जीवनशैलीसँग सम्बन्धित रोगमा प्रभावकारी प्राकृतिक चिकित्सा

असार २० अर्थात् राष्ट्रिय प्राकृतिक चिकित्सा दिवस। दिवसको अवसर पारेर योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष डा. जनकबहादुर बस्नेतसँग हेल्थ टिभी अनलाइनले गरेको कुराकानी–
नेपालमा प्राकृतिक चिकित्सा दिवस कहिलेदेखि मनाउन थालिएको हो?
नेपालमा राष्ट्रिय प्राकृतिक चिकित्सा दिवस गत वर्षदेखि मनाउन लागिएको हो। प्राकृतिक चिकित्सा दिवस मनाउने विश्वमै नेपाल पहिलो हो। सरकारले वि.सं. २०५९ साल असार २० गते प्राकृतिक चिकित्सालाई राष्ट्रिय चिकित्साको रूपमा मान्यता दिएको थियो। त्यसपछि २०७४ असोज २३ गते बसेको मन्त्रिपरिषद बैठकले असार २० लाई राष्ट्रिय प्राकृतिक दिवसको रूपमा पारित गरेपछि यो दिवस मनाउन थालिएको हो। हामीले मनाउन लागेको यो दोस्रो दिवस हो।
एउटा महत्त्वपूर्ण कुरा के को भने प्राकृतिक चिकित्सा दिवस मनाउने पहिलो देश हो। नेपालले मनाउन थालेपछि भारतले समेत आफ्नो क्यालेण्डरमा प्राकृतिक चिकित्सा दिवस समावेश गरेको छ।
नेपालमा प्राकृतिक चिकित्साको अवस्था कस्तो छ?
नेपालमा परापूर्व कालदेखि नै प्राकृतिक चिकित्सा पद्धतिद्वारा उपचार गर्ने परम्परा छ। पछिल्लो समयमा पनि यसप्रति मानिसहरूको विश्वास अझ बढदै गएको छ। जीवनशैलीसँग सम्बन्धित रोगले सबैलाई सताइरहेकाले पनि होला कतिपय रोग औषधि खाएर मात्र निको हुँदैन। त्यसैले योग तथा प्राकृतिक चिकित्साकै सहारा लिनुपर्ने हुन्छ। उच्च रक्तचाप, मधुमेह लगायतका जस्ता नसर्ने रोगमा प्राकृतिक चिकित्सा असाध्यै उपयोगी मानिएको छ। यी रोग बढ्दै गएकाले होला यो पद्धति पनि फैलिँदै गएको छ।
तर नेपालमा एउटा पनि सरकारी प्राकृतिक चिकित्साको अस्पताल छैन नि होइन?
हो, हालसम्म एउटै अस्पताल छैन। यसबारेमा हामीले कुरा उठाउँदै आएका पनि छौँ।
हालसम्म प्राइभेट र पब्लिक अस्पतालले मात्र यो सेवा दिइरहेका छन्। नेपालमा झण्डै ३० वटा प्राकृतिक चिकित्सा अस्पताल छन्। यी अस्पतालले बिरामीलाई सेवा दिइरहेका छन्। यसैगरी ६० जना भन्दा बढी प्राकतिक चिकित्सक छन्।
नेपालमा प्राकृतिक चिकित्साको पढाइ हुन्छ त?
प्राकृतिक चिकित्साको पढाइ हालसम्म नेपालमा शुरु भएको छैन। आजसम्म जति चिकित्सकले सेवा दिइरहेका छन्, ती सबै भारत लगायत देशबाट पढेर आएका हुन्। तर हामीले सबै तहको पाठ्यक्रम बनाइसकेका छौँ। यसमा सरकारको सहयोग चाहिन्छ। पाठ्यक्रम बनिसकेकाले आशा छ अब छिट्टै नेपालमा एचएदेखि मास्टर्स लेबलसम्मको नेपालमै हुनेछ। त्यसका लागि हामी सबै लागिरहेका छौँ।
प्राकृतिक चिकित्सा एलोपेथिकको वैकल्पिक चिकित्सा पद्धति हो?
होइन । प्राकृतिक चिकित्सा कहिल्यै पनि एलोपेथिकको विकल्प हुन सक्दैन। यी दुवैलाइै एकीकृत गरेर लैजानुपर्छ। दुवै पद्धतिको आ–आफनै महत्त्व छन्। अझ यी दुवै पद्धतिलाई सँगै लिएर जाँदा अझ राम्रो ‘रिजल्ट’ आउँछ। आकस्मिक अवस्था र शल्यक्रिया गर्नुपर्ने जस्ता अवस्थामा एलोपथिक पद्धति नै चाहिन्छ। यस्तो बेला प्राकृतिक चिकित्साको भूमिका हुँदैन।
जब जीवनशैलीसम्बन्धी कुरा आउँछ, त्यो अवस्थामा योग तथा प्राकृतिक चिकित्साले काम गर्छ। त्यसैले यी दुवै पद्धति सँगसँगै लग्नुपर्छ भनेको हुँ।
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा
पत्रकार ज्योति शाहको क्यान्सर उपचारका लागि सहयोग जुट्दै