स्त्रीराेगका लागि प्रभावकारी ल्याप्रोस्कोपी सर्जरी

स्त्रीरोगसँग सम्बन्धित समस्यामा आजभोलि ल्याप्रोस्कोपी सर्जरीद्वारा गरिन्छ। पेट चिरफार गरेर गर्ने शल्यक्रियाभन्दा ल्याप्रोस्कोपी सर्जरी निकै सजिलो र भरपर्दो रहेको चिकित्सकहरू बताउँछन्। यसै विषयमा केन्द्रित रहेर स्त्री तथा प्रसूति रोगविशेषज्ञ एवं ल्याप्राेस्काेपिक सर्जन डा. रंगीना लाइकंगबमसँग गएिको कुराकानी—
ल्याप्रोस्कोपी भनेको के हो?
यो स्त्री तथा प्रसूति रोगसँग सम्बन्धित छ। पेटमा सानो घाउ बनाई ‘फाइबर अप्टिक इन्डोस्कोप’ दूरबिनको सहयताले तल्लो पेटको भित्री अंगका समस्या हेर्ने विधिलाई ल्याप्रोस्कोपी भनिन्छ। यो प्रविधिको प्रयोग सर्वप्रथम जर्मनीमा भएको थियो। नेपालमा भने केही समयअघि मात्रै शुरु भएको हो।
कस्ता समस्यामा ल्याप्रोस्कोपी विधिबाट शल्यक्रिया गरिन्छ?
पाठेघरमा ट्युमर पलाएमा, पाठेघरबाट धेरै रगत बगेमा, डिम्बाशयमा ट्युमर पलाएमा, पाठेघरमा बच्चा नबसेमा, डिम्ब वा नलीमा बच्चा बसेको अवस्थामा यो विधिबाट शल्यक्रिया गरिन्छ। यस्तै निःसन्तान, बाँझोपन, पेटमा मासु वा डल्लो पलाएमा पनि ल्याप्रोस्कोपी सर्जरी गरिन्छ।
पाठेघरको भनेको शरीरको निकै महत्त्वपूर्ण अंग हो। पाठेघरमा कुनै ‘एबनर्मल’ मासु पलाएको छ भने यसलाई ट्युमर भनिन्छ। पाठेघरमा दुई किसिमले ट्युमर पलाउँछ। साधारण रूपमा क्यान्सर नभएको मासु, अर्को क्यान्सर भएको मासु पाठेघरमा पलाउँछ। यसलाई फ्याँक्न ल्याप्रोस्कोपी सर्जरी प्रभावकारी बनेको छ।
पाठेघरको ट्युमर कसरी हुन्छ?
३५ देखि ४५ वर्ष उमेर भएका महिलाहरूमा यो समस्या देखिन सक्छ। महिलाहरूमा ‘इस्ट्रोजन’ र ‘प्रोजेस्ट्रोन’ हर्मोन बढी मात्रा उत्पादन भएमा पाठेघरमा ट्युमर हुनसक्छ। यो वंशाणुगत पनि हुनसक्छ। यसलाई निर्मूल पार्न समयमै उपचार गर्नुपर्छ। अहिलेको सन्दर्भमा ल्याप्रोस्कोपी प्रभावकारी उपचार पद्धति हो।
कसरी गरिन्छ शल्यक्रिया?
यो प्रविधिमा दूरबिन र औजारको सहायताले रोग पत्ता लगाइन्छ। यसको उपचार औजारको सहायताले गरिन्छ। समस्या भएका भित्री अंग हटाइन्छ। रक्तस्राव रोक्ने औषधि पठाउन पेटको तल्लो भागमा दुईपट्टि साना साना प्वाल बनाइन्छ। शल्यक्रिया गर्ने अंगमाथि एक सेन्टिमिटरको प्वाल बनाई क्यामेरा छिराइन्छ। पेटभित्र भएका अंगमा शल्यक्रिया गर्दा त्यहाँ छिराएको क्यामेरा सबैतिर घुमाएर अंगको अवस्था हेरिन्छ। त्यसपछि अप्रेसन गर्ने अंगको माथि आधा सेन्टिमटरका दुईवटा प्वाल पारी मेसिन छिराएर शल्यक्रिया गर्ने गरिन्छ।
महिलाका यस्ता राेगकाे उपचारका लागि पुरानो प्रविधि र ल्याप्रोस्कोपी सर्जरीमा के फरक छ?
पुरानो प्रविधिबाट शल्यक्रिया गर्दा बिरामीलाई बेहोस पारी ट्युमर रहेको अंगलाई चिरिन्छ। यसमा धेरै जटिलता छन्। मैले माथि नै भने ल्याप्रोस्कोपीमा सर्जरी गर्दा निकै सहज किसिमले गरिन्छ।
ल्याप्रोस्कोपी विधि कतिको सुरक्षित छ त?
स्त्रीरोग जाँच र उपचारका लागि ल्याप्रोस्कोपी विधि निकै सुरक्षित र भरपर्दो विधि हो। दृश्य हेरेर गर्ने भएकाले ल्याप्रास्कोपी विधि निकै भरपर्दो हो।
यो प्रविधिका फाइदा के के छन्?
यो प्रविधिबाट शल्यक्रिया गर्दा बनाएको घाउ छिटो निको हुन्छ घाउ पाक्ने सम्भवाना हुँदैन। कम चिर्ने भएका कारण रगत कम बगेर जान्छ। सानो घाउ भएको कारणले गर्दा दुखाइ कम हुन्छ। अप्रेसनपछि बिरामी छिटो निको हुने भएकाले अस्पताल कम बसे पुग्छ। बिहान अप्रेसन गरेको बिरामीलाई बेलुकासम्म डिस्चार्ज गरेका छौँ। चिरेको घाउको दाग निकै कम हुन्छ।
प्रस्तुति– अशिम सापकोटा
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा
पत्रकार ज्योति शाहको क्यान्सर उपचारका लागि सहयोग जुट्दै