‘संक्रमित भेटिए पनि अस्पतालको कुनै पनि सेवा अवरुद्द हुँदैन्’

शुक्रबार राजधानीको धुम्बाराहिस्थित ह्याम्स अस्पतालमा दुई जना बिरामीमा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि पनि केही नीजि अस्पतालमा कोरोनाका बिरामी देखिएपछि केही दिनका लागि पूरै अस्पताल सिल गरिएको थियो भने उपचारमा संलग्न स्वास्थ्यकर्मी क्वारेन्टाइनमा गएका थिए । दुई जना संक्रमित भेटिएको ह्याम्स अस्पतालले के गर्दैछ भन्ने विषयमा अस्पतालका कार्यकारी निर्देशक डा ज्योतिन्द्र शर्मासँग हेल्थ टिभी अनलाइनकी कल्पना आचार्यले गरेको कुराकानी :
ह्याम्स अस्पतालमा उपचारमा रहेका दुई जना बिरामीमा कोरोना पुष्टि भएको छ, अहिले उहाँहरुको स्वास्थ्य अवस्था कस्तो छ ?
हो, हाम्रो अस्पतालमा सेवा लिन आउनुभएका दुई जना बिरामीमा आज कोरोना पुष्टि भएको छ । उहाँहरु मध्ये गुल्मीका ७६ वर्षीय पुरुष मंगलबार हाम्रो अस्पतालमा आएर सेवा लिएर गइसक्नु भएको बिरामी हो । उहाँ अहिले हाम्रो अस्पतालमा हुनुहुन्न । तर उहाँ गुल्मीबाट आएको हुनाले हामीले ट्राभल हिस्ट्रीका कारण पीसीआर परीक्षण गरेका थियौं । उहाँ पिसाब पोल्ने समस्या लिएर इमरजेन्सीमा आनुभएको थियो । इमरजेन्सीको आइसोलेसनमा राखेर उपचार गर्यौं । इमरजेन्सीमा उपचार गरेर उहाँ त्यही दिन जानुभएको हो । अर्का बिरामी पोखराबाट मंगलबार नै हेलि रेस्क्यु बाट आउनु भएको हो । ६० वर्षीय उहाँ बेहोस अवस्थामा आउनु भएको थियो । उहाँ चाहिं अहिले हाम्रै अस्पतालमा हुनुहुन्छ । आइसीयूमा उपचार भइहरेको छ र अहिले स्वास्थ्यमा सुधार आएको छ ।
भनेपछि अब संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मी क्वारेन्टाइनमा पठाउनु हुन्छ होला नि ?
हामी पहिलेदेखि नै यो कुरामा सचेत छौं । तपाइँलाई अचम्म लाग्ला हाम्रो अस्पतालमा दुई जना बिरामी कोरोना संक्रमित भेटिंदा पनि हाम्रा कुनै पनि स्वास्थ्यकर्मी क्वारेन्टाइनमा बस्नु पर्दैन । यसमा हामी ढुक्क छौं । ह्याम्स यस्तो अस्पताल हो जहाँ सरकारले र विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार शुरुका दिनदेखि फिबर क्लिनिक देखि आइसोलेसन मेन्टेन गरेका छौं । त्यसैले यी दुबै बिरामीको उपचारमा सलंग्न सबै स्वास्थ्यकर्मीले पूरा सावधानी अपनाएर पीपीई लगाएर उपचार गरेका हुनलाले कोही पनि क्वारेन्टाइनमा जानुपर्ने अवस्था छैन्। अस्पताल सिल गर्ने त कुरै भएन्।
नीजि अस्पतालले कोरोनाको उपचार गर्न मानेनन् भन्ने आरोप छ नि ?
अन्य नीजि अस्पतालको कुरा त म गर्दिन । ह्याम्स अस्पताल नेपालमा १ जना बिरामी भेटिंदा देखि तयारी अवस्थामा छ । हाम्रो अस्पतालले अहिलेसम्म एक जना बिरामी पनि रिफर गरेको छैन्। अन्य केही नीजि अस्पतालमा कोरोना संक्रमित देखिएपछि अस्पताल नै सिल भएको विभिन्न मिडियामा सुनियो । तर हामी यस्तो अस्पताल हौं जहाँ कोरोना संक्रमितले यहीं उपचार गर्छु भन्नुहुन्छ भने पनि उपचार गर्न हामी तयार छौं । अहिलेसम्म उपचारकै क्रममा लगभग २ सय जनाको स्याम्पल पठाइसकेका छौं । त्यसमध्ये आज दुई जनामा कोरोना देखिएको हो । कोरोनाको महामारीमा धेरैले बिरामी रिफर गर्दा हामीले सेवामा तल्लीन छौं र भइरहने छौं । कुनै पनि बिरामी सेवा लिन आउन सक्नुहुन्छ ?
त्यसो भए कोरोना संक्रमितको उपचार यहीं गर्नुहुन्छ त ?
मैले यहाँलाई भने दुई बिरामीमध्ये एक जना हाम्रो अस्पतालमा इमरजेन्सी सेवा लिएर जानुभएको बिरामी हो । उहाँ भर्ना भएको बिरामी होइन्। त्यसैले उहाँ घरमै भएकाले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले नै फोन गरेर उहाँलाई सशस्त्र प्रहरी अस्पतालको आइसोलेसनमा लगेको बुझिएको छ । तर अर्का पोखराका बिरामी भने हाम्रो अस्पतालको आइसीयूमा हुनुहुन्छ । उहाँलाई हामीले सोध्यौं यही उपचार गर्ने की सरकारले बनाएको आइसोलेसनमा जानुहुन्छ भनेर उहाँले यहीं उपचार गर्छु भन्नु भएको छ । हामीले स्पष्ट रुपमा सरकारी अस्पतालमा जाँदा निशुल्क हुन्छ भनेर उहाँलाई बताएका पनि छौं । त्यति भन्दा पनि उहाँ यहीं उपचार गराउँछु भन्दा हामीले पठाउने कुरा हुँदैन । यो बिरामीको अधिकारको कुरा हो । त्यसैले उहाँ हाम्रो बिरामी हो हामी उहाँको उपचार गर्न तयार छौं । कोरोना पुष्टि भयो भन्दैमा हामी हाम्रो जिम्मेवारीबाट पछि हट्ने कुरा हुँदैन । त्यसका लागि अस्पतालका स्टाफ पनि तयार छन्। हामी ढुक्क छौं उपचार गर्न सक्छौं भन्नेमा ।
संक्रमितको उपचार भएको भनेर अन्य बिरामी नआउने हुन्छ की ? अन्य सेवा लिन आउने बिरामीलाई के भन्नुहुन्छ ?
पहिलो कुरा त संक्रमितलाई छुने, उपचार गर्ने स्वास्थ्यकर्मी नै क्वारेन्टाइनमा जान नपर्ने गरी प्रिकसन लिइएको स्थानमा अन्य बिरामी आउन डराउनुपर्ने कुनै कारण नै छैन्। हामी पूर्ण रुपमा सुरक्षित रहेर काम गरिरहेका छौं । त्यसैले संक्रमित छ भनेर कसैले पनि डराउनुपदैन्। हामी हाम्रा बिरामी र स्वास्थ्यकर्मीको सुरक्षामा संवेदनशिल मात्र होइन जिम्मेवार भएर काम गरिरहेका छौं ।
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा
पत्रकार ज्योति शाहको क्यान्सर उपचारका लागि सहयोग जुट्दै