो लाग्थ्यो
प्रमिता खनाल हाल नेपाल क्यान्सर सर्भाइभर सोसाइटीकी अध्यक्ष छिन्। उनले यो सोसाइटी खोलेको एक वर्ष भएको छ। सात वर्षअघि आफैँ स्तन क्यान्सरबाट पीडित प्रमितालाई मलाई पनि क्यान्सर लाग्छ र भन्ने लाग्थ्यो रे! उनै क्यान्सर सभाईभर खनालले हेल्थ टिभी अनलाइनसँग यसरी आफ्नो भोगाइको कुरा राखिन्–
म रिसर्चको काममा जिल्ला जिल्लामा हिँड्न पर्दथ्यो । एक दिन जिल्लाको काम सकेर काठमाडौं आएको बेला अचानक स्तनमा सानो घाउ जस्तो आयो । के होला भनेर लागेर जँचाउन गएँ। शुरुमा त डाक्टरले पिम्पल हो भनेर औषधि दिए। तर घाउ निको नभएपछि एकपटक ‘बायोप्सी’ गराउने सल्लाह भयो। त्यसबमोजिम बायोप्सी गराउँदा क्यान्सर देखा पर्याे । अस्पताल पनि एक्लै गएकी थिएँ।
डाक्टरले ‘तपाईँलाई क्यान्सर भएको छ भन्न नसकेर तपाईँको मान्छे ल्याउनुस्’, भने। तर मैले आफू एक्लै आएको भनेपछि धेरै बेरमा मलाई नै बताउन बाध्य भए। मैले शुरुमा त पत्याउनै सकिन। मलाई कसरी क्यान्सर हुन्छ भन्ने लाग्यो। तर सत्य त्यही थियो । घरमा गएर बूढा भएका सासु ससुरालाई कसरी भन्ने होला जस्तो लाग्यो तर हिम्मतका साथ परिवारका सबैलाई बोलाएर ‘मलाई क्यान्सर भयो, अब उपचार गर्नुपर्छ’ भनेँ।
मैले मेरो सम्पूर्ण उपचार नेपालमै गराएकी हुँ। अहिले एकदमै ठिक छु। यहाँ नै दक्ष चिकित्सक छन्। परिवासँग बसेर उपचार गराउँदा निकै सहज र सुरक्षित महसुस पनि भयो। तर अझै पनि धेरै जना बाहिर गएर निकै दुःख पाएको देखेकी छु ।
म त ठिक भएँ। क्यान्सर रोग लागेका अरु बिरामीका लागि केही गर्नुपर्छ भनेर यही रोग जितेका हामी केही दिदीबहिनी मिलेर संस्था खोल्यौँ। यो नितान्त स्वयंसेवी संस्था हो। कसैको केही स्वार्थ छैन।
म आफैँ पनि क्यान्सरको उपचार गराइरहँदा कसैले ‘तिमीलाई निको हुन्छ भनिदिए हुन्थ्यो नि!’ भन्ने लाग्थ्यो। ‘पिर नगर, हामी छौँ’ भनेर कसैले ढाडस दिए हुन्थ्यो भन्ने अपेक्षा गर्थे। रोगले च्यापेका बेला मानसिक रूपमा पनि कमजोर भइँदो रहेछ। त्यसबेला कसैले दिएको सान्त्वनाले निकै आत्मबल बढ्थ्यो। त्यही कुरा सम्झेर हामीले यो संस्थामार्फत हामीजस्तै दिदीबहिनीका लागि परामर्श सेवा दिने काम गछौँ।
अस्पतालका बेडमा गएर उनीहरूलाई हामी पनि यसरी रोग लागेर निको भएको भन्ने उदाहरण दिँदै मनोबल बढाउने काम गर्छौँ। यसले उनीहूलाई म पनि निको हुन्छु भन्ने आत्मविश्वास बढ्छ। बिरामीका कुरा बिरामीले विश्वास पनि गर्छन्। हाम्रो संस्थाले महिलाहरूलाई ‘फोकस’ गरेको छ।
काउन्सिलिङ बाहेक समय समयमा जनचेतनामूलक कायर्त्रम एवम स्क्रिनिङ क्याम्पहरू’ पनि गर्ने गरेका छौँ । क्यान्सर लाग्दैमा मरिंदैन। समयमै उपचार र आत्मबल भयो भने यसलाई जित्न सकिन्छ भन्ने सन्देश सबैलाई दिन चाहन्छौं ।
नेपाल क्यान्सर अस्पतालले एक अर्बको लगानी थप्दै
अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा सहकार्य
स्वास्थ्य क्षेत्रमा १ खर्ब १ अर्ब ९५ करोड बजेट विनियोजन
नर्सिङ कर्मचारीको रात्रि भत्ता दोब्बर
नेपाल औषधि लिमिटेडलाई २५ प्रकारका औषधि उत्पादन गर्ने गरी सक्षम बनाइने