Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

सबै सरोकारवालाको एकै स्वर : नेपालमा सुर्तीजन्य पदार्थमा कर बढाउनैपर्छ

सबै सरोकारवालाको एकै स्वर : नेपालमा सुर्तीजन्य पदार्थमा कर बढाउनैपर्छ

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा सुर्तीजन्य पदार्थमा लाग्दै आएको कर अत्यन्त कम भएको भन्दै सरोकारवालाहरुले एकै स्वरमा कर बढाउनुपर्नेमा जोड दिएका छन्। शुक्रबार एक्सन नेपाल, स्वास्थ्य पत्रकार मञ्च र द यूनियनले आयोजना गरेको सुर्तीजन्य पदार्थमा करसम्बन्धी छलफल कार्यक्रममा सहभागी सबै सरोकारवाला निकायका प्रतिनिधिले सुर्तीजन्य पदार्थमा कर बढाउनुपर्ने बताएका हुन्।

कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश सिंह ठगुन्नाले सुर्तीजन्य पदार्थ पछिल्लो समय युवापुस्ताले बढी सेवन गर्ने गरेको भन्दै त्यस्ता उमेर समूहकालाई लतमा फस्न नदिन कर बढाएर यसलाई महंगो गराउनुका साथै गाउँ गाउँसम्म जनचेतना फैलाउनुपर्ने बताए । उनले सूर्तीजन्य पदार्थको सेवनले कसैलाई पनि फाइदा नगर्ने भएकाले यसलाई सजिलै पाउन नसक्ने कसरी बनाउन सकिन्छ त्यसतर्फ सबैको ध्यान जान आवश्यक रहेको भन्दै आफनो मन्त्रालयलय त्यसका लागि के कस्तो सहयोग चाहिन्छ गर्न तयार रहेको बताए ।

यसैगरी आन्तरिक राजस्व विभागका उप महानिर्देशक शम्भु मरासिनीले सुर्तीजन्य पदार्थमा कर बढाउनुपर्ने विषयमा यसअघि नै विभिन्न निकायसँग बसेर छलफल समेत भइरहेकाे भन्दै यसलाई विस्तारै बढाउँदै लाने राय व्यक्त गरे । उनले यसमा सबै निकायको साथ चाहिने समेत जिकीर गरे । यसैगरी महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपी सन्दीप भण्डारीले सुर्तीजन्य पदार्थ नियन्त्रणमा प्रहरीले आफनो हिसाबले समूदायसँग साझेदारी गरेर काम गरिरहेको जनाउँदै यसलाई अझ अर्थपूर्ण बनाउनका लागि जनचेतनामूलक कार्यक्रम साथै अन्य कार्यक्रममहरु गर्न आफूहरु तयार रहेको प्रतिवद्धता समेत जनाए ।

उता स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्ररमण सिंहले सुर्तीजन्य पदार्थ नियन्त्रण स्थानीय स्तरबाटै शुरु गर्नुपर्नेमा जोड दिए । उनले आफनो वडालाई कस्तो बनाउने भन्ने कुरा स्थानीय जनप्रतिनिधिको हुने भन्दै स्मोक फ्रि गाउँ बनाउन सबै तह अग्रसर हुने हो भने यो समस्या कम हुने जनाए । उनले सुर्तीजन्य पदार्थसम्बन्धी ऐन उत्कृष्ट भएको भन्दै यसको कार्यान्वर्यन पक्षमा भने सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।


यसैगरी स्वास्थ्य अर्थविद डा देवीप्रसाद प्रसाईले नेपालमा सुर्तीजन्य पदार्थमा लगाइएको कर साउथ एसियामै सबैभन्दा कम भएको भन्दै यसलाई नबढाउँदा धेरैकाे सहज पहुँचमा पुगेको जनाए । उनले अहिले १८ अरब राजस्व उठ्ने गरेको भए पनि त्यसको दुई गुणा बढी रकम ४० अरब सुर्तीजन्य पदार्थको सेवनका कारण लाग्ने रोगको उपचारमा खर्च हुने बताए । उनले कर र यसको मूल्य बढाउने बित्तिकै कम आय हुने समूहले यसको सेवन कम गर्नेतर्फ लाग्ने हुँखा एकातिर सरकारलाई राजस्व बढी उठ्ने र अर्कोतिर रोगको ‘बर्डेन’ पनि कम हुने बताए ।

कार्यक्रममा बोल्दै मुटुरोग विशेषज्ञ डा प्रेमराज वैद्यले सुर्तीजन्य पदार्थको सेवनका कारण २६ प्रकारका रोग निम्तिने भन्दै सबैभन्दा बढी  असर मुटु र फोक्सोमा गर्ने जनाए । उनले सुर्तीजन्य पदार्थको सेवन गर्ने हरेक ५ जना मध्ये १ जनामा उसको जीवनकालमा क्यान्सर हुनसक्ने समेत जिकीर गरे । विश्व स्वास्थ्य संगठनकी डा लोनिम दिक्षितले सुर्तीजन्य पदार्थमा ७५ प्रतिशतसम्म कर बढाउनुपर्ने भनेर यसअघि नै संगठनले भनिसकेको भए पनि यसको पालना हुन नसकेको जनाइन् । उनले धेरै जसो निम्न आय भएका व्यक्तिहरुले सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेको पाइएकोले उनीहरुलाई यो प्रावधानले सेवन कम गर्न बाध्य बनाउनेछ उनले थपिन।  त्यसैले एकैचोटि नसकेपनि बिस्तारै बिस्तारै गरेर यसलाई बढाउनैपर्नेमा उनको जोड थियो ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कानून उपसचिव मान बहादुर बस्नेतले स्वास्थ्य कर कोषमा सुर्तीजन्य पदार्थबाट उठ्ने कुल राजस्वको २५ प्रतिशत जम्मा हुनुपर्ने भए पनि त्यसो हुन नसकेको बताए । उनले कर कोषबाट सुर्तीजन्य पदार्थको सेवनबाट हुने रोगको उपचार, जननचेतनामूलक कार्यक्रमहरु गर्दै आएको जिकीर गरे ।

आयोजक संस्था एक्सन नेपालका अध्यक्ष आनन्द बहादुर चन्दले नेपालमा सुर्तीजन्य पदार्थमा कर बढाउन अब पनि ढिला गर्ने हो भने धेरै युवा जमात यसको लतमा फस्ने भन्दै सरकार यसमा गम्भीर भएर लाग्नुपर्ने बताए । कार्यक्रममा नेपाल स्वास्थ्य अनुसन्धान परिषदका कार्यकारी प्रमुख डा प्रदीप ज्ञवाली, परराष्ट्र मन्त्रालयका उपसचिव पुष्कर नेपाल लगायतले समेत सुर्तीजन्य पदार्थमा कर बढाउनुपर्नेमा जोड दिएका थिए ।

 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार