‘सीपीआर’ अर्थात् बेहोश भई मृत्युको नजिक पुगेका व्यक्तिलाई बचाउने तरिका

सन् २००४ डिसेम्बर ५ तारिखका दिन ब्राजिलका प्रसिद्ध फुटबल खेलाडी क्रिस्टियानो डी लिमा गोवाको फुटबल मैदानमा बेहोस भई लडेको हामीमध्ये धेरैले सुनेको छौँ। उनी बाँचे। १० दिनपछि त्यही ठाँउमा त्यसै क्लबका शारीरिक सुगठन सल्लाहकार ल्यान्सी सिक्वेरिका तालिम दिँदादिँदै बेहोस भएर लडे, तर भाग्यको खेल उनी मरेकै अवस्थामा अस्पताल ल्याई पुर्याइएको भन्ने घोषणा भयो।
स्वस्थ देखिने धेरै मानिस बेहोस भएका कारण अस्पतालको आकस्मिक कक्षमा पुर्याइन्छ। बेहोस भएको करिब ३० मिनेट पछि मात्र उनीहरु अस्पताल पुग्छन्। त्यतिखेर ज्यादै ढिलो भइसकेको हुन्छ किनभने अक्सिजनको आपूर्ति नभएर मस्तिष्कका कोषिकाहरु त्यसभन्दा पहिले नै उपचार नै हुन नसक्ने गरी मरिसकेका हुन्छन्। यस्तो घटना विशेषतः बिहान सबेरै घट्छ। के यस्ता मृत्यु रोक्न सकिन्छ?
यो एकदम नै विवादास्पद प्रश्न हो। तर पनि जवाफ चाहिँ यदि ऊसँगै भएको कुनै व्यक्तिले आधारभूत जीवन ‘सर्पोट’ तुरुन्तै दिएमा बचाउने सम्भावना बढी हुन्छ। जति उच्च सुविधा सम्पन्न अस्पताल वा आकस्मिक कक्ष भएपनि बिरामी ढिलो पुगेपछि खासै केही गर्न सकिँदैन। आधारभूत जीवन सर्पोटका बारेमा बृहत् चेतना अभिवृद्धि गर्न सकेमा यस क्षेत्रमा धेरै गर्न सक्ने सम्भावना रहन्छ।
विश्वभरि यस्ता धेरै तालिम सञ्चालन गरिन्छ। तर दुर्भाग्यवश हाम्रो देशमा यस क्षेत्रमा त्यति धेरै गरिएको छैन। बहुसङ्ख्यक मानिसहरु आधारभूत जीवन सर्पोट र यसको उपादेयताको बारेमा अनभिज्ञ छन्। यसकारण सीपीआर सही रुपमा गर्न नसकेर धेरै मानिसले जीवन गुमाउनु परेको प्रतिवेदन अमेरिकन मेडिकल एसोसिएसनलेप्रकाशन गरेको छ।
हालैको दुईवटा अध्ययनले पनि सेवा दिनेहरूले सही ढङ्गबाट त्यसको उपयोग नगर्नाले रोकिएको मुटु चलाउन असफल हुन्छन् भनेका छन्। सीपीआर गर्दा गर्नुपर्ने भनी दिइएको मार्गनिर्देशनअनुसार दिइने झड्का तोकिएको संख्यामा र चाहिने जति चाप तथा मुखबाट दिने कृत्रिम श्वास ठीक नभएका कारणले गर्दा भएको हुन सक्छ। ज्यादै पुरानो सीपीआरका एकदमै जटिल निर्देशनहरुले गर्दा यसो हुन गएको हो भनी अध्ययनले देखाएका छन्।
अर्को एक अध्ययनले ज्यादै छिटोछिटो गरिएकाले (एक मिनेटमा १०० देखि १२० पटक सम्म ठीक संख्या हो) वा धेरै पटक छातीमा दिइएको झड्काको चाप कमजोर भएकाले हो भनेको छ। आधारभूत जीवन बचाउने विधिहरु सिक्न मात्र केही घण्टा लाग्छ। उपयुक्त तरीकाबाट अपनाइने बचाउका विधिहरुले मान्छे जीवित भएको वा मृत भइसकेको थाहा पाउन ज्यादै ठूलो भूमिका खेल्छ। ती विधिहरुद्वारा आफूलाई पोख्त पार्नु नै कुनै पनि आकस्मिक अवस्थामा निर्धक्क भएर सेवा पुर्याउन सक्ने बन्नु हो।
आधारभूत जीवन बचाउ अंग्रेजीको एबीसी जस्तै सरल छ। ए भनेको एयरवेज। बेहोस भएको मानिसको जिब्रोको भित्री भाग तल झरेर श्वास नली बन्द गरिदिन्छ। टाउकोको पछिल्लो भागमा केही बाङ्गो गरिराखेर चिउँडो उठाइदिएको खण्डमा श्वासनली केही खोल्न सकिन्छ।
बी भनेको ब्रिदिङ्ग। श्वासनली खोल्ने प्रक्रिया सिद्धिएपछि सास फेरेको छ वा छैन भनी जाँच गर्नुपर्छ। यसका लागि हेर्ने, सुन्ने, अनुभव फेरिराखेको छ वा छैन सुन्न सकिन्छ र आफ्नो गालामा अनुभव गर्न सकिन्छ। सास फेरेको छैन भने मुखबाट कृत्रिम श्वास दिन सकिन्छ। कृत्रिम श्वास दिने कार्यलाई प्रभावकारी बनाउन बिरामीको नाक च्याप्प थिचेर ओठमा ओठ बाहिरबाट हावा नजाने गरी जोरेर सास दिनुपर्छ। श्वास दिँदा बिस्तारै बिस्तारै दिनुपर्छ जसले गर्दा बिरामीको सास बाहिर पनि निस्कन पाओस्।
सी भनेको सर्कुलेसन। मुखबाट दुई पटक कृत्रिम श्वास दिएपछि रगत संवाहन भएको छ वा छैन भनी जान्नका लागि घाँटीमा मुटुको धड्कन जाँचिन्छ। धड्कन छैन भने फेरि मुटुमा दिने सङ्कुचन गर्ने हो। आधारभूत जीवन सर्पोटमा एक पछि अर्कोगरी लगातार गरिने कौशलहरु हुन्छन्। मुटुको सङ्कुचन वयस्क व्यक्तिका लागि सीपीआर गर्दा मुटुको सङ्कुचन दर(मुटुमा दिइने बाहिरी दबाब) प्रतिमिनेट सरदर १०० पटक हुनुपर्छ।
प्रश्वास र सङ्कुचनको अनुपात २ प्रश्वास बराबर ३० सङ्कुचन हुनुपर्छ। बचाउ गर्नेले मुखबाट मुखमा दिने प्रश्वास दिन सकेन वा दिन चाहेन भने सीपीआरका लागि छातीको सङ्कुचन मात्र भए पनि गर्नुपर्छ। छातीको सबैभन्दा तल्लो करङको भागमा ताल मिलाएर लगातार दिइने चापलाई सीपीआरका लागि छातीको सङ्कुचन गर्नु भनिन्छ। यस्ता सङ्कुचनहरुले छाती भित्रको चाप बढाएर रगतको प्रवाहलाई चालु गर्छन्।
छातीको सङ्कुचनद्वारा फोक्सोमा बढेको रगतको मात्रा र सही तरिकाबाट दिइएको कृत्रिम श्वासले ‘डेफिब्रिलेसन’ जस्ता खास उपचार नहुञ्जेलका लागि मस्तिष्क र अरु महत्त्वपूर्ण अङ्गहरुमा आवश्यक मात्रामा अक्सिजन पुग्छ। छाती सङ्कुचन गर्ने तरिका छातीको करङको तल्लो भाग पहिचान गरेर हातलाई उचित तरिकाले राख्नुपर्छ। छातीको करङको तल्लो भाग पहिचान गर्ने केही सूत्रहरु तल दिइएका छन् तर अरु उपायको जानकारी छ भने त्यो उपाय पनि अँगालेमा कुनै फरक पर्दैन।
सूत्रहरु
तपाईँका औँलाहरु बिरामीका करङहरुको सबैभन्दा तल राख्नुहोस्। छातीको तल्लो भागको बीचमा रहेको करङको टुप्पातिर आफ्नो औंला सार्नुहोस्। एउटा हातको हत्केलाको छेउ तल्लो करङको आधा भागमा राख्नुहोस् र अर्को हात त्यो हातको समानान्तर हुने गरी त्यसमाथि राख्नुहोस्। यसो गर्दा तपाईंको हत्केला छेउको लामो धुरी माथि राखिएको हुनुपर्छ। यसो गर्दा सङ्कुचनको जोड ‘रिब फ्य्राक्चर’मा पर्छ। करङको आधारको तल्लो भागमा सङ्कुचन नगर्नुहोस्।
तपाईँको हातका औँलाहरु फैलिएका वा बाटिएका भएर केही हुँदैन, तर छातीमाथि हुनु हुँदैन। सङ्कुचन— एकमात्र सीपीआर मुखबाट मुखमा दिइने कृत्रिम श्वास एक सुरक्षित तथा प्रभावकारी प्रविधि हो, जसले धेरैको ज्यान बचाएको छ। बिरामी र बचाउ गर्नेका लागि दशकौँदेखि यो प्रविधि सुरक्षित मानिएको भए पनि हालसालै प्रकाशित सर्वेक्षणहरुले नचिनेका बिरामीमा यो कार्य गर्न सम्बन्धित मानिस र बचाउको काम गर्ने व्यक्ति अलि हिच्किचाउँछन् भनेका छन्।
यो हिच्किचाहट सरुवा रोगहरु सर्न सक्छन् भनी आएको हो। यदि कृत्रिम श्वास दिन मानेनन् वा दिन सकिएन भने केहि नगर्नुभन्दा खालि छातीको सङ्कुचन गरेर भए पनि सीपीआर गर्नुपर्छ। खोक्न लगाएर गरिने सिपिआर बिरामीलाई आफैं सीपीआर गर्न लगाउन पनि सकिन्छ। बिरामीले होश हराउनुभन्दा अगाडि उसको मुटु बन्द भएको थाहा पाएमा मात्र यो सम्भव छ। त्यसैले यो प्रविधि उपचारमा रहेर दैनिक रेखदेख भइरहेको बिरामीका लागि मात्र प्रयोग हुन सक्छ।
यो अवस्था मुटु बन्द भएको १० देखि १५ सेकेन्ड मात्र रहन्छ। लगातार खोक्नाले मगजमा रगतको बहाव कायम रहन्छ र बिरामी बेहोश हुँदैन। त्यसैले बेहोस भएर लड्न लागेको व्यक्ति खोक्नाले ठीक हुन सक्छ।
डा. रावतकाे ‘स्वस्थ जीवनशैली स्वस्थ मुटु’ पुस्तकबाट।
सम्पादक आचार्यलाई ‘रोटरी जर्नो अवार्ड’
अन्धोपन निवारणको क्षेत्रमा ऐतिहासिक कदम : स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी
यी रोग छन्, मासु कम खानुस्
नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज खोप लगाइँदै
औषधि पनि हो ल्वाङ, यसरी लिनुस् फाइदा