Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

मोटोपन बढ्न नदिन बेलुकाको खाना सुत्नुभन्दा ३ घण्टा अघि खाइसक्नुपर्छ

मोटोपन बढ्न नदिन बेलुकाको खाना सुत्नुभन्दा ३ घण्टा अघि खाइसक्नुपर्छ

बिनिता पन्त, डाइटिसियन

तपाइँ हामी मोटायौं, वजन बढ्यो भन्ने निकै चिन्तामा हुन्छौं । त्यही अनुसार विभिन्न किसिमका खानेकुरामा बन्देज पनि लगाउँछौं । तर यति हुँदा पनि वजन कम हुँदैन । किन होला त ? सबैकाे एउटै प्रश्न हुन्छ । हो हामीले वजन घटाउनका लागि खानेकुरामा केही कमी गर्नैपर्छ । जे पायो त्यही खानेकुरा जुन बेला पनि खान हुँदैन । तर यहाँ बुझ्न पर्ने कुरा के हो भने हामीले बिहान वा दिउँसो खाएको खानेकुरा दिनभरीको काम, हिंडाई र दौडधुपले सजिलै पच्न सक्छ । तर रातीको खाना धेरै ढिलो खाने र तुरुन्त सुत्ने हो भने उक्त खाना शक्तिमा परिणत नभई फ्याटको रुपमा बस्न पुग्छ र प्रत्येक दिन त्यही क्रम रहेमा मोटोपन अझ बढेर जाने हुन्छ । त्यसैले यहाँनेर बुझ्नुपर्ने कुरा रातीको खाना पहिलो त कम र हलुका खाने साथै सुत्नुभन्दा कम्तीमा पनि ३ देखि ४ घण्टा अघि नै खाइसक्नु पर्छ । यसो गर्दा खाएको खानेकुरा बोसो बनेर बस्न पाउँदैन राम्ररी पाचन हुन पनि सजिलो हुन्छ ।

नेपालमा धेरै जनाले जानेर वा नजानेर रातीको खाना त मजाले खानुपर्छ भनेर ढिलाे गरी टन्न खाने र खाने बित्तिकै सुत्ने गरेको पाइन्छ । धेरैको जवाफमा सबै परिवार बिहान अफिस, काम, बच्चा भए विद्यालय जान हतार हुन्छ । कम्तीमा राती त सँगै बसेर सबैले मजाले खाउँ भन्ने हुन्छ । उहाँहरुले भनेको त ठिकै हो तर वास्तवमा बिहानको खाना मजाले खाएर रातीको खाना घटाउने र सुत्नुभन्दा कम्तीमा ३ घण्टा पहिल्लै खाएमा मोटोपन हुने सम्भावना निकै कम भएर जान्छ । यसरी खाना खाएपछि घर वरपर टहलिने, हिंड्ने गरेको राम्रो ।

अर्को कुरा मोटोपन घटाउने नाममा शरीरलाई नभई नहुने खानेकुराहरु चटक्कै छोड्न हुँदैन । यसले पछि गएर शरीरमा अन्य समस्या निम्तिन सक्छन्। त्यसैले विशेषज्ञ डाक्टर तथा डाइटिसियनसँग सल्लाह गरेर कसले कस्तो उपाय अपनाउने भन्ने बुझेर मात्र खानाहरु बारेको राम्रो हुन्छ । खानामा काब्रोहाइड्रेड मात्र धेरै राख्न हुँदैन यसमा सबै खालका खानेकुरा मिलाएर खाएको राम्रो ।

अहिले हामी बीच अत्यन्तै प्रचलित वजन घटाउन मद्दत पुर्याउने पद्दति हो इन्टरमिटेन्ट फास्टिङ हो । धेरै जनाले यो पद्धती अपनाएको पाइन्छ । यो भनेको व्रत बसे सरह नै हो। यो विशेष गरी २ \३ तरिकाको हुन्छ । तपाईलाई कुन तरिका सजिलो हुन्छ भन्नेमा भर पर्ने कुरा हो। यस मध्ये सबै भन्दा बढी प्रचलित भनेको १६ः ८ तरिका हो। जसमा हामीले १६ घण्टा कुनै पनि खाना नखाने र ८ घण्टाको अन्तरालमा खाने हुन्छ । यो भनेको ८ घन्टा खाने १६ घन्टा नखाने हो । दोस्रो भनेको ५ः २ तरिका हो। जसमा हामीले हप्ताको ५ दिन टन्न खान मिल्छ भने हप्ताको दुई दिन एकदमै थोरै खाना खान मिल्छ त्याे पनि एकदमै कम क्यालोरी भएका खाने कुराहरु।

दिनभरिको तुलनामा रातीको खानाले हाम्रो शरीरमा फ्याटको मात्रा बढाइरहेको हुन्छ। त्यसैले रातीको खाना खाँदा कम क्यालोरी भएको र सजिलै पच्न सक्ने खाने कुरा खान सल्लाह दिइन्छ । रातीको खाना ढिलाे र धेरै खाँदा अपच हुने त छँदैछ, शरीरमा आवश्यक्ताभन्दा बढी क्यालोरी जम्मा भएर वाेसाे बन्ने र मोटोपन बढ्ने हुन्छ ।

अहिले धेरै जना वजन कसरी छिटो घटाउन सकिन्छ भनेर चिन्ता गरेको त पाइन्छ तर सबैले सही तरिका अपनाए जस्ताे लाग्दैन।  मानिसहरुले आफू खुशी फास्टिङ गरेको पनि पाइन्छ। जुन चाँहि तुरून्त  नभए पनि पछि गएर समस्याहरु निम्त्याउने गरेको पाइन्छ। वजन घटाउँदा महिनामा ३\४  केजीसम्म  घटाएको उचित हुन्छ। एकैपटक धेरै ताैल घटाउनु  स्वास्थ्यका हिसाबले राम्रो हाेइन ।

हामीले परम्परागत रुपमा खाने सबै खानकुरा हाम्रो शरीरलाई चाहिने खानेकुरा नै हुन्। जुनसुकै खाना पनि उचित मात्रा मिलाएर खाएको राम्रो हुन्छ।

हेल्थ टिभी अनलाइनकी संवाददाता सिम्पल आचार्यले डाइटिसियन पन्तसँग गरेको कुराकानीमा आधारित: 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।