मिर्गौला ८० प्रतिशत बिग्रदा समेत लक्षण नदेखिन सक्छ, नियमित परीक्षण नै यसबाट बच्ने उपाय हो

हेल्थ टिभी अनलाइन : मानव शरीरको महत्त्वपूर्ण अङ्गमध्ये एक हो, मिर्गौैला । मिर्गौलामा विभिन्न कारणले गर्दा रोग लाग्न सक्छ । नेपालमा पनि मिर्गौला रोग बढ्दै गएको पाइन्छ । यो कस्तो रोग हो ? यसबाट बच्न कस्ता उपायहरु अपनाउन सकिन्छ भन्ने विषयमा त्रिवि शिक्षण अस्पातल महाराजगंजमा कार्यरत वरिष्ठ मिर्गौला रोग विशेषज्ञ प्राडा दिव्या सिंह शाहसँग हेल्थ टिभी अनलाइनले गरेको कुराकानी :
मानव शरीरमा मिर्गौैलाकाे मुख्य काम के हो ?
मानव शरीरको महत्त्वपूर्ण अङ्गमध्ये एक हो, मिर्गौैला । यसले हाम्रो शरीरका विकारयुक्त कुराहरु बाहिर फाल्ने,शरीरमा पानीको सन्तुलन मिलाउने, शरीरलाई चाहिने हर्मोन उत्पादन गर्ने, ग्लुकोजको व्यवस्थापन गर्नेलगायतको काम गर्छ। मिर्गौलाको अर्को प्रमुख काम भनेको रगतमा भएको फोहोर पदार्थ र बढी भएको पानीलाई छानेर पिसाबको माध्यमबाट बाहिर पठाउनु हो । यसले नै शरीरमा तरल पदार्थ र लवणको मात्राको सन्तुलन कायम गर्ने काम गर्छ । त्यसैले शरीरलाई अत्यावश्यक हुने विभिन्न तत्त्वको मात्रा व्यवस्थापन गर्ने काम गर्छ मिर्गौलाले । मिर्गौलाले चाहिने मात्रामा मात्र पानी शरीरमा राख्छ र अनावश्यक भएमा शरीरबाट पिसाबको रुपमा निकाल्ने काम गर्छ।
तर यही मिर्गौला बिग्रेमा भने यसले जीवनभर जटिल उपचार गराउनुपर्ने बाध्यता गराउँछ भने उपचार समयमै नहुँदा ज्यानै समेत जान्छ । मिर्गौला रोगको नराम्रो पक्ष भनेको यो ८० प्रतिशत बिग्रदासम्म कुनै लक्षण नै नदेखिन सक्छ । तर जब लक्षण देखिन थाल्छ त्यसबेला मिर्गौला फेल भइसकेको हुन्छ ।
मिर्गौला बिग्रने प्रमुख कारण के हो ?
मिर्गौला बिगार्ने धेरै कारणहरु छन् तर अहिलेसम्मका प्रमुख कारणहरुमध्ये मधुमेह र उच्च रक्तचाप नै हुन्। यदि कसैमा उच्च रक्तचाप र मधुमेह रोग छ भने उनीहरु मिर्गौाला रोग लाग्ने उच्च जोखिम समूहमा पर्छन्। उनीहरु बढी सतर्क हुन जरुरी हुन्छ । कहिलेकाही उच्च रक्तचाप र मधुमेहले पनि लक्षण नदेखाउने भएकाले यी रोगले भित्र भित्र मिर्गौला बिगारिरहेको हुनसक्छ । नेपालमा पहिलोपटक सन् २००८ मा त्रिवि शिक्षण अस्पताल महाराजगंजमा मिर्गौला प्रत्यारोपण सेवा सुरू गर्दा भन्दा अहिले परीक्षण बढेसँगै मिर्गौलाको रोग पनि बढिरहेको छ । बढ्दो शहरीकरणसँगै खानपान र जीवनशैली परिवर्तन भएर होला मिर्गौला रोगीको संख्या प्रत्येक वर्ष बढ्दो क्रममा नै देखिएको छ । नेपालमा पनि धेरैजसो मिर्गौला बिग्रने कारणमध्ये उच्च रक्तचाप र मधुहमेह नै देखिएका छन्। यी रोग भएका व्यक्तिहरुमा अन्यको तुलनामा धेरै गुणा बढी मिर्गौला फेल हुने जोखिम रहन्छ ।
अन्य कारणले पनि मिर्गौला बिग्रने हुन्छ ?
हो, अन्य कारणहरुले पनि मिर्गौला फेल हुन सक्छन्। उच्च रक्तचाप भएका व्यक्तिमा मिर्गौला फेल हुने सम्भावना अन्यको तुलनमा बढी हुन्छ । धेरै जनालाई आफूलाई मधुमेह रोग लागेको थाहा पाउँदा मिर्गौला समेत बिग्रिसकेको हुन्छ । मिर्गौला जोगाउन अनिवार्य रुपमा सुगर नियन्त्रणमा हुनैपर्छ । यसैगरी पिसाबमा प्रोटिन लिक हुनु, मिर्गौला बिग्रने अर्को कारण हो । पिसाबमा अत्यधिक प्रोटिन चुहिने समस्या देखियो भने पनि यस्तो जोखिम बढ्छ। यो समस्या लामो समयसम्म रहेमा र उपचार नगरेमा यसले मिर्गौला फेल गराउँछ । अर्को जथाभावी पेनकिलरको प्रयोगले पनि मिर्गौलालाई असर गर्छ । वंशाणुगत कारणले पनि मिर्गौला फेल हुन सक्छ । यदि परिवारमा कसैलाई मिर्गौला रोग पहिल्यै नै छ भने त्यस्ता परिवारका अन्य व्यक्तिहरुलाई पनि यसको जोखिम हुने गर्छ । हरेकले मिर्गौलामा समस्या छ भनेर कसरी थाहा पाउने भन्ने जान्न जरुरी छ ।
मिर्गौला बिग्रेको कसरी थाहा पाउने ? कस्ता लक्षण देखिन्छन् ?
मैले अघि नै भनिसके मिर्गौला ८० प्रतिशत बिग्रदा समेत यसको कुनै लक्षण नदेखिन सक्छ । तर केही लक्षणहरूले हामीलाई मिर्गौलामा समस्या भएको संकेत गर्न सक्छन्। जस्तै, पिसाबमा गर्दा फिँज देखिनु, पिसाब धमिलो हुनु, पटक पटक पिसाब लाग्नु, , पिसाब फेर्न राति उठिरहनुपर्ने, पिसाब फेरिसक्दा समेत निख्रेजस्तो नलाग्ने, खुट्टा सुन्निने, सुतेर उठ्दा आँखाको डिल सुन्निनु भएमा सतर्क हुनुपर्छ। मिर्गौलाले काम गर्न छाडेपछि उपचार जटिल र महँगो हुन्छ। त्यसैले सुरुमै केही चनाखो हुँदा भविष्यमा हुन सक्ने जटिल समस्या टार्न सकिन्छ। पत्थरीका कारण मिर्गौला फेल भएमा धेरै कोखा दुख्नु, बिहान उठ्दा आँखाको डिल सुन्निनु, खुट्टाको गोलीगाँठा सुन्निन थाल्ने जस्ता थप लक्षण देखिन सक्छन्। यो भनेको मिर्गौलामा केही समस्या भइरहेको संकेत हो। तर धेरैले यस्ता लक्षणको वेवास्ता गरेको पाइन्छ ।
मिर्गौला रोगबाट बच्न के गर्न सकिन्छ ?
यसबाट बच्न ३० वर्ष पुगेका हरेक व्यक्तिले रक्तचाप, पिसाब र रगतको परीक्षण गरिरहनुपर्छ। माथि उल्लेखित लक्षणहरु मध्ये कुनै पनि लक्षण देखा परेमा सम्बन्धित चिकित्सकको परामर्श लिनुपर्छ। मिर्गौलालाई स्वस्थ राख्न स्वस्थ आहार र नियमित शारीरिक व्यायाम गर्नु त पर्छ नै जथाभावी वा बिना परामर्श दुखाइ कम गर्ने औषधि र एन्टिवायोटिकको प्रयोग गर्नु हुँदैन। यस्ता औषधिले मिगौंला बिगार्ने काम गर्छन्। मिगौला रोगको जेखिममा भएका वा नभएका सबैले धुम्रपान र मद्यपानबाट टाढै रहनु पर्छ। सन्तुलित भोजन गर्नुपर्छ साथै जंक फुडलाई बन्द गर्नुपर्छ। यसका अलावा पानी प्रशस्त पिउने गर्नुपर्छ । पानीले मिर्गौला स्वस्थ राख्न मदद्त गर्छ । खासगरी मिर्गौला खराब हुने उच्च जोखिममा भएका व्यक्तिहरु उच्च रक्तचाप, मधुमेह र पहिलेदेखि वंशाणुगत मिर्गौला सम्बन्धी समस्या भएका परिवारले भने नियमित परीक्षण गर्नु अनिवार्य हुन्छ। सकेसम्म रक्तचाप, पिसाब र रगतको वर्षेनी परीक्षण गर्नुपर्छ। यसो गर्दा मिर्गौला सम्बन्धी समस्या देखिएमा तत्काल चिकित्सकको परामर्श लिएर उपचार गर्न सकिन्छ ।
यी उपायहरु अपनाएर मिर्गौला स्वस्थ्य राख्न सकिन्छ :
–आफूलाई सक्रिय र तन्दुरुस्त राख्ने
–दैनिक रुपमा व्यायाम गर्ने
–मधुमेह छ भने नियन्त्रणमा राख्ने
–आफूखुशी पेनकिलर औषधि नखाने
–सधैं स्वस्थ र पौष्टिक खानेकुरा खाने
–धूमपान र मद्यपान नगर्ने
–उच्च रक्तचाप भएमा नियन्त्रणमा राख्ने
–पानी प्रशस्त पिउने
–समयमा सुत्ने र उठ्ने बानी गर्ने
–वर्षको एकपटक मिर्गौला परीक्षण गर्ने
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा
पत्रकार ज्योति शाहको क्यान्सर उपचारका लागि सहयोग जुट्दै