डा सुकान्तिलाई प्रश्न : के गर्भावस्थामा देखिएको मधुमेह पछिसम्म रहिरहन्छ ?

हेल्थ टिभी अनलाइन : रगतमा चिनीको मात्रा आवश्यकताभन्दा बढी भएको अवस्थालाई मधुमेह भनिन्छ । यो हाम्रो अस्वस्थकर जीवनशैली तथा खानपानसँग सम्बन्धित रोग हो । यदि यो रोग गर्भवती महिलाहरुमा देखिन्छ वा गर्भावस्थामा मधुमेह हुन्छ भने त्यसलाई जेस्टेसनल डायबेटिज अर्थात गर्भावस्थाको मधुमेह भन्ने गरिन्छ । जेस्टेसनल डायबेटिज गर्भावस्थामा मात्र देखिने मधुमेह हो ।
महिलाका लागि गर्भावस्था एक विशेष अवस्था हो । यो बेला महिलाको शरीरमा विभिन्न हर्मोनमा परिवर्तन हुन्छ जसले गर्दा शरीरमा कयौं परिवर्तन आउने गर्छन्। यही हर्मोनहरुमा आएको परिवर्तमध्ये शरीरमा ब्लड सुगरको मात्रा बढ्नु पनि हो । त्यसो त यो अवस्थामा महिलामा उच्च रक्तचाप, तनाव, मोटोपना लगायतका समस्या पनि बढी देखिने गर्छन ।
यहाँ याद गर्नुपर्ने कुरा कुनै पनि महिला यदि गर्भवती हुँदैछिन भने उनलाई गर्भावस्थामा मधुमेह हुने सम्भावना रहिरहन्छ । किनकी यो विशेष अवस्था हो । त्यसमा पनि विशेषगरी ३० वर्ष भन्दा बढी उमेरका महिला, पहिले पनि गर्भावस्थामा मधुमेह देखिएका महिला, , परिवारमा पहिले कसैलाई मधुमेह भएमा वा गर्भावस्थामा अत्यधिक वजन बढेमा पनि त्यस्ता महिलालाई गर्भावस्थामा मधुमेह हुने जोखिम अन्यको तुलनामा उच्च हुने गर्छ ।
गर्भावस्थामा मधुमेह हुने समय सामान्यतया ४ देखि ५ महिनापछि हो । त्यसैले सामान्यभन्दा फरक केही लक्षण देखिनासाथ जाँच गराउने र चिकित्सकको सल्लाह लिनुपर्ने हुन्छ । गर्भावस्थामा मधुमेह हुनु भनेको आमा र बच्चा दुबैका लागि जोखिम हो । त्यसैले यसको बेलैमा उपचार गरेर सुगर नियन्त्रणमा राख्नुपर्ने हुन्छ । स्मरण रहोस ९० प्रतिशत गर्भावस्थाको मधुमेह जेस्टेसनल डायबेटिज बच्चा जन्मेको एकदेखि डेढ महिनामा आफै हराएर जान्छ । १० प्रतिशतमा भने यो मधुमेह टाइप २ डाइबेटिजमा परिणत हुनपुग्ने तथ्यांक रहेको छ ।
अर्को कुरा जसलाई गर्भावस्थामा मधुमेह देखिएको छ उनीहरुलाई पछि गएर मधुमेह हुने सम्भावना रहिरहन्छ । त्यसैले यस्ता व्यक्तिले आफनो सुगर लेबलको जाँच समय समयमा गरिरहनुपर्छ । गर्भावस्थामा मधुमेह देखिंदैमा आत्तिन पर्दैन । स्वस्थकर खानेकुरा खाने, चिकित्सकको सल्लाह बमोजिम औषधि तथा इन्सुलिनको प्रयोग गर्ने, हल्का व्यायाम गर्ने तथा तनाव नलिने गरेमा यसको व्यवस्थापन गर्न सकिन्छ ।
(मधुमेह रोग विशेषज्ञ डा सुकान्ति शाह आरुस लाइफस्टाइल अस्पतालमा कार्यरत छिन्।)
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा
पत्रकार ज्योति शाहको क्यान्सर उपचारका लागि सहयोग जुट्दै