Health TV Online
Health TV Online

नेत्रज्योति संघ ४३ औं वर्षमा प्रवेश, आँखा सेवा अझै विस्तार गर्दै लाने प्रतिवद्धता

नेत्रज्योति संघ ४३ औं वर्षमा प्रवेश, आँखा सेवा अझै विस्तार गर्दै लाने  प्रतिवद्धता

हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपाल नेत्रज्योति संघले आफ्नो ४३ औं वार्षिकोत्सव मनाएको छ । ‘अन्धोपन निवारण हाम्रो जिम्मेवारी, आँखा सेवामा गरौं साझेदारी’ भन्ने नाराका साथ संघले वार्षिकोत्सव मनाएको हो ।

शुक्रबार दिवसको अवसरमा एक कार्यक्रम गर्दै संघले कोरोना महामारीमा आँखा सेवा ठप्प नपारेको भए पनि सेवा लिन आउनेको संख्या भने कम भएको जनाएको छ । कोरोनाका कारण भएको लकडाउन र त्यसले पारेको असरका कारण ३ \४ महिना सेवा प्रभावित भए पनि अहिले भने नियमित रुपमा सेवा शुरु भएको संघका अध्यक्ष डा चेतराज पन्तले जानकारी दिए । उनले कोरोना महामारीका कारण विशेष गरी भारतबाट आउने बिरामी आउन नसक्दा आँखाको शल्यक्रियामा ४५ प्रतिशतले र उपचार सेवामा लगभग ६० प्रतिशतले कमी आएको समेत जिकीर गरे । उनले यो वर्ष घटेको संख्या अब दुई गुणालाई सेवा दिनुपर्ने चुनौति थपिएको समेत जिकीर गरे ।

हाल नेत्रज्योति संघले २१ वटा आँखा अस्पताल र १२६ वटा आँखा उपचार केन्द्र मार्फत सेवा प्रदान गर्दै आइरहेको छ । सन् २०१९ मा संघ मातहतका आँखा अस्पताल तथा उपचार केन्द्र मार्फत ३३ लाख २३ हजार ४४ जनाले आँखाको उपचार गराएको र २ लाख ६५ हजार ९७८ जनाको आँखाको शल्यक्रिया गरिएको थियो । तर सन् २०२० मा भने कोरोनाका कारण एक वर्षमा जम्मा १३ लाख १७ हजार ६३२ जनाले मात्र उपचार गराएको र १ लाख २१ हजार ३६२ जनाले आँखाको शल्यक्रिया गरेको संघले जनाएको छ ।

स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष पन्तले संघले आँखा स्वास्थ्यका क्षेत्रमा धेरै काम गरेको भए पनि अझै पनि धेरै काम गर्न बाँकी भएको बताए । उनले अबको ५ वर्षभित्र सबै स्थानीय तहसम्म आँखा उपचार केन्द्र स्थापना गर्ने लक्ष्य लिएको समेत जनाए । उनले भने, ‘आँखाको सामान्यदेखि एडभान्स प्रकारका सबै सेवा सर्वसाधारणको नजिकको स्वास्थ्य संस्थामा होस भन्ने हाम्रो चाहना हो । त्यसका लागि काम गर्नुपर्नेछ ।’  उनले अबको ५ वर्षमा सरकारसँग साझेदारी र समन्वय गर्दै ६७७ वटा आाँखा उपचार केन्द्र स्थापना गर्ने र २२ वटा आँखा उपचार केन्द्रलाई सेकेन्डरी लेबलको आँखा अस्पतालमा स्तरोन्नती गर्ने लक्ष्य लिएको जिकीर गरे ।

नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्यमा काम गर्ने गैर सरकारी संस्था भए पनि यसले नेपालको आँखा स्वास्थ्यको क्षेत्रमा यो ४२ वर्षमा उल्लेखनीय काम गरेको छ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार