Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कोरोना महामारीमा पनि रोकिएन नेपाल क्यान्सर अस्पतालको सेवा

धेरै बिरामी कोरोनासँग डराएर ढिला आउँदा अहिले उपचारमा समस्या

कोरोना महामारीमा पनि रोकिएन नेपाल क्यान्सर अस्पतालको सेवा

हेल्थ टिभी अनलाइन \काठमाडौं : विशेषज्ञहरुले कोरोना भाइरसको संक्रमणको जोखिम दीर्घरोगी जस्तै क्यान्सर, मुटुरोगी, मिर्गौलाका रोग भएका, मधुमेह, दम जस्ता समस्या भएका र जेष्ठ नागरिकमा बढी हुन्छ भन्दै आएका छन्। त्यही कारणले पनि होला हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालले आफनो बिरामी र कर्मचारीलाई संक्रमणबाट बचाउन उत्कृष्ट व्यस्थापन गर्दै सेवा निरन्तर दिइरहेको छ ।

शुरुमा जब कोरोना संक्रमण नेपालमा भित्रियो त्यसबेला भने क्यान्सरका बिरामीलाई कसरी सेवा दिने कसरी बच्ने उपायहरु अपनाउने भन्ने अन्योलमा भए पनि त्यसको एक सातामा नै आफूहरुले सम्पूर्ण तयारीका साथ अघि बढेर बिरामीलाई सेवा दिएको बताउँछन् अस्पतालका कार्यकारी अध्यक्ष एवं क्यान्सर रोग विशेषज्ञ डा सुदिप श्रेष्ठ ।
उनले भने, क्यान्सर भन्ने यस्तो रोग हो जसको उपचारमा एक साता मात्र पनि ढिला हुँदा यसको असर उपचारमा देखिन थाल्छ । त्यसैले पनि हामी यो सेवा रोक्न सक्ने अवस्थामा थिएनौं। जोखिम मोलेरै सम्पूर्ण जनस्वास्थ्यका मापदण्ड पालना गरेर सेवा दिइ नै रह्यौं । तर आफूहरु तयार भए पनि बिरामी नै डराएर केही दिन नआएको र पछि बिस्तारै अनलाइन मार्फत परामर्श शुरु गरेपछि आउन थालेको बताउँछन् उनी । हामीले सेवा बन्द गर्दा क्यान्सर बिरामीको अवस्था बिग्रन्छ भनेर जोखिम मोलेरै भए पनि सेवा दिन तयार भएर बस्यौँ तर बिरामीले नै लापरवाही गर्दाअहिले समस्या आएको छ, उनले भने ।

त्यसो त अझै पनि केही बिरामीहरु अस्पताल भिजिट गर्न डराएको पाइएको उनको भनाई छ । यसरी क्यान्सरका बिरामी रोग पालेर वा पछि देखाउँला भनेर बस्दा यसले क्यान्सरको जटिलता बढ्दै जाने मात्र हैन उपचार प्रक्रिया नै जटिल र लामो र खर्चिलो हुन जाने हुन्छ । कोरोनाको डर यतिसम्म भयोकी बिरामीले क्यान्सरलाई पनि सामान्य ठानेको पाइयो उनले भने ।

उता बिरामीको यो अवस्थाका कारण वर्षौदेखि जनचेतना जगाउँदै हिंडेर शुरुमै पत्ता लगाइरहेको क्यान्सर पनि तेस्रो चौंथो स्टेजमा आउन थाल्नु निकै दुखद भएको उनको भनाई छ । अहिले आएका बिरामीमा त्यही समस्या पाएका छौ उनले भने ।  उता नेपाल क्यान्सर अस्पतालकै स्तन क्यान्सर सर्जन डा कपेन्द्र शेखर अमात्य शुरुमा डर मानेर नआएका बिरामीहरु ढिलो गरी अहिले आउन थालेको बताउँछन्। तर तीन महिना अघि आउनु र अहिलेमा धेरै नै फरक पर्छ । धेरै जसो दिदीबैनीहरु जो अहिले आइरहनुभएको छ उहाँहरुले आफूलाई समस्या भएको थाहा पाएर पनि कोरोनाको डरले अस्पताल आउन नसकेको बताएको सुनाए । उहाँहरु तीन महिनाअघि स्टेज वानमा हुनुहुन्थ्यो अहिले धेरैको स्टेज २ र कतिको ३ पुगेको देखिन्छ । अहिले हाम्रो चिन्ता नै त्यही छ ।

क्यान्सरको उपचारमा हामी २० वर्ष अघि जहाँ थियो त्यही पुराएको डा सुदिप बताउँछन्। २० वर्ष अघिसम्म बिरामीहरु अन्तिम अवस्थामा धेरै गाह्रो भएपछि मात्र आउने चलन थियो,अहिलेको कोरोना लाग्छ भन्ने डरले थाहा पाएर पनि ढिलो आएको पाइएको छ । यसको मूल्य बिरामी र हामी उपचार गर्ने चिकित्सकले वर्षौसम्म चुकाउनुपर्ने हुन्छ ।

संक्रमण हुन नदिन उत्कृष्ट व्यवस्थापन
अस्पतालमा कोरोना संक्रमण नहोस भनेर विशेष तयारी र व्यवस्थापन गरिएको पाइन्छ । शुरुमा जोकोही पनि अस्पताल पुग्छ । उसले अनिवार्य रुपमा एउटा फर्म भर्नुपर्ने हुन्छ । जसमा ज्वरो आए नआएको साथै संक्रमितको सम्पर्कमा आएको नआएको उल्लेख गर्नुपर्ने हुन्छ । यसमा सबै भरिएपछि ज्वरो आएको भए छु्टै फिबर क्लिनिकमा लगिन्छ । फर्म भरिसकेपछि ज्वरो नापेर ठिक अवस्थामा भए मात्र भित्र इन्ट्रि दिइन्छ । स्यानिटाइजर मास्क अनिवार्य गरिएको छ । बेला बेलामा साबुन पानीले हात धुनका लागि व्यवस्था गरिएको छ ।

क्यान्सरका बिरामीलाई कोभिड भएमा उनीहरुका लागि छुट्टै ओपीडी, आइसोलेसन र आइसीयू समेतको सेटअप बनाइएको बताउँछन् डा सुदिप । कोरोनाका बिरामीसँग अरु बिरामीको सम्पर्क नै नहुने गरी आइसोलेट गरिएको छ । त्यसैले निर्धक्क भएर उपचार गर्न सकिन्छ, उनले थपे ।

त्यसो त क्यान्सरका बिरामी जसलाई कोरोना पुष्टि भएको छ उनीहरुको पनि अहिले उपचार भइ नै रहेको छ । त्यसका लागि छुट्टै स्टाफहरुको ड्युटी मिलाइएको छ । यसरी क्यान्सरका बिरामीलाई यो कोरोना महामारीमा पनि सबै सुरक्षा मापदण्ड अपनाएर सेवा दिइरहेको छ नेपाल क्यान्सर अस्पतालले ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आज विश्व रेडक्रस दिवस मनाइँदै

आज विश्व रेडक्रस दिवस मनाइँदै