दही -चिउरा स्वास्थ्यका लागि कति फाइदाजनक ?

हेल्थ टिभी अनलाइन \काठमाडौं : असार १५ अर्थात् दही चिउरा खाने दिन। नेपालमा असार १५ का दिन विशेष गरेर धान रोप्ने कामको शुरुवात गर्ने चलन छ । त्यसो त यसको अघिपछि पनि रोप्न सकिन्छ । तर असार १५ लाई भने कृषकहरुले ठूलो चाडको रुपमा मनाउने गर्छन् । धान रोप्दै यो दिन दही चिउरा खाएर रमाइलो गर्ने चलन पनि छ । असारे भाकामा गित गाउँदै धान रोप्दै खेतको आलीमा बसेर दही चिउरा खानुको छुट्टै आनन्द आउने बताउँछन् ललितपुर खोकनामा रविन्द्र महर्जन । उनी प्रत्येक वर्ष असार १५ मनाउने गर्छन ।
अब यो दिन खाइने दही चिउरा हाम्रा लागि कत्तिको स्वास्थ्यवर्धक छ त भन्ने कुरा महत्वपूर्ण छ । असारका बेला जताततै हरियाली हुने भएकाले गाईभैंसीले पनि हरियो घाँस प्रसस्त खान पाएर दुध धेरै दिने गर्छन्। त्यसैले पनि यो बेला दूधबाट प्रसस्त मात्रामा दही बनाउन सकिन्छ । र यो असाध्यै स्वास्थ्यवर्धक हुने चिकित्सकहरु बताउँछन्। सामान्ययता असार महिना गर्मी महिना हो । यो बेला शितलता प्रदान गर्ने दही खानु यसै पनि राम्रो हुने बताइन्छ ।
जनस्वास्थ्य विज्ञ डा अरुणा उप्रेती हाम्रा हरेक चाडबाडमा खाइने खानेकुराको आफनै महत्व भएको बताउँछिन्। उनले माघ १ मा खाइने तरुल- चाकु होस या जनैपूर्णिमामा खाइने क्वाँटी वा असार १५ मा खाइने दही चिउरा सबैको आ आफनै महन्व भएको बताउँछिन्। दही चिउरा चाँडो तयार पार्न सकिने मिठो र पोषिलो खाजा भएकाले पनि कामको चाप भएका बेलाको खाजाका रुपमा यसलाई रोजिएको हुनुपर्ने उनको भनाई छ । उनले असार १५ मा दही चिउरासँगै गेडागुडी, अचार समेत खाइने गरेको हुँदा यो खानेकुरा सबै पौष्टिकताले भरिपूर्ण हुने जनाइन्।
चिउरामा कार्बोहाइड्रेट र दहीमा क्याल्सियम भिटामिन, पोटासियम पनि पाइने बताइन्छ । पाचन प्रक्रियाका लागि दही बढी प्रभावकारी मानिन्छ । साथै यो दुबै मिसाएर खाँदा आडिलो पनि हुने गर्छ जसका कारण धेरै बेरसम्म भोक लाग्दैन। धेरै बेरसम्म काम गर्नका लागि उर्जा प्रदान गरिहन्छ । यसको सेवनले पेट दुखाइ, अपच, कब्जियत, ग्यास्ट्रिकजस्ता समस्यामा फाइदा हुने चिकित्सकहरु बताउँछन्।
दहीमा पाचन प्रक्रियालाई व्यवस्थित गर्ने ब्याक्टेरिया पाइन्छ। यसमा उच्च गुणयुक्त प्रोटिन समेत हुन्छ। पेटसम्बन्धी समस्या भएकाका लागि दही अत्यन्त उपयोगी मानिन्छ। भोक कम लाग्ने समस्या भएका व्यक्तिहरूले नियमित दही खाने गरे फाइदा पुग्छ। दैनिक दही खानाले पाचन प्रक्रियामा समेत मद्दत पुर्याउँछ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights