दशौं ‘नेपाल फर्मा एक्स्पो’ काठमाडौंमा फागुन २८ देखि हुने
हेल्थ टिभी अनलाइन : नेपाल औषधि उत्पादक संघको आयोजनामा आगामी फागुन २८ देखि काठमाडौंको भृकुटीमण्डपमा ’नेपाल फर्मा एक्स्पो २०२६’ को दशौं संस्करण आयोजना हुने भएको छ । “फर्मामा नवीनताः भोलिको स्वास्थ्यका लागि” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस तीन दिने एक्सपोले नेपाली औषधि क्षेत्रको आधुनिक रूपान्तरणलाई उजागर गर्ने लक्ष्य राखेको छ ।
एक्स्पोकोबारेमा जानकारी दिन आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनका क्रममा नेपाल औषधि उत्पादक संघका अध्यक्ष विप्लव अधिकारीले हिजोका दिनमा गरेका अनुसन्धान र आविष्कारहरू आजको औषधि उद्योगको आधार हुन भन्दै आजको हाम्रो नवीन सोच र प्रविधिमा गरिने लगानीले नै भोलिको स्वस्थ नेपालको भविष्य सुनिश्चित गर्ने बताए । उनले यो एक्स्पो केवल प्रदर्शनी मात्र नभई नेपाललाई औषधि उत्पादनमा आत्मनिर्भर बनाउने एउटा बलियो खुड्किलो भएको समेत जिकीर गरे । उनले नेपाली बजारमा के कस्ता औषधि उत्पादन भइरहेका छन् भन्ने जानकारी लिन एक्स्पोले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
संघका महासचिव तथा एक्स्पो संयोजक सन्तोष बरालले यस पटकको एक्स्पोमा २०० भन्दा बढी स्टलहरू रहने जानकारी दिए । जसमा औषधि उत्पादनमा प्रयोग हुने अत्याधुनिक प्रविधि, ल्याब टेक्नोलोजी, कच्चा पदार्थ, प्याकिङ्ग उत्पादक र मेसिनरीहरूको प्रदर्शन गरिनेछ । यस एक्स्पोमा ९० प्रतिशतभन्दा बढी सहभागिता विदेशी तथा बहुराष्ट्रिय कम्पनीहरूको रहने पनि उनले जानकारी दिए । जसले कच्चा पदार्थ, प्याकिङ सामग्री र नयाँ प्रविधिको क्षेत्रमा विश्वबजारमा आएका नवीनतम प्रविधिलाई नेपाली बजारसँग जोड्नेछन् । बाँकी १० प्रतिशत स्टलहरूमा स्वदेशी औषधि उद्योगका उत्कृष्ट उत्पादनहरू प्रदर्शन गरिनेछ उनले भने ।
बरालले भने, ‘नेपालमा अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय औषधि बन्छ भन्ने थाहा छैन । यस एक्स्पोमार्फत हामी सरोकारवाला र आम सर्वसाधारणलाई नेपालमै विश्वस्तरीय औषधि उत्पादन हुन्छ भन्ने विश्वास दिलाउन चाहन्छौँ । औषधि क्षेत्रको ज्ञान लिन चाहने जो कोहीका लागि प्रवेश नि : शुल्क गरिएको छ ताकि सबैले नेपाली औषधिको क्षमता र सामथ्र्य बुझ्दै नेपालमै गुणस्तरीय औषधि उत्पादन भइरहेको विषयमा जानकारी पाउनुहुनेछ ।
यस पटकको एक्स्पोलाई संघले एउटा उत्सवका रूपमा मनाउँदै विभिन्न पूर्व–कार्यक्रमहरू समेत सञ्चालन गरिरहेको छ। पहिलो कार्यक्रम अन्तर्गत माघ २ र ३ गते १६ वटा उद्योगको सहभागितामा फुटसल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भइसकेको छ। खेलकुदलाई निरन्तरता दिँदै आगामी फागुन ८ र ९ गते ८ वटा उद्योगहरूको सहभागितामा ’क्रिकसल’ प्रतियोगिता आयोजना गरिनेछ। खेलकुदसँगै शैक्षिक र व्यावसायिक विकासका लागि फागुन ४ र ५ गते नै १०० जना म्यानेजरहरू र बजारमा कार्यरत १०० जना औषधि बजार प्रतिनिधिहरूका लागि विशेष तालिम तथा सेमिनार पनि सञ्चालन गरिने जनाइएकाे छ ।



व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य