मुटुरोग रोकथाममा कसको के भूमिका?

सेप्टेम्बर २९ अर्थात् विश्व मुटुरोग दिवस। मुटुरोग रोकथामका लागि जनचेतनामूलक कार्यक्रम गरी विश्वभरि नै यो दिवस मनाइन्छ। विश्वमा ६० प्रतिशत मानिसको मृत्यु नसर्ने रोगका कारण हुन्छ। त्यसमा पहिलो नम्बरमा पर्छ, मुटुरोग। सबैभन्दा बढी मानिस मुटुरोगकै कारण मर्छन्।
विश्वमा जति मानिस मुटुरोगले मर्छन्, तीमध्ये दुइतिहाइ मानिस विकासोन्मुख देशका छन्। त्यसमा पनि उद्यमशील अर्थात् पैसा कमाउने उमेरका मानिस धेरै छन्। मुटुरोगले आर्थिक समस्या त निम्त्याउँछ नै, सामाजिक समस्या पनि आउँछ। त्यसैले यसलाई नियन्त्रणमा लिनुको विकल्प नै छैन।
हृदयाघातबाट मात्रै नेपालमा बर्सेनि २० हजार भन्दा बढी मानिसको ज्यान जान्छ। रोकथाम वा उपचारका लागि न त हामीसँग जनशक्ति छ, न पैसा, न त स्रोत साधन नै। उपचारसेवा उपलब्ध भएर पनि नपाउने अवस्था छ। त्यसैले नेपालजस्तो देशमा रोकथामबाहेकको विकल्प हामीसँग छैन।
मुटुरोगले झुक्याउन सक्छ।
मुटुरोगमा शुरुमा लक्षण नदेखिन सक्छ। मलाई केही भएकै छैन भन्ने लाग्छ। हामी धेरैमा वेलावेलामा अस्पताल जाने र ‘चेकअप’ गराउने चलन नै छैन। रोगले नगाले र थला नपारेसम्म अस्पताल नजाने संस्कृतिका कारण थाहा नै नपाई रोगले भित्रभित्रै गाँजिसकेको हुन्छ।
बढ्दो आधुनिकतासँगै खानपिन र व्यवहारमा ठूलो परिवर्तन आएको छ। अस्वस्थकर जीवनशैली छ। होटलमा खाने, रमाइलो गर्ने, मदिरा पिउने, चुरोट खाने, जंक फुड, फास्ट फुडमा रमाउने जस्ता संस्कृति भित्रियो। तर आफ्नो र परिवारको स्वास्थ्यका लागि केही समय छुट्याउने, स्वस्थ खानेकुरा, व्यायामजस्ता पक्षलाई अँगालिएन।
हामीले विदेशीका राम्रा कुरा सिकेनौँ। अहिले त शहर मात्र होइन गाउँघरको ‘लाइफ स्टाइल’ पनि बिगारेको छ। जंकफुड गाउँगाउँ पुगेका छन्। आधुनिक बन्न रक्सी र चुरोट पिउनेको संख्या बढ्दो छ। उनीहरूमाझ आउटडेटेड भइसकेका विकृतिलाई संस्कृति मानेर अनुशरण गरिरहेका छौँ। त्यसले पनि मुटुरोगीको वृद्धिमा सहयोग पुर्याइरहेको छ।
सरकारको भूमिका
सरकारले मुटुरोग रोकथाममा लगानी बढाउनुपर्छ। जनचेतनामूलक कार्यक्रम व्यापक रूपमा गर्नुपर्छ। सरकारले छोटो, मध्यम र दीर्घकालीनयोजना बनाएर लागु गर्न जरुरी छ। मुटुरोगबारेमा प्रौढ भएपछि मात्र होइन बालबालिकालाई जानकारी दिनुपर्छ।
विद्यालय तहमै मुटुरोगबारे पाठ्यक्रम राख्नुपर्छ। मुटुरोगको रोकथामका लागि सरकारले निजी क्षेत्रलाई पनि साथमा लिएर कार्यक्रम अघि बढाउनुपर्छ। यस्तो जटिल विषयमा एक्लै अघि बढ्छु भनेर हुँदैन। उमेरअनुसार कस्ता खालका मुटुको समस्या आउँछन् त्यहीअनुसार रोकथाम र उपचारको योजना बनाउनुपर्छ।
समाज बदल्नु छ? आफैँबाट शुरु गर्नुस्
समाजमा रहेका संस्कृतिलाई परिमार्जन गर्नुपर्छ, विकृति भए जरैदेखि उखेलेर फ्याँक्नुपर्छ। आफन्तकोमा जाँदा गुलिया मिठाइ, बजारमा पाइने जुस लिएर नजानुस्, फलफूल लिएर जानुस्। चुरोट र मदिरा रोक्न सामाजिक रूपमै अगाडि बढ्नुस्। विवाह व्रतबन्ध, पास्नी आदिमा यी कुरा नराख्ने बानी गर्नुपर्छ।
अरुले जेसुकै गरुन्। आफूले सुरुवात गरौँ। आफ्नो वा आफन्तको पार्टीबाट मदिरा र चुरोट राख्दै नराख्नुस्। यी कुरा व्यक्तिले शुरु गर्ने हो। त्यसपछि परिवा हुँदै समाजमा आउने हो। व्यक्तिबाटै परिवार हुँदै सम्भव छ, सामाजिक रूपान्तरण।
परिवारमा एकअर्काको चासो राखौँ
हिजोआज परिवारमै पनि एकअर्काको बारेमा चासो लिने क्रम हटेको छ। बाबुको कुरा छोरालाई थाहा नहुने। छोरीको कुरा आमालाई थाहा नहुने। भए पनि चासो नदिने। यो गलत हो। बाबुआमाले चुरोट मदिरा लिँदा छोराछोरीले रोक्न पर्यो। छोराछोरीले खाइरहेको खानेकुरा स्वस्थ छ कि छैन विचार गर्नुपर्यो।
‘मर्निङ वाक’ सबैले सँगै गरे भयो नि! शारीरिक व्यायाम परिवारका सबै सदस्यले एकैपटक गरे भइहाल्छ। घरमा भएका एक व्यक्तिले अर्काेको स्वास्थ्य कस्तो छ, जानकारी राख्ने गर्नुपर्र्छ। त्यसका लागि थोरै भए पनि समय छुट्याउने बानी गर्नुपर्छ।
व्यक्तिले के गर्ने?
व्यक्तिले आफ्नो स्वास्थ्यको ख्याल सानैबाट गर्नुपर्छ। ‘म मलाई मुटुरोग हुन दिन्न’भन्ने प्रण गर्नुपर्छ। यसका लागि कोशिश गर्नुपर्छ। मदिरा र चुरोटबाट टाढै बस्नुपर्छ नियमित शारीरिक व्यायाम गर्नुपर्छ।
अहिले नै डराउनु पर्ने अवस्था छैन। तर जुन तिव्रताका साथ आधुनिकता भित्रिँदै छ, त्यसले अबको २० वर्षपछि भने भयावह अवस्था आउननसक्छ।
यो वर्षको नारा– मेरो मुटुः तिम्रो मुटु
मुटु दिवसका लागि यो वर्षको नारा भावनात्मक रुपमा जोड्ने खालको छ। ‘म आफ्नो मुटुका लागि मात्र होइन अरुको मुटुका लागि के गर्न सक्छु?’ सबैले सोच्नुपर्ने वेला भएको छ। यो घर परिवारबाटै शुरु गरौँ। र अाफैबाट शुरू गराैं ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights