Health TV Online
Health TV Online
Health TV Online

दशैँमा यसरी गर्नुस् छालाकाे सुरक्षा

दशैँमा यसरी गर्नुस् छालाकाे सुरक्षा

विजयादशमीका दिन निधारभरि टीका र शिरमा जमरा लगाउने हामी नेपालीहरूको चलन छ। याे दिन रातो टीका र जमरा लगाइदिँदै मान्यजनले आफूभन्दा सानालाई आशीर्वाद दिन्छन्।

कतैकतै विजयादशमीकाे दिनदेखि पूर्णिमासम्म अर्थात् ६ दिन टीका लगाउने चलन छ। दशमीका दिन घरमा टीका लगाएपछि अन्य नातागाेताकहाँ टीका लगाउने क्रम काेजाग्रत पूर्णिमा बिहानसम्म चल्छ। यसरी ६ दिनसम्म निधार राताम्य भइरहन्छ।

हामी दशैँ चाडबाड भनेर छालाको खासै हेरचाह गर्दैनौँ। दीर्घायु र समृद्धिको कामना गर्दै खुशीयालीका साथ लगाइएको टीकामा कमसल खालको रङ (अबिर) पर्यो भने यसले छालालाई असर गर्न सक्छ। कसैकसैको छाला निकै संवेदनशील हुन्छ। यस्ता छाला भएका व्यक्तिलाई अबिरले ‘एलर्जी’ समस्या हुन्छ।

त्यस्तै पहिलेदेखि नै छालाको समस्या भएका व्यक्ति, डण्डिफोरको समस्या भएका व्यक्तिलाई पनि अबिरले असर गर्छ। कतिपय अवस्थामा त यसले अझ बढी घाउ खटिरा निकालेर दुःख दिन्छ।

त्यसैले टीका बनाउँदा कस्तो अबिर प्रयोग गर्ने भन्ने कुरामा ध्यान दिनुपर्छ। हामी देख्छौँ, एक साता बितिसक्दा पनि कतिपय मानिसको दशैँको टीकाको रङ निधारमा हुन्छ । अर्थात् जति धोए पनि रङ जाँदैन। कतिपय व्यक्ति रङ गएन भनेर साबुनले यति छाला रगटेर घाउ नै बनाएर आउने गर्छन्। यस्तो अवस्थामा साबुन पानीले रगटेर धुनु हुँदैन। यसले झन समस्या बनाउँछ।

‘मोस्चराइजिङ क्रिम’ लगाएर बिस्तारै पुछ्नुपर्छ। यसले छालालाई नरम बनाउँछ। यदि गएन भने चिकित्सकको सल्लाह लिन सकिन्छ। कतिपय व्यक्तिले दशैँको टीका फाल्न हुँदैन भनेर पनि नधोर्इकन राखेको पाइन्छ। यसरी छालामा टीका र रङ राखिरहनु छालाको लागि राम्रो होइन। यसले छालाको स्वस्थ बिगार्छ।

यसै पनि हामीले दिनमा तीनदेखि चारपटक मुख राम्रोसँग धोएर मोस्चराइजिङ क्रिम लगाउन जरुरी हुन्छ। चिल्लो छाला हुनेले अझ बढी मुख धुनु जरुरी छ।

नवरात्रका वेला हामी विभिन्न शक्तिपीठ दर्शन गर्न जान्छौँ। मन्दिरमा खाली खुट्टा जाने भएका कारण त्यहाँ पोखिएका अबिर र अन्य पदार्थले खुट्टाको छाला फुट्न सक्छ। त्यसैले घर आएर राम्ररी खुट्टा धोएर मात्र भित्र पस्नुपर्छ।

अर्को महत्त्वपूर्ण कुरा, चाडबाडका बेला हामी अन्य कुरा धेरै खाए पनि पानी खान बिर्सिन्छौँ। यो एकदमै गलत हो। स्वस्थ छालाका लागि पानी एकदमै आवश्यक छ। हामीले दैनिक तीन लिटर पानी खान जरुरी छ।

यसैगरी रातभर जाग्राम बसेर तास खेल्ने गर्दा पनि छालामा रिंकल (चाउरी) पर्ने समस्या आउँछ। दशैँतिहार जस्ता चाडमा स्वास्थ्यप्रति सचेत त बन्नुपर्छ नै, छालाको पनि हेरचाहमा पनि विचार पुर्याउनुपर्छ।

थप समाचार

होली खेल्दा के कुरामा ध्यान दिने ?

होली खेल्दा के कुरामा ध्यान दिने ?