Health TV Online
Health TV Online
Health TV Online

उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु उत्तम

उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु उत्तम

मानिसको मुटुमा रगत आपूर्ति गर्ने स–साना २–४ मिमि चौडाइ र १० सेमि लम्बाइ भएका रक्तनलीहरूलाई मुटुका धमनी भनिन्छ। एन्जाइना र हृदयाघात भएका बिरामीहरूमध्ये धैरैजसोका एक वा एक भन्दा बढी मुटुका धमनीहरू अवरुद्ध भएका हुन्छन्।

धमनीहरूमा अलिअलि गरेर बोसो जम्न जानाले यी धमनीहरू आंशिक रुपमा अवरुद्ध हुन जान्छन्। यस्ले गर्दा बिरामीलाई छिटो छिटो हिँड्दा वा भर्याङ चढ्दा छातीमा असजिलोपन वा गाह्रोपन महसुस हुन थाल्छ। धमनी एकैचोटि अवरुद्ध भएमा छाती बेस्करी दुख्ने, चिटचिट पसिना आउने हुनुका साथै स्वास्थका लागि खतरनाक हुने मुटुका खास मांशपेशीहरू मर्ने भन्ने रोग वा हृदयाघात नै हुन्छ।

यी दुवै किसिमका मुटु रोगहरूमा (एन्जाइना र हृदयाघात) मुटुका धमनीहरू कुनै किसिमबाट बन्द भएर हुन्छन्। हामीले काठमाडाैंको नर्भिक इन्टरनेसनल हस्पिटल र नयाँ दिल्लीस्थित भारतको एस्कर्टस् इन्टिच्युट एन्ड रिसर्च सेन्टरबाट एउटा रमाइलो तथ्यांक बटुलेका छौँ, जसअनुसार नियमित स्वास्थ जाँचका लागि आउने युवाहरूमध्ये ३० प्रतिशतको सूर्तीजन्य खराब लत छ, २८ प्रतिशतको उच्च रक्तचाप छ, ६७ प्रतिशतको ट्राइग्लिसराइडस् उच्च छ र ७० प्रतिशतले आवश्यकता अनुसारको व्यायाम गर्दैनन्।

त्यसैले दक्षिण एसियामा मुटुको रोगका कारण धेरै मानिसको मृत्यु भइरहेको छ भन्नेमा आश्चर्य मान्नुपर्ने कुरै छैन। सीमित साधन भएको हाम्रो देशका मानिसहरू यो महँगो र निको नहुने रोगका लागि खर्च गर्न समर्थ छैनन्। पैसाको समस्या नभएकाहरूलाई पनि हृदयरोग कहिले र कहाँ हुन सक्छ भनेर कसैले पनि ठोकेर भन्न सक्दैन। हामीलाई स्वास्थ्यसम्बन्धी सहयोग नपाइने स्थानमा मुटुजन्य आकस्मिक समस्या हुन सक्छ। त्यसैले तपाईँको धनले हैन जीवनशैलीले अक्सर तपाईँको भाग्य निर्धारण गर्छ।

अब फनक्क घुमौँ र आजदेखि नै सुरु गरौँ। यसो गर्न कहिल्यै पनि ढिलो गर्न हुँदैन–

सागपात र फलफूलमा बढी लगानी गरौँ। यसो गर्नमा महिलाले बढी भूमिका खेल्न सक्छन्। सानो भाडामा फलफूलहरू पस्कनु साटो ठूलो भाडामा पस्कन थालौँ। स्वस्थकर खाजाहरूको प्राप्ति सजिलो बनाऔँ। गुलियो खानालाई चट्टै छाडौँ। भनाइको मतलब हामीले खान होइन बाँच्नलाई खाने बानी बसाल्नु पर्छ।

शारीरिक सुगठन लागि हेल्थ क्लब जाऔँ अथवा घरमा टेड्रमिल वा साइकल चलाऔँ। हरेक दिन साधना गरौँ र एकदिनमा धेरैपटक हाँसौँ\हँसाऔँ।

जीवनसंगिनीहरूसित बसौँ र जीवनका प्राथमिकताहरूका बारेमा छलफल गरौँ। यसो गर्दा संसारको सबैभन्दा धनी अमेरिकी बिल गेट्सको बैंकमा भएको रकमजति कसरी जम्मा गर्ने वा केटाकेटी हुर्काउन तथा उनीहरूको पढाइलाई आवश्यक पर्ने रकम जुटाउन सकेनाैँ वा कसरी गर्ने भन्नेमा नफसौँ होला। यसले जीवनमा झन् तनाव बढाउँछ। हाम्रो आर्थिक स्थितिसित हाम्रा केटाकेटी स्वतः मिल्छन्। हामीले उनीहरूलाई बाहिरबाट पर्न आउने जस्तोसुकै दबाबलाई पनि सजिलैसँग झेल्न सबल हुने बनाउनु पर्छ।

हामीले उनीहरूलाई हाम्रा मूल्य, मान्यताको साथै खुसी जीवन कसरी बिताउने भन्नेबारे सिक्न दिनुपर्छ न कि नचाँहिदो प्रतिस्पर्धा गरेर आफ्नो व्यक्तित्व वा जीवन नष्ट गर्ने। हामीले उनीहरूलाई खेल्न, भगवान्को प्रार्थनामा मन लगाउन तथा ध्यान गर्न समय दिनुपर्छ, राम्रा र गुणी खाना खान दिने गर्नुपर्छ। उनीहरूलाई पैसा कसरी कमाउने र त्यसको बचत कसरी गर्ने भन्नेमा मात्र व्यस्त हुन दिनु हुन्न।

१० वर्षअगाडिसम्म नेपालमा एन्जियोग्राफी, एन्जियोप्लास्टी तथा स्टेन्ट प्रत्यारोपण र बाइपास सर्जरीजस्ता उपचार विधि उपलब्ध थिएनन्। अहिले उपलब्ध त छन् तर अलि महँगा छन्। यहाँ विचारणीय कुरा के छ भने यदि उपचार पाउनेले आफ्नो बानी परिवर्तन गरेन भने न एन्जियोग्राफी न वाइपास सर्जरीले नै रोगलाई निको पार्छ। उस्को रोग पुनः फर्किने सम्भावना धेरै नै हुन्छ।

सबैभन्दा उत्कृष्ट उपाय रोकथाम हो। तल दिइएका आठ जानकारीहरूलाई होशियारीपूर्वक अनुसरण गरेमा तपाईँले मुटुको रोगलाई टाढै राख्न सक्नु हुनेछ–

रोगको लक्षण नकुर्नुहोस्। रगतको चाप बेला–बेलामा जाँच गराउनु होस्। सकेसम्म यसको स्तर १२०\८० को हाराहारीमा राख्नुहोस्। यदि चिकित्सक औषधि खाने सल्लाह दिएका छन् भने त्यसलाई बेवास्ता नगर्नुहोस्।

रगतमा लिपिड प्रोफाइलको जाँच गराउनु होस्। कोलेस्टेरोलको स्तर सकेसम्म तल राख्नुहोस्। आवश्यक परेमा लामो समयसम्म पनि औषधि सेवन गर्न नहिच्किचाउनुहोस्।

धूमपान गर्दै नगर्नुहोस्। दिनमा दुईवटा चुरोट तान्नेको ३०० प्रतिशतले मुटुको रोगको खतरा बढ्छ भन्ने कुरा हालैका तथ्यांकहरूले देखाएका छन्।

यदि तपाईँका आमाबुबा वा छोराछोरीमा मधुमेहको रोग छ भने तपाईँ पनि आफ्नो रगत बेला बेलामा जाँच गराइराख्नुहोस् किनभने परिवारमा मधुमेहको इतिहास छ भने तपाईँलाई पनि यो रोग हुने प्रशस्त सम्भावना छ। यदि मोटो हुनुन्छ भने त झन् बढी हुन्छ।

कम्मरको मोटाइ पातलो राख्नुहोस्। पुरुषको कम्मर र नितम्बको अनुपात ०.९ हुनुपर्छ भने महिलामा यसको अनुपात ०.८ हुनुपर्छ।

दिनमा ४५ मिनेटजति नियमित ‘एरोबिक व्यायाम’ गर्नुहोस्।

सागपात र फलफूलमा रमाउनुहोस् र आजैदेखि सधैँ खाइरहेको भन्दा दोब्बर खाने प्रयास गर्नुहोस्। तपाईँले यस्को असर केही महिनाभित्रै अनुभव गर्नुहुनेछ।

आफूलाई तनावरहित राख्न केटाकेटीसित खेल्ने, घरमा पालेको जनावरहरूसित खेल्ने, सोख लागेका केही कुरा गर्ने, सङ्गीत सुन्ने, पूजा गर्ने, योग गर्ने, ध्यान गर्ने तथा बेस्करी हाँस्ने जस्ता काम लाग्ने कार्यहरू गर्नुहोस्।

अन्त्यमा, राति सुत्नुअगाडि सधैँ आफैँलाई के मैले आजको दिनलाई एक सफल दिन बनाएँ भनि प्रश्न गर्ने गर्नुहोस्।

‘मेड’, एक मन्त्र

अंग्रेजी भाषाको ‘मेड’ हाम्रो स्वस्थ मुटुका लागि मन्त्र हुन सक्छ, यसको माने हो–

एम– मेन्टल रिल्यासेसन (मानसिक तनाव कम गर्ने),

ए– एभोइड स्ट्रिक्ली टोबाको इन एनी फर्म (कुनै पनि प्रकारको धूमपान नगर्ने),

डी– डाइट कन्ट्रोल (खानामा नियन्त्रण गर्ने),

ई– एक्सरसाइज रेगुलरली (नियमित व्ययायाम गर्ने)।

डा. रावतकाे ‘स्वस्थः जीवनशैली मुटु’ किताबबाट।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

होली खेल्दा के कुरामा ध्यान दिने ?

होली खेल्दा के कुरामा ध्यान दिने ?