बच्चा मोटोघाटो देख्दा खुशी हुने कि दु:खी?
बच्चा मोटोघाटो देख्दा खुशी नहुने अभिभावक को होला र! बच्चा कमजोर होलान् भनेर धेरैभन्दा धेरै खानेकुरा ख्वाउने गरेको देखिन्छ।
उनीहरूलाई बिहान उठेदेखि बेलुकी सुत्ने वेलासम्म पटक पटक ख्वाइन्छ। घरका खानाबाहेक चाउचाउ, चाउमिन, चिजबल, चकलेट, मम, पिज्जाजस्ता खानेकुरामा जोड दिइन्छ।
खानाअनुसार उनीहरूलाई शारीरिक परिश्रम पर्दैन। धेरै समय स्कुलमा बिताउँछन्। घर फर्केपछि होमवर्क। त्यसपछि कम्प्युटर, मोबाइल र टेलिभिजन।बाहिरी खेलहरू खेल्दैनन्। एकोहोरो खाना त्यसमाथि घरभित्र मात्रै रहने भएकाले उनीहरू मोटाउँदै गएका छन्।
कतिपय आमाबाबु बच्चा मोटोघाटा छन् र निरोगी छन् भनेर खुशी हुन्छन्। तर त्यसो होइन। मोटोपन आफैमा रोग हो । शरीरमा जम्ने अतिरिक्त बोसोले मोटोपन ल्याउँछ । मोटोपनले शरीरका भित्री अंगहरुको कार्य संचालनमा बाधा पुर्याउँछ ।
मोटोपनको कारण अहिले बच्चाहरुमा मधुमेहको समस्या ल्याउँछ। उनीहरु जति जति ठूलो हुँदै जान्छन्, उत्तिनै रोगले समात्ने सम्भावना रहन्छ । डिप्रेसन, हृदयरोग र मृगौलाको समस्या हुने खतरा रहन्छ ।
बच्चाको उमेर, उचाइ अनुसार तौल निर्धारण हुन्छ। यदि यसको सन्तुलन नमिलेमा वा उचाई र उमेर अनुसार आवश्यकभन्दा बढी तौल भएमा मोटोपन भएको भनेर बुझ्नुपर्छ।
अहिलेका बच्चाहरू मोटाउने प्रमुख कारण शारीरिक निष्क्रियता र भनेको जंकफुड हो। आमाबुवाले बच्चाको खानपानमा ध्यान दिनुपर्छ। घरबाहिरको खानामा नियन्त्रण गर्नुपर्छ। चाउचाउ, चिजबल, बर्गर, पिज्जा, मम, चाउमिन जस्ता बजारका खानेकुरा दिनुहुँदैन। सम्भव भएसम्म घरमै बनाएर दिनुपर्छ।
बच्चालाई तालिका मिलाएर खानेकुरा दिनुपर्छ। खानपान व्यवस्थित भएमा पचाउन पनि सहज हुन्छ। सही समयमा सही किसिमको खानपानले मोटो हुन दिँदैन।
टिभी वा माेबाइलमा कार्टुन हेर्दै स्न्याक्स खाने बानी हटाउनुपर्छ। बच्चालाई शारीरिक रूपमा सक्रिय राख्नुपर्छ। एकै स्थानमा बसिरहने, पढिरहने र टिभी–माेबाइल हेरिरहने बानी हटाउनुपर्छ। बच्चाहरूलाई सकेसम्म घरबाहिरका गतिविधिमा लगाउनुपर्छ। व्यायाम, बाहिरी खेलकुद, भान्सा र बगैँचाका काममा आफूसँग सक्रिय राख्नुपर्छ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’