होलीमा सकेसम्म बढी चम्किलोे रङको प्रयोग नगरौं : डा कर्ण

हेल्थ टिभी अनलाइन : आज रङहरुको पर्व होली अर्थात फागु पूर्णिमा । आजको दिन एक अर्कावीच रङहरु दलेर रमाइलो गर्दै माया र सदभाव साटासाट गर्ने गरिन्छ । तर यो रमाइलो पर्व होली खेल्ने क्रममा केही सावधानी भने अपनाउनुपर्ने हुन्छ । अहिले बजारमा होलीकै लागि भनेर विभिन्न किसिमका केमिकलहरु मिसाइएका चम्किला रङहरु पाइने गरेका छन्। ती रङहरु सिधै छालामा पर्दा एलर्जी हुने, पोल्ने, छाला रातो हुने जस्ता समस्याहरु देखिन सक्छन्। त्यसैले होली खेल्दा रङको छनौट सही गर्न सक्नुपर्छ । अन्यथा यसले छालामा गम्भीर असर पनि गर्नसक्छ । अब सुरक्षित रुपमा होली कसरी खेल्ने त । यस्ता छन् वरिष्ठ छाला रोग विशेषज्ञ डा धर्मेन्द्र कर्णका टिप्स :
-होली एक्कासी खेल्ने भन्दा पनि यसको तयारी एक दिन अघि नै गर्नुपर्छ ।
-रङ छालामा लगाइने हुँदा होली खेल्नु अघि छालामा तेलको प्रयोग गर्ने । यसले रङको असर सिधै पर्न दिंदैन र धुन पनि सजिलो हुन्छ ।
-सकेसम्म प्राकृतिक रङहरुको छनौट गर्ने । यहाँ रातो रङलाई सबैभन्दा सुरक्षित मानिन्छ । सकेसम्म चम्किला रङ जस्तै कालो हरियो रङको प्रयोग नगर्ने
-कुन ठाउँमा होली खेल्ने हो त्यसको पनि तयारी गर्नुपर्छ । कोठाभित्र वा सानो ठाउँमा होली खेल्दा रङ दल्ने क्रममा समस्या हुनसक्छ । सकेसम्म खुला स्थानमा होली खेल्नुपर्छ ।
-होली खेल्ने क्रममा यदि नङ लामो छ भने त्यसले अरुको छालामा घाउ बनाउन सक्छ । त्यसैले होली खेल्नुअघि नङ काटेको राम्रो । वा लामो नङ हुनेले विशेष सावधानी अपनाउनुपर्ने हुन्छ ।
-होली खेल्ने क्रममा गरगहना नलगाएको राम्रो । अनुहारमै रङ दलिने हुनाले यो क्रममा गरगहना हराउन सक्छ भने यसले अप्ठेरो पनि हुन्छ ।
-सबै शरीर छोपिने गरी लुगा लगाउने । यसले रङलाई सिधै छालामा पर्नबाट बचाउँछ ।
-होली सकेसम्म निश्चित समयको लागि मात्र खेलेको राम्रो । बिहानदेखि बेलुकासम्म खेल्ने होइन । रङ जति धेरै छालामा बस्यो त्यति नै असर बढी गर्छ ।
-रङ पखाल्दा नरम साबुनको प्रयोग गर्नुपर्छ । सकेसम्म बेबी साबुन वा सेम्पु प्रयोग गरेको राम्रो । रङ पखाल्दा बढी रगड्न हुँदैन । यसले उल्टो छालामा घाउ बनाउँछ । रङ पखालेपछि मोस्चराइजरको प्रयोग गरेमा छाला सुख्खा हुन पाउँदैन ।
अनुहारको छाला यसैपनि बढी संवेदनशील हुन्छ । त्यसमा अनेकौं केमिकल मिसिएका रङको प्रयोगले झनै बिगार्न सक्छ । त्यसैले यो बेला छालाको अझ ख्याल गर्नुपर्छ । अझ पहिलेदेखि नै डन्डीफोर वा घाउ खटिरा भएको अनुहारमा रङको प्रयोगले अझ बढी समस्या गराउन सक्छ । त्यसैले रङहरुको पर्व परिवारसँग बसेर रमाइलो गरेर मनाउँदै गर्दा आफनो छालाको पनि हेरचाह गर्न नबिसौं ।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा