आइओएमकी डीन डा दिव्या भन्छिन्, यसपाली दसैंमा ‘नो सपिङ, नो ग्यादरिङ’

नेपालीहरुको महान चाड विजयादशमी प्रत्येक वर्ष विशेष रौनक लिएर आउने गर्छ । तर यसपटक भने विश्वलाई नै त्रसित बनाएको कोरोना भाइरसको महामारीका कारण दसैंको खासै रौनकता देखिएको छैन्। नेपालमा पनि कोरोना महामारीका कारण धेरै जना यसपटक दसैं शुरु भइसक्दा पनि मनाउने नमनाउने वा कसरी मनाउने भन्ने अन्यौलमा परेको देखिन्छ । केही दिन अघि मात्र कोरोना संक्रमण भएर यसलाई जित्न सफल भएकी त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) की डीन प्राडा दिव्या सिंह शाहसँग उनले यसपटकको दसैं कसरी मनाउँदैछिन् भन्ने विषयमा हेल्थ टिभी अनलाइनकी कल्पना आचार्यले गरेको कुराकानी :
भर्खरै मात्र कोरोना संक्रमणमुक्त हुनुभएको छ । अहिले कस्तो छ स्वास्थ्य अवस्था ?
हो । केही दिन अघि मात्र मेरो कोरोना रिपोर्ट नेगेटिभ आएको हो । अहिले त ठीक छु । खासै ठूलो स्वास्थ्य समस्या देखिएको छैन्। सामान्य थकान भने अझै पनि छ । हुन त मलाई कोरोना संक्रमण भए पनि शुरुका दिनदेखि नै जटिल समस्या भने देखिएको थिएन। केही दिन खोकी र ज्वरो मात्र थियो । तीन चार दिनमा त्यो पनि ठीक भइहाल्यो । अहिले त एकदमै ठीक छु भन्दा पनि हुन्छ ।
कोरोना महामारीकै बीचमा नेपालीहरुको महान पर्व दसैं आएको छ । यहाँको यसपटक दसैं प्लान के छ ?
मेरो यसपटक दसैंमा खासै केही पनि प्लान छैन् भन्दा पनि हुन्छ । हुन त मलाई दसैं असाध्यै मनपर्ने चाड हो । यही एउटा चाड हो जसले हामी छरिएर रहेका र अरु बेला फुर्सद निकाल्न गाह्रो पर्नेहरुका लागि आफन्तलाई एक ठाउँमा जोेड्छ । तर यसपटक अवस्था फरक छ । विश्व नै यतिबेला कोरोना महामारीको चपेटामा परेको छ । सबैतिर यसबाट कसरी बच्ने भन्ने नै चर्चा भइरहेको छ । नेपालमा पनि कोरोना महामारी दिन प्रतिदिन बढ्दो क्रममा छ । यो अवस्थामा हामीले दसैं भनेर जथाभावी भिडभाड गर्दा यसले झनै संक्रमणको जोखिम हुन्छ । त्यसैले प्रत्येक व्यक्तिले आफनो जिम्मेवारी ठानेर यसबाट बच्ने उपाय अपनाउनुपर्नेछ । अर्को कुरा म आफै पनि कोरोना संक्रमणमा परेर केही दिन अघि मात्र रिपोर्ट नेगेटिभ आएको छ । कोरोना भाइरस नयाँ भएकाले पनि यसले कसलाई कति क्षति पुराउन सक्छ भन्ने एकिनका साथ भन्न सकिने अवस्था पनि छैन्। म संक्रमित हुँदा खासै धेरै अप्ठेरो त भएन तर धेरै जटिल बिरामी म आफैले पनि हेरेकी छु । यसपटक मेरो दसैंमा नो सपिङ, नो ग्यादरिङ। परिवारमा मात्रै दसैं मनाउने प्लान छ । बुढा भएका मुवा बुवाकोमा आर्शिवाद लिन त जान्छु तर टाढैबाट आर्शिवाद लिएर फर्किन्छु । हामीलाई थाहा छ बुढाबुढीलाई कोरोनाको जोखिम र जटिलता दुबै बढी हुन्छ । त्यसैले घरमा पनि कोही टिका लगाउन आएमा खुला चौरमा टिका लगाउने भनेर व्यवस्था गरेको छु । खुला ठाउँमा हुँदा संक्रमणको जोखिम पनि कम हुन्छ ।
बजारमा त दसैं लागिसक्यो त ? निकै भिडभाड देखिन्छ ?
हेर्नुस् कोरोना महामारी सरकारले वा एक जनाले नियन्त्रण गर्छु भनेर गर्न सकिने कुरै हैन् । यसमा प्रत्येक व्यक्ति जिम्मेवार छन्। हो म आफैले पनि फिल गरेको मानिसहरुले यसलाई लापरवाही गरिरहेका छन्। मास्क पनि सही तरिकाले नलगाउने, चिया गफ गरेर बस्ने यस्ता गतिविधी पनि भइरहेका छन्। यस्तै गल्तीले कोरोना संक्रमण झनझन बढिरहेको छ । हामी आफै सचेत हुनैपर्छ । यसको विकल्प नै छैन्। एकपटक दसैं नमनाउँदा खासै फरक पर्दैन्। परिवारभित्रै रहेर पनि आखिर दसैं मनाउन सकिन्छ । दसैं अर्को वर्ष पनि आउँछ नि ।
अर्को कुरा कोरोना संक्रमण हाम्रै गल्तीका कारण बढिरहेको जस्तो मलाई लाग्छ । यसबाट बच्नका लागि नियमित पटकपटक साबुन पानीले हात धुने, भौतिक दूरी कायम गर्ने र मास्कको प्रयोग गर्ने हो भने धेरै हदसम्म बच्न सकिन्छ । तर यही कुरा पनि सबैले पालना गरेको पाइँदैन्। धेरै नेपालीको हात धुने बानी छैन्। केही कुरालाई छोएपछि तुरुन्त हात धुने बानी बसाल्ने हो भने धेरै समस्या कम हुन्छ । यस्तो बानीको विकास हामीले गर्नेपर्छ । अर्को कुरा यदि संक्रमण भइहालेमा पनि धेरै आत्तिहाल्नु हुँदैन्।
तपाइँको कोरोना संक्रमण भएपछिको दैनिकी कस्तो थियो ?
मेरो सामान्यतया एउटै दैनिकी हुन्छ । कोरोना लागेर एकदमै फरक दैनिकी भएन । किनभने म हरेक बिहान शारीरिक व्यायाम गर्ने, मेडिटेसन गर्ने गर्छु । यो मेरा नियमित काम हो । खानेकुरामा पनि स्वस्थ खानेकुरा खाने हो । यो अरु बेला पनि गर्न जरुरी छ । मैले सजिलै कोरोना भाइरसाग लड्न सकेको पनि मैले नियमित रुपमा अपनाएको स्वस्थ जीवनशैली नै होकी जस्तो लाग्छ । स्वस्थ खानेकुरा खाने, व्यायाम गर्ने, सकारात्मक सोच्ने गरेर आत्मबल बलियो पारेमा यसलाई जित्न सकिन्छ। हामीलाई अन्य रोग पनि लाग्छन् नि त्यसरी सोच्नुपर्छ ।
कोरोना संक्रमितलाई गर्ने व्यवहारप्रति के भन्नुहुन्छ ?
कोरोना संक्रमण भनेको जसरी रुघाखोकी लाग्छ, ज्वरो आउँछ, पेट दुख्छ त्यस्तै एउटा रोग हो । उनीहरुलाई संक्रमण भयो भन्दैमा किन यत्रो दूरदुरु गरेको म त अचम्ममा पर्छु । अझ स्वास्थ्कर्मीलाई पनि छि छि दूरदूर गरेको पाइयो । यो उहाँहरुले नबुझेर जस्तो लाग्छ मलाई । योे एकदमै गलत छ । यो भाइरसको संक्रमण हो जो कोहीलाई हुनसक्छ । त्यसैले सिधै सम्पर्कमा नगए सर्दैन्। किन हेला गर्नु ?
अन्तिममा दसैं मनाउने सबैलाई के भन्न चाहनुहुन्छ ?
सर्वप्रथम त म सबै जनालाई दसैंको शुभकामना दिन चाहन्छु । या दसैं पहिलेको जस्तो छैन् अवस्था फरक छ । त्यसैले हामी पनि फरक तरिकाले दसैं मनाउन तयार बनौँ जो जहाँ छौं त्यहीँ परिवार भित्रै मनाऔं । हामीले गरेको सानो गल्तीले घरमा भएका बुवा-आमा, हजुरबुवा -हजुर आमालाई जटिल समस्या ल्याउन सक्छ । त्यसैले सो कुरा ख्याल गरौं । आफन्तको आर्शिवाद टाढैबाट लिउँ । यसो गर्यौँ भने अर्को वर्षका लागि पनि आर्शिवाद जोगिन्छ ।
अर्को वर्ष कोरोना महामारी सकिएपछि मजाले दसैं मनाउँला । सबैलाई दसैंको शुभकामना !!
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा
पत्रकार ज्योति शाहको क्यान्सर उपचारका लागि सहयोग जुट्दै