माघे संक्रान्तिका परिकार र मानव स्वास्थ्य

माघे (मकर) संक्रान्तिका दिन उसिनेको तरुल, घिउ, चाकु, तिलको लड्डुका साथै खिचडी बनाएर खाने चलन नेपाली संस्कृतिमा छ। चिकित्सकका अनुसार साँस्कृतिक दृष्टिले मात्र नभई मानव शरीर स्वस्थ राख्न यी खानेकुरा महत्त्वपूर्ण छन्।
जाडो अर्थात् चिसोले आक्रान्त हुने महिना हो माघ। यही चिसोले शरीरमा पारेको असरबाट मुक्ति पाउन यी खानेकुरा खाइन्छ। ऋतुअनुसारको जीवनचर्या अपनाउने र त्यसअनुसारको खानपान गर्ने गरे स्वास्थ्यरक्षा हुने उल्लेख आयुर्वेदमा छ।
एक ऋतु सकिएर अर्को लाग्दा पहिले गरिएका खानपान र दिनचर्या परिवर्तन गरी नयाँ शैली अपनाउनुपर्ने निर्देश आयुर्वेदले गरेको डा. सम्मोद आचार्य बताउँछन्। उनका अनुसार मौसमअनुसारको खानपान गरे वा जीवनयापन गरे मानिस स्वस्थ रहने र चाहेअनुरूप पुरुषार्थ गर्नसक्ने उल्लेख छ।
जाडो महिनामा शरीरलाई उष्णता प्रदान गर्ने घिउ, गुड र तिलबाट बनेका पदार्थ खाने निर्देश पनि आयुर्वेदअन्तर्गतका शास्त्रमा उल्लेख छ। ‘जाडोभर तातो र मधुर पदार्थ खान आयुर्वेदले निर्देश गरेको छ’, डा. आचार्य भन्छन्। हिजोआज माघे संक्रान्तिका दिन मात्र खाइने घिउ, चाकु, तिलका लड्डु र खिचडी मात्रा मिलाएर जाडो रहुञ्जेल नै खानुपर्ने उनको भनाइ छ।
र चिकित्सकका अनुसार तरुलमा कार्बोहाइड्रेट हुन्छ। यसले शरीरलाई शक्ति प्रदान गर्छ। चाकुमा पर्याप्त मात्रामा क्याल्सियम र आइरन हुन्छ। यसैगरी चामल, दाल र घिउ मिलाएर बनाइएको खिचडीले शरीरलाई चाहिने प्रोटिन र चिल्लो पदार्थ पूर्ति गर्छ।
जाडोको बेला यस्ता खानेकुराले रोगसँग लड्नसक्ने शक्ति बढाई उर्जा प्रदान गर्ने जनस्वास्थ्यविज्ञ डा. अरुणा उप्रेती बताउँछिन्। ‘पूर्वजहरूलाई वैज्ञानिक महत्त्वबारे ज्ञान नभए पनि स्वास्थ्यलाई फाइदा पुर्याउँछ भन्ने सोचले नै यस्ता खानेकुरा खाने चलन चलाएको हुन सक्छ’,उनी भन्छिन्।
संस्कृतिसँग जोडिएर आउने यस्ता खानेकुरा चाडबाडमा मात्र होइन मौसमअनुसार प्रत्येक दिन खाने गर्न जरुरी रहेको चिकित्सकहरू बताउँछन्। माघे संक्रान्तिजस्ता पर्वले घरआँगनमै पाइने स्वस्थकर खाना खाने बानी शुरु गर्न झक्झकाउने डा. उप्रेतीको बुझाइ छ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights