Health TV Online
Health TV Online
Health TV Online

देउराली जनता-फर्मास्युटिकल्सले ४७५ करोड लगानीमा नयाँ कारखाना खोल्दै

देउराली जनता-फर्मास्युटिकल्सले ४७५ करोड लगानीमा नयाँ कारखाना खोल्दै

हेल्थ टिभी अनलाइन : देउराली जनता फार्मास्युटिकल्स प्रालिले चितवनको भरतपुरमा अत्याधुनिक नयाँ कारखाना स्थापना गर्ने भएको छ । कम्पनीको नयाँ परियोजनाका लागि ४७५ करोड रुपैयाँ लगानी गर्ने जनाएको छ ।

३५ औ वार्षिकोत्सवका अवसरमा मंगलबार आयोजित कार्यक्रममा कम्पनीका कार्यकारी निर्देशक हरिभक्त शर्माले उक्त परियोजना २ वर्ष भित्र निर्माण सम्पन्न हुने बताए । उनले अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण हुने यो नयाँ परियोजना सम्पन्न हुँदा थप ५५० जनाले प्रत्यक्ष रोजगारीको अवसर प्राप्त गर्ने समेत जानकारी दिए ।

देउराली–जनता औषधि उद्योगले विगत ३५ वर्षदेखि अत्यावश्यक जीवनरक्षक औषधिहरू स्वदेशमै उत्पादन गर्दै आएको नेपालकै अग्रणी औषधि उद्योग हो। हाल कम्पनीले क्याप्सुल, ट्याब्लेट, लिक्विड, ओइन्टमेन्ट, ड्राइ पाउडरलगायत २९६ प्रकारका औषधि उत्पादन गरिरहेको छ।

शर्माका अनुसार नयाँ कारखाना स्थापना भएसँगै उत्पादन विविधीकरण, गुणस्तर सुधार र अन्तर्राष्ट्रिय बजारमा नेपाली औषधिको प्रतिस्पर्धात्मक क्षमता बढ्ने विश्वास लिइएको छ। देउराली–जनताले यस परियोजना सफल बनाउन नेपाल सरकार, सरोकारवाला निकाय र सञ्चारकर्मीहरूको सहयोग र सहकार्यको अपेक्षा गरेको पनि उनले उल्लेख गरे ।

कम्पनीमा हाल विश्वका विभिन्न मुलुकहरूबाट उच्च शिक्षा हासिल गरेका दक्ष वैज्ञानिक, प्राविधिक लगायत सबै तहमा कार्यरत करिब ६७५ जना कर्मचारीहरू कार्यरत छन् । कम्पनीको ३५ औं वार्षिकोत्सवको विशेष अवसरमा विगतका अनुभवहरूको उपयोग गर्दै औषधिको गुणात्मक स्तर वृद्धि गरी यस क्षेत्रमा राष्ट्रलाई आत्मनिर्भर बनाउन योगदान गर्न संकल्प पनि गरिएको छ । देउराली–जनता नेपालको औषधि उत्पादन क्षेत्रमा प्रविधि हस्तान्तरणमार्फत उच्चस्तरीय अन्तर्राष्ट्रिय प्रविधि आयात गर्ने पहिलो र एकमात्र उद्योगको रूपमा स्थापित भएको बताइएको छ । साथै डब्लुएचओको जीएमपी प्रमाणपत्र प्राप्त गर्ने नेपालको पहिलो औषधि कम्पनीको रूपमा परिचित रहेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार