मधुमेह हुनै नदिनुस्, भइसकेकाे छ भने नियन्त्रणमा राख्नुस्

मधुमेह अर्थात् चिनीरोग दिनप्रतिदिन बढिरहेको छ। विश्व स्वास्थ्य संगठनले विश्वमा झण्डै ४२ करोड मानिसलाई मधुमेह रोग रहेको अनुमान गरेको छ। मधुमेह दीर्घकालीन रोग भएकाले एकपटक लागिसकेपछि यसलाई राम्रोसँग नियन्त्रणमा राख्नु बाहेकको विकल्प छैन।
मधुमेहलाई ख्याल गरिएन र शुरुदेखि नै लापरवाही गरियो भने यसले भयावह स्थिति निम्त्याउँछ। यसले मुटु, मिर्गौला जस्ता महत्त्वपूर्ण अंगमा असर गर्न शुरु गर्छ। जटिलता आइसेकपछि उपचार पनि महंगो बन्न पुग्छ। मधुमेहका बारेमा जनचेतना जगाउनकै लागि प्रत्येक वर्ष नोभेम्बर १४ मा विश्व मधुमेह दिवस मनाउने गरिन्छ।
राम्रोसँग उपचार नगरे भयाभय हुने, विभिन्न अंगमा क्षति पुर्याउने र महंगो उपचार र यो रोगसँग लड्न जटिल हुने भएकाले यसमा ध्यान पुर्याउनका लागि विश्व मधुमेह दिवस मनाउन शुरु गरिएको हो। हामीले नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरेका छौँ। यसकारण संसारभरिका मानिसबीच हातेमालो गर्दै परिवार, व्यक्तिगत, समाज, र देशको स्तरमा ध्यान पुर्याएर गर्नुपर्ने कामहरू गर्नुपर्यो भनेर आवाज उठाउन मधुमेह दिवस मनाइएको हो।
परिवारमा कसैलाई मधुमेह भए अरुलाई पनि हुन सक्ने र कसैलाई मधुमेह भए परिवारको साथ चाहिने भएकाले यो पटकको नारा पनि ‘परिवार र मधुमेह’ रहेको छ। अभिभावकले सानैदेखि बालबालिकालाई ‘आउटडोर गेम’का लागि लागि प्रेरित गर्नुपर्छ। ‘एक्सरसाइज’ गर्दा पनि आमाबुवा, छोराछोरी सबै मिलेर गर्दा रमाइलो पनि हुन्छ। शारीरिक रूपमा सबैलाई फाइदा पनि हुन्छ।
हामीकहाँ मधुमेह रोग लागेकालाई विचरा भन्ने चलन छ। त्यस्तो भन्नु पर्दैन, रोग जो कोहीलाई लाग्न सक्छ भनेर सबैले बुझ्नुपर्छ। रोग लागेकालाई परिवारले सहयोग गर्नुपर्छ। परिवारको सहयोगबिना बिरामी एक्लैले उपचार गर्न सक्दैन। औषधि खान सम्झाउने कुरा होस् या उपचार गर्न सबैमा परिवारको ‘सपोर्ट’ चाहिन्छ।
यस्ता व्यक्तिले खिन्न महशुस गर्ने र तनाव लिने समस्या हुनसक्छ। यस्तो अवस्थामा परिवारको साथ पाएमा यो समस्या पनि आउन पाउँदैन र जटिलता कम हुन्छ। खानेकुरामा होस्, सबैमा परिवारको सहयाेग चाहिन्छ। अर्को कुरा परिवारमा कसैलाई मधुमेह छ भने अन्य त्यति पनि जोखिममा हुन्छन्।
त्यसैले मलाई पनि मधुमेह हुनसक्छ भनेर सोच्नुपर्छ र त्यही अनुसार सावधानी अपनाउनुपर्छ। बढ्दो आधुनिकीकरण, खानेकुरामा विषादीको अत्यधिक प्रयोग, अनियन्त्रित जीवनशैलीका कारणले पनि होला मधुमेहको समस्या विकराल बन्दैछ। शुरुमा नै मधुमेह नियन्त्रण गरियो भने सामान्य जीवनयापन गर्न सकिन्छ। यसो गर बीसौँ वर्षसम्म पनि समस्या आउँदैन।
पेटको गोलाइप्रति ध्यान दिने, फ्याक्ट्रीमा बनेका खानेकुरा जस्तै बिस्कुट, चाउचाउ मिठाइ नखाने र प्राकृतिक खानेकुरा खाने, व्यायाम गर्ने, तनाव न्युनीकरण गर्ने बानी बसाल्नु पर्छ। यसो गरे मधुमेहबाट बच्न सकिन्छ। यो पारिवारिक रोग भएकाले एक व्यक्तिले हाेइन राेकथाम र नियन्त्रणका सबै उपाय परिवारले नै गर्नुपर्छ।
हेर्नुहाेस् भिडियाे–
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा
पत्रकार ज्योति शाहको क्यान्सर उपचारका लागि सहयोग जुट्दै