सुन्दर र चम्किलो अनुहारका लागि ‘हाइड्रो फेसियल’ गर्ने कि ?

डा. धर्मेन्द्र कर्ण
गर्मी होस् वा जाडो छालाको हेरचाह सबै मौसममा गर्नुपर्ने हुन्छ । छालालाई स्वस्थ, नरम र सुन्दर राखिरहनका लागि विभिन्न उपचार विधिहरु अपनाउन सकिन्छ । पहिलो कुरा त आफनो छालाको स्याहार आफैले घरमा दैनिक रुपमा गर्न जरुरी हुन्छ । बिहान उठेपछि सफा पानीले मुख धुने, मोस्चराइजर क्रिमको प्रयोग गर्ने तथा बाहिर निस्कन परे पनि वा नपरे पनि सन ब्लक लगाउने बानी गर्नुपर्ने हुन्छ । त्यसैगरी दिनभरीको थकान, धुलो धुवाँले अनुहारको छालालाई डल बनाउँछ । त्यसैले अनिवार्य रुपमा मेकअप सफा गर्ने तथा मोस्चराइजर क्रिम लगाउने गर्नु राम्रो हुन्छ । यसका साथै आफनो अनुहार अनुसार नाइट क्रिम लगाउन सकिन्छ । यी त भए घरमै गर्न सकिने उपायहरु । यसबाहेक विभिन्न उपचार विधिबाट पनि अनुहारको छालालाई चम्किलो र स्वस्थ राख्न सकिन्छ ।
ती मध्ये छालालाई चम्किलो, नरम, सुन्दर र टाइट राख्नका लागि हाइड्रो फेसियल उपयुक्त विधि मानिन्छ । हाइड्रो भनेको पानी र फेसियल भनेको मसाज हो । यो मसाज विशेष मेशिनबाट गरिन्छ । हाइड्र्रो फेसियलमा एकैपटक ६ देखि ८ वटा विधिहरु मार्फत उपचार गरिने हुँदा यो सबै खालका छालाका लागि उपयुक्त मानिन्छ ।
हाम्रो छालामा उमेरसँगै केही परिवर्तनहरु हुँदै जान्छ । यसलाई समयमै मेन्टेन गरियो भने उमेर अघि नै देखा पर्ने चाउरीपना, कालोपोतो वा दाग धब्बाबाट बच्न सकिन्छ । त्यसका लागि समय समयमा हाइड्रो फेसियल गर्नु आवश्यक हुन्छ । त्यसो त अन्य पिलिङ वा फेसियल लगायतका उपायहरु पनि छन्। तर यो विधिबाट धेरै कुरा एकैपटक गर्न सकिने भएकाले यो विधि धेरैले रुचाएको पाइन्छ ।
के हो हाइड्रो फेसियल ?
छाला स्वस्थ राख्नका लागि गरिने सामान्य फेसियलमा छालालाइ सफा मात्र गर्ने काम हुन्छ भने हाइड्रो फेसियलमा एकैपटकमा छाला सफा गर्ने, छिद्रहरु खोल्ने, स्किन टाइट गर्ने, मोस्चराइज गर्ने तथा एन्टि एजिङ ट्रिटमेन्ट गर्ने गरिन्छ । त्यसैले एउटै सिटिङमा धेरै काम गर्न सकिन्छ यो फेसियलमा । हाइड्रो फेसियलमा ६ देखि ८ वटा प्रोबहरु प्रयाग गरेर फेसियल गरिने हुनाले छालालाई चाहिने मोस्चराइजर क्रिम पठाउनेदेखि एन्टिएजिङ र स्किन टाइटनिङ सम्मको काम गरिने हुँदा धेरैले यसलाई रुचाएको पाइन्छ र धेरै जना यही उपचार विधि गर्न चाहन्छु भनेर आउनुहुन्छ । यो ३ हप्तादेखि एक महिनाको वीचमा नियमित गर्न सकिन्छ । रिजल्ट पनि तुरुन्त आउने हुँदा यसको डिमान्ड पनि पछिल्लो समय निकै बढ्दो छ ।
सामान्यतया नियमित रूपमा गरिने हाइड्र्रो फेसियलले छालालाई पोषकतत्व पुर्याउँदै छालालाई चाउरी पर्न नदिई विभिन्न विकारबाट बचाउँछ । यो जुनसुकै उमेरमा पनि गर्न सकिन्छ । तर अनुहामार डन्डीफोर, घाउ खटिरा वा एलर्जी छ भने त्यस्ता व्यक्तिलाई हाइड्रो फेसियल गरिंदैन्। उनीहरुको त्यो समस्या अन्य उपचार विधिबाट निको पारिसकेपछि मात्र हाइड्र्रो फेसियल गर्न मिल्छ ।
हाइड्र्रो फेसियल गर्न लगभग आधा घण्टा लाग्छ । अनुहारको फोहोरमैला हटाएर छालामा चमक बढाउन हाइड्रो फेसियल महिलाहरूको पहिलो रोजाइमा पर्ने गरेको छ । यसले तुरुन्त रिल्याक्स फिल गराउँछ । हाइड्रो फेसियल नियमित गर्ने हो भने उमेरसँगै आउने चाउरीपना तथा दागहरुबाट मुक्त हुन यसले मद्दत गर्छ । हाइड्र्रो फेसियल अनुहारको चमक बढाउन, छालालाई ताजा र स्वस्थ राख्नका लागि गरिन्छ । प्रायः तुरुन्त रिजल्ट चाहिनेहरुमा यो फेसियल गरिन्छ । यसले सुन्दरता झनै निखार्छ । तुरुन्तै रिजल्ट चाहिनेका लागि यो फेसियल उपयुक्त हुन्छ । पार्टीमा जाँदा वा कुनै इभेन्टमा जानुपरेमा हाइड्रो फेसियल गर्न सकिन्छ ।
समग्रमा फेसियल छाला कसिलो बनाउन र अनुहारको चमक बढाउनका लागि गरिन्छ । तर हाइड्रो फेसियल एन्टी एजिङका लागि पनि उपयोगी मानिन्छ । साथै यसले नयाँ कोशिकाहरू विकसित गरी छाला कस्ने र हाइड्रेड गर्ने काम गर्छ । यसले लामो समयसम्म छालालाई जवान राख्न पनि मद्दत गर्छ । हाइड्रोको अर्को महत्वपूर्ण काम भनेको घामको कारणले डढेको वा बिग्रिएको छालालाई पुनः निर्माण पनि गर्ने काम गर्छ र छालामा चमक ल्याउँछ । त्यसैले बढ्दो उमेरकाहरुले यो फेसियल गर्नु उपयुक्त हुन्छ ।
( प्राडा. कर्ण वरिष्ठ छाला रोग तथा सौन्दर्य विशेषज्ञ हुन्।)
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights