बालबालिकाको दाँत कसरी जोगाउने ?

हेल्थ टिभी अनलाइन : शहरी क्षेत्रमा धेरैजसो अभिभावक बालबालिकालाई खुशी पार्न जंकफुडका साथै विभिन्न किसिमका पेय पदार्थ, क्याण्डी र आइसक्रिम किनिदिन्छन्। बच्चालाई फकाउन वा खुशी पार्न यी खानेकुरा अचेल आमाबाबुका गतिलै सहारा बन्ने गरेका छन्। केही क्षणको खुशीले जीवनभर पीडा दिनसक्ने तथ्यलाई भने धेरैले नबुझेको वा बुझेर पनि आँखा चिम्लेजस्तो देखिन्छ। किनभने अत्यधिक गुलिया पदार्थले मोटोपना बढाएर विभिन्न रोगको जोखिम त बढाउँछ नै, दाँतका लागि पनि यी पदार्थ घातक छन्।
बालबालिकाको हातमा चकलेट थमाइदिने चलन अचेल गाउँगाउँमा पुगिसकेको छ। बच्चालाई फकाउन वा खुशी पार्न गुलिया पदार्थ किनिदिने अभिभावकले त्यस्ता पदार्थ खाएपछि दाँत कुल्ला गर्नुपर्छ भन्नेचाहिँ सिकाउँदैनन्। फलस्वरूप सानैमा दाँत किराले खान्छ। अर्को कुरा दाँतका लागि अत्यधिक चिसो र अत्यधिक तातो दुवै हानिकारक हुन्छ। आइसक्रिम अत्यन्तै चिसो हुन्छ। यस्ता चिसो पदार्थ दाँतका लागि एकदमै हानिकारक हुन्छन्। नियमित खाँदा निश्चित अवधिपछि यसले दाँतको टल्किने भाग नष्ट गर्नेदेखि दाँत सिरिङ्ङ बनाउनेसम्म गराउँछ।
बच्चाको दाँत बिग्रिने चरणमा पुग्दा शुरुमा कालो दाग देखिन्छ। तर दुखाइको महशुस धेरै हुँदैन। केही समयपछि दाँतमा खाल्टो पर्छ। सिरिङ्ङ महशुस हुन्छ। खाना चपाउँदा पनि दुखाइ महशुस हुन्छ। दाँतमा हुने पीडाले शारीरिक पीडा त छँदैछ, सौन्दर्यमा समेत असर पार्छ।यसले मानसिक पीडासमेत थप्छ।
हाम्रो शरीरका अन्य अंग जस्तै दाँतको महत्त्व कम छैन। खाना चपाउनेदेखि अनुहारको सौन्दर्य कायम राख्न यसको ठूलो भूमिका हुन्छ। यति महत्त्व बोकेको दाँतमा हेलचेक्र्याइँ गर्नु अवश्य पनि राम्रो होइन। त्यसैले बालबालिकालाई दाँतका दुश्मन मानिने खानेकुरामा ‘कन्ट्रोल’ गर्नुको विकल्प छैन। साथै बालबालिकालाई नियमित दुईपटक दाँत माझ्न लगाउनुपर्छ। बिहान र बेलुकीको खाना खाइसकेपछि अनिवार्य रूपमा आफूले पनि र बच्चालाई ब्रस गर्न लगाउने हो भने दाँत किराले खाने समस्याबाट मुक्ति पाउन सकिन्छ। दाँतलाई हानि गर्ने भनिएका पदार्थबाट टाढै रहन लगाउनुपर्छ।
यसैगरी गरी वेलावेलामा दन्त चिकित्सककोमा पुगेर जाँच गराउने हो भने सानै उमेर दाँतसम्बन्धी पीडा लिएर बस्नुपर्दैन।
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights
नि:शुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न