बालबालिकालाई रंगीचंगी खेलौना दिनुअघि ध्यान दिनुस् यी कुरा

के तपाईँले आफ्ना बालबालिकालाई बजारमा किनेका प्लाष्टिक वा धातुबाट बनेका अधिक चम्किला र रगीचंगी खेलौना खेल्न दिने गर्नुभएको छ? छ भने होशियार!
खेल्न पाउनु बालबालिकाको नैसर्गिक अधिकार हो। कुनै पनि अभिभावकले आफ्ना बालबालिकालाई नखेल भन्नु वा खेलौना नदिनु उचित हुँदैन। तर उनीहरूले खेल्ने खेलौना सुरक्षित र स्वास्थ्यवर्धक छन् कि छैनन् भन्ने कुरामा ध्यान पुर्याउन भने जरुरी छ।
खेलौना हानिकारक कसरी?
स्वभावैले बालबालिकाले जति पनि खेलौना भेट्छन्, मुखमा हाल्ने, चुस्ने, चपाउने गर्छन्। विशेषगरी प्लाष्टिकका रंगीचंगी खेलौना टोक्दा, चपाउँदा वा चुस्दा थुकको माध्यमबाट हानिकारक रासायनिक पदार्थ उनीहरूको शरीरको बाहिरी वा भित्री भागमा प्रवेश गर्छ।
हानिकारक रसायनले तत्काल वा दीर्घकालमा विभिन्न असर देखाउन थाल्छ, जुन हामीले तत्काल थाहा पाउन पनि सक्छौँ, नपाउन पनि।
यस्तो छ स्थिति
जनस्वास्थ्य वातावरण प्रवद्र्धन केन्द्र नामक हाम्रो संस्थाले अनुसन्धान गर्दा नेपाली बजारमा पाइने ५२ वटा खेलौनामा यस्ता हानिकारक रसायन पाइएको छ। चीन, भारत, थाइल्याण्ड आदि देशका कागज, काठ, धातु र नरम तथा कडा खालका प्लास्टिक आदिबाट बनेका खेलौनाहरूमा विभिन्न किसिमका रसायन मिसाइएको पाइन्छ।
७१ प्रतिशत खेलौनामा कम्तीमा एउटा रसायन भएको पाइएको छ। तीमध्ये पनि नेपाल सरकारले तोकेको मापदण्डभन्दा अधिक करिब ६२ प्रतिशतले यस्ता रसायन प्रयोग गरेका पाइएको छ। मापमदण्ड भन्दा बढी तीन वटासम्म रसायनको प्रयोग हुने गरेको अध्ययनले देखाएको छ। यो तथ्यले हाम्रा बालबालिका एकदमै जोखिममा रहेको देखाउँछ।
अधिक प्रयोग हुने रसायन
खासगरी खेलौनामा प्रयोग हुने रसायनमा सिसा, क्रोमियम, र क्यडमियम पर्छन्। अनुसन्धानका क्रममा १९ प्रतिशत खेलौनामा लेड(सिसा) प्रयोग गरेको पाइयो। यस्तै आठ प्रतिशतमा क्याडमियम र ११ प्रतिशत खेलौनामा क्रोमियम प्रयोग गरेको भेटियो। सँगसँगै जिंक ६८ प्रतिशत, ब्रोमिन १६ प्रतिशत, बेरियम १४ प्रतिशत खेलौनामा रहेको खुल्यो। यी सबै हानिकारक रसायन हुन्। यी खेलौनाले बालबालिकाको स्वास्थ्यमा कस्तो असर पार्ला आफैँ विचार गर्नुस्।
यी खेलौना झनै खतरनाक!
नेपालमा आउने नरम प्लाष्टिकबाट बनेका पाँच वटा खेलौना जसमा ‘थ्यालेट्स’ भन्ने अर्को रसायनको प्रयोग हुने गरेको छ। नेपालमा यो रसायन परीक्षण गर्न प्रयोगशाला नभएकाले ताइवान पठाइएको थियो। त्यहाँ गरिएको अध्ययनपछि यस्ता खेलौनाहरूमा नेपाल सरकारले तोकेको मापदण्ड भन्दा हजारौँ गुणा बढी थ्यालेट्स प्रयोग भएको पाइयो।
यो रसायनले बालबालिको शरीरमा विभिन्न हर्मोन उत्पादन गर्ने ग्रन्थीहरूमा असर तथा प्रक्रियामा नै गडबडी ल्याउँछ। साथै क्यान्सर हुने रसायन यसमा पाइन्छ।
सावधानी पनि पढ्ने गरौँ
साधारणतय खेलौनामा सावधानीका जानकारी राखिएको हुन्छ तर बालबालिकाको शारीरिक मानसिक तथा बौद्धिक विकासलाई नै अवरोध पुर्याउने खालका रसायनहरूको बारेमा कुनै पनि खेलौनामा उल्लेख गरिएको पाइँदैन। तर खेलौनामा प्रयोग गरिने रसायनको विषयमा हरेक आमाबाबुले जानकारी राख्न आवश्यक छ। सरकारको पहिलेको र अहिलेको जुन प्रस्तावित मापदण्ड छ त्यसमा खेलौनामा प्रयोग गरेको रसायनसम्बन्धी जानकारी समावेश गर्नुपर्ने स्पष्ट बताइएको छ।
कस्तो खेलौना दिने?
बालबालिकालाई सम्भव भएसम्म घरमै उत्पादन हुने प्राकृतिक किसिमका खेलौना दिनुपर्छ। बजारबाट ल्याउनै परे कुनै पनि रंग प्रयोग नगरिएको र कम चम्किलो किसिमको खेलौना किनिदिनु पर्छ। प्लास्टिकको तुलनामा कागज, कपडा वा धातुबाट बनेका खेलौना ल्याइदिन सकिन्छ। खेलौना किनेर ल्याएपछि बालबालिकाका हातमा दिनुअघि त्यहाँ दिइएको सूचना राम्ररी पढ्नुपर्छ।
अन्तर्राष्ट्रिय नीति–नियम
नेपाल बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको साझेदार पनि हो। यसका साथै नेपलको संविधानले पनि बालबालिकाको स्वास्थ्यको अधिकारको ग्यारेण्टी गरेको छ। तर आजसम्म पनि यस्ता घातक रसायनयुक्त खेलौनाहरू नेपाली बजारमा छ्याप्छ्याप्ती पाइनु र बालबालिकाका हातमा पुग्नु दुर्भाग्यपूर्ण अवस्था हो।
हाम्रो काम
जनस्वास्थ्य वातावरण प्रवर्धन केन्द्रले चौध वर्षदेखि विभिन्न रसायन सुरक्षाको क्षेत्रमा काम गर्दै आएको छ। विशेषगरी बालबालिकाले दैनिकजसो खेल्ने खेलौनाहरूले स्वास्थ्यमा पार्ने प्रभावबारेको अध्ययन दुई वर्षदेखि गर्दै आएको छ। त्यही अध्ययनको सारबाट हामीले निष्कर्ष निकालेका हौँ, ‘हिजोआज बालबालिकाले प्रयोग गर्ने अधिकांश खेलौना उनीहरूको स्वास्थ्यका लागि हानिकारक छन्।’
रामचरित्र साह, वातावरण वैज्ञानिक
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights