Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

पूर्ण स्तनपान गराउने आमाको संख्या घट्दै

पूर्ण स्तनपान गराउने आमाको संख्या घट्दै

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा शिशुलाई पूर्ण स्तनपान गराउने आमाको संख्या घट्दो क्रममा देखिएको छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ का अनुसार नेपालमा पूर्ण स्तनपान गराउनेको संख्या ६६ प्रतिशत थियो र शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउनेको संख्या ५५ प्रतिशत थियो । तर २०१९ मा यो संख्या घटेको अनुसन्धानले देखाएको छ । नेपाल मल्टि इन्डिकेटर सर्वे २०१९ का अनुसार नेपालमा पूर्ण स्तनपान गराउनेको संख्या ६६ प्रतिशतबाट घटेर ६२ प्रतिशतमा आएको छ । त्यसैगरी जन्मेको एक घण्टाभित्र स्तनपान गराउनेको संख्यामा पनि कमी आएको छ । यो अध्ययन अनुसार ४२ प्रतिशत आमाले मात्र जन्मेको एक घण्टाभित्रै आफनो बच्चालाई स्तनपान गराउने गरेको पाइएको हो जबकी २०१६ मा ५५ प्रतिशत थियो । यसैगरी २ वर्षसम्म स्तनपान गराउनेको संख्या पनि ८९ प्रतिशतबाट घटेर ८७ दशमलब ६ प्रतिशतमा आएको छ ।

आइतबार स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले एक अन्तरक्रिया कार्यक्रम गर्दै नेपालमा स्तनपान गराउनेको संख्या घटेको जनाएको हो । महाशाखाका निर्देशक डा तारा पोखरेलले स्तनपान बच्चाका लागि मात्र नभएर आमा र बच्चा दुबैका लागि धेरै रोगहरुबाट बचाउने भएका कारण आमाले स्तनपान गराउन हिच्किचाउन नहुने जनाए । उनले कामकाजी आमालाई स्तनपानको समस्या हुने भए पनि त्यसलाई सहज बनाउनका लागि श्रीमान तथा परिवार र काम गर्ने कार्यालय सहयोगी हुनुपर्नेमा जोड दिए ।

यसैगरी बालरोग विशेषज्ञ एवम इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्ण पौडेलले स्तनपान गर्न पाउने बच्चाको अधिकार भएकाले उसलाई यसको वातावण बनाइदिन जरुरी रहेको बताए । उनले सुत्केरी बिदा ६ महिना पुराएर बच्चाको स्तनपान गर्न पाउने अधिकार सुनिश्चित गरिनुपर्ने समेत जिकीर गरे । उनले पछिल्लो समय आमाहरु कामकाजी भएकाले पनि चाहेर पनि बच्चालाई स्तनपान गराउन नसकेको भन्दै उनीहरुलाई ६ महिना बिदाको व्यवस्था मिलाउने हो भने यो संख्या बढेर जाने बताए ।

यसका साथै उनले बच्चालाई जन्मने बित्तिकै कुनै पनि फर्मुला दुध ख्वाउन नहुने समेत जिकीर गरे । कतिपय आमाले दूध आएन भनेर फर्मुला दूध ख्वाउने गरेको भन्दै यस्ता दूधमा बच्चाको लत लागेपछि आमाको दूध खान मन नगर्ने जनाए । उनले आमाको दूध प्रकृतिले नै बच्चाको सम्पूर्ण विकासका लागि बनाएर पठाएको हुँदा ६ महिनासम्म आमाको दूध बाहेक केही पनि ख्वाउन नहुने जानकारी दिए ।

हरेक वर्ष अगस्ट १ देखि ७ सम्म विश्व स्तनपान सप्ताह मनाउने गरिन्छ । स्तनपान संरक्षण तथा सम्बर्धन गर्ने उद्देस्यले सन् १९९२ देखि विश्व स्तनपान दिवस मनाइँदै आइएको छ । यस वर्षको नारा ‘हामी सबैको साझा जिम्मेवारी, स्तनपान संरक्षण हुन्छ प्रभावकारी’ भन्ने रहेको छ ।

स्तनपान बच्चाका लागि पहिलो खोपका रुपमा लिने गरिन्छ । ६ महिनासम्म आमाको दूधबाट नै बच्चाले रोगसँग लड्नसक्ने प्रतिरोधी क्षमता विकास गर्ने हुनाले धेरै किसिमका रोगसँग लड्नका लागि आमाको दूध नै आवश्यक पर्ने चिकित्सहरु बताउँछन्। आमाको दूध खान नपाएका बच्चाको रोगसँग लड्ने प्रतिरोधी क्षमता कम हुने डा पौडेलको भनाई छ । आमाले बच्चालाइ जन्मेको एक घण्टाभित्रै स्तनपान गराउन जरुरी हुन्छ भने ६ महिनासम्म आमाको दूध मात्र र ६ महिनापछि भने आमाको दूधसँगै थप आहार खुवाउनुपर्ने हुन्छ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार