Health TV Online
Health TV Online
Health TV Online

कोरोना भाइरस संक्रमण : किन फैलिए यस्ता अफवाह?

कोरोना भाइरस संक्रमण : किन फैलिए यस्ता अफवाह?

कोरोना भाइरसको प्रकोप फैलिएपछि चीनमा अहिलेसम्म ४२५ जनाको मृत्यु भइसकेको छ भने २० हजार मानिसमा संक्रमण भएको पुष्टि भएको छ।

अन्य एक दर्जनभन्दा बढी देशका १५० भन्दा बढी मानिसमा पाइएको संक्रमणमा चीनबाहिर फिलिपिन्समा एक र हङकङमा एक जनाको मृत्यु भएको छ।

तर चीन र अन्य देशमा भाइरस मात्र फैलिएको छैन, धेरै गलत सूचना पनि फैलिएको छ। महामारी शुरु भएपछि धेरै अफवाह फैलिएको छ। चमेरोको सुरुवाबारे एउटा भिडिओबारे त तपाईँले थाहा पाइसक्नुभयो होला।

चमेरोको भिडिओ

शुरुदेखि नै अनलाइनमा मानिसहरूले कोरोनाभाइरसको उत्पत्तिबारे विभिन्न अड्कल गर्न थाले। महामारी फैलिएका बेला चमेरोको मासुको झोल खाएको भिडिओले त्यस्तो अनुमानलाई झन् प्रोत्साहन दियो।

एउटा भिडिओमा क्यामरामा एक चिनियाँ महिलाले चमेरोको मासु ‘कुखुराको मासुजस्तो स्वादिलो’ भनेर टिप्पणी गरेको सुनिन्छ। त्यस्ता भिडिओले अन्लाइनमा आक्रोशपूर्ण प्रतिक्रियाहरू निम्त्याए।

कतिपय प्रयोगकर्ताहरूले भाइरसको प्रकोप फैलिनुमा चिनियाँहरूको यस्तै खानपानसम्बन्धी व्यवहार भएको आरोप लगाए। तर न त्यो भिडिओ वुहानमा खिचिएको थियो न त चीनकै अन्य भागमा नै।

सन् २०१६ मा चर्चित ब्लगर एवं यात्रा कार्यक्रम प्रस्तोत्री मेङ्युन वाङले पश्चिमी प्रशान्त सागरको पलाउ टापुको भ्रमणका बेला त्यो भिडिओ खिचेकी थिइन्। अनलाइनमा त्यसरी फैलिएपछि उनले क्षमायाचना गर्दै भनिन्, ‘मैले खालि स्थानीय मानिसहरूको जीवनशैली देखाउन खोजेकी थिएँ।’

उनले चमेरोले भाइरस बोक्न सक्छ भन्ने आफूलाई थाहा नभएको बताइन्। अहिले उक्त भिडिओ अनलाइनबाट हटाइएको छ। नयाँ कोरोना भाइरस गैरकानुनी रूपमा व्यापार गरिने वन्यजन्तुमार्फत् वुहानको समुद्री खाद्यपदार्थ बजारबाट फैलिएको अनुमान गरिएको छ।

चमेरो पनि भाइरसको सम्भावित स्रोतको भएको चीनमा गरिएको एउटा अध्ययनले देखाएको छ। तर त्यो त्यहाँ सहजै पाइने परिकार भने होइन। त्यसैले वास्तविकता पहिचान गर्ने काम अझै जारी छ।

याेजनाबद्ध प्रकाेप

अमेरिकामा पनि यसको घटना पाइएसँगै थुप्रै प्याटन्टसम्बन्धी कागजपत्र फेसबुक र ट्विटरमा सार्वजनिक हुन थाले। तिनले विज्ञहरूलाई उक्त भाइरसबारे वर्षौँदेखि जानकारी भएको संकेत गर्थे।

त्यस्तो आशंकापूर्ण धारणा सार्वजनिक गर्ने प्रारम्भिक व्यक्तिमध्ये युट्युबर जोर्डन साथर हुन्। हजारौँ पटक रिट्वीट गरिएका उनका शृङ्खलाबद्ध ट्वीटमा साथरले सन् २०१५ को एउटा प्याटेन्टबारे लेखेका छन्।

इंग्लायण्डस्थित पर्ब्राईट इन्स्टिट्यूट इन सरीले दर्ता गराएको उक्त प्याटन्टमा एउटा कमजोर खालको कोरोनाभाइरसको विकास गरेर श्वासप्रश्वाससम्बन्धी समस्याको उपचार गर्न सकिने उल्लेख छ। उक्त प्याटन्टको लिंक फेसबुकमा खोपविरोधी र कपट भएको मान्यता राख्ने व्यक्तिका ग्रूपबाट व्यापक रूपमा प्रसारित भयो।

बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेशनले पर्ब्राइट र खोप विकासका लागि आर्थिक सहायता गर्ने गरेको तथ्य प्रस्तुत गर्दै साथरले अहिले जानीजानी महामारी फैलाइएको र खोप विकासका लागि पैसा जुटाउनु त्यसको उद्देश्य भएको दाबी गरेका छन्।

उनले ट्वीटमा भनेका छन्। ‘गेट्स फाउन्डेशनले अहिलेसम्म खोप विकासका लागि कति पैसा दियो? के यो रोग फैलिने काम योजनाबद्ध थियो? के यसको त्रास फैलाउन सञ्चारमाध्यमहरू प्रयोग भइरहेका हुन्?’

तर पर्ब्रइटको प्याटन्ट नयाँ कोरोनाभाइरसबारे होइन। यो बरु व्यापक कोरोनाभाइरस समूहकै एउटा सदस्य ‘एभीअन इन्फेक्सन ब्रोङ्काइटिस ‘भाइरसको हो।

गेट्स फाउन्डेसनकी एक प्रवक्ताले बज्फीड न्यूजसँग पर्ब्राईट इन्स्टिच्युटलाई उक्त भाइरसको अध्ययनमा आफूहरूले आर्थिक सहयोग उपलब्ध नगराएको बताएकी छन्।

जैविकअस्त्रसम्बन्धी अफवाह

इन्टरनेटमा अर्को आधारहीन दाबी फैलिएको छ– अहिले फैलिएको कोरोना भाइरस चीनको एउटा गोप्य जैविक अस्त्र कार्यक्रमअन्तर्गत बनाइएको थियो र वुहान भाइरोलजी इन्स्टिट्यूटबाट चुहिएको हुन सक्छ।

त्यस्तो दाबी गर्दा धेरैले इजरायलका एक पूर्वगुप्तचर अधिकारीको भनाइ उद्धृत गरिएको वाशिङ्टन टाइम्सका दुईवटा लेखलाई आधार मान्ने गरेका छन्।

तर तिनमा त्यस्तो दाबीलाई पुष्टि गर्ने कुनै प्रमाण छैनन्। ती लेख सामाजिक सञ्जालमा लाखौँ पटक शेअर भएका छन्। चिनियाँ औपचारिक अनुसन्धानअनुसार वुहानको समुद्री खाद्यबजारमा त्यो भाइरस पहिलो पटक भेटिएको थियो।

‘जासुसी टोली’

कोरोनाभाइरससँग सम्बन्धित अर्को अफवाहअनुसार क्यानडाको सूक्ष्मजीव विज्ञासम्बन्धी राष्ट्रिय प्रयोगशालाका एक अनुसन्धानकर्ता निलम्बित भएपछि नयाँ भाइरस देखिएको हो।

क्यानडाको प्रसारक सीबीएसकाअनुसार भाइरोलजिस्ट डा. सियान्गुओ चिउलाई उनका पति र केही विद्यार्थीसहित गत वर्ष चीनबाट निष्काशन गरिएको थियो।

तर प्रहरीले सीबीएसलाई बताएअनुसार त्यसबाट सार्वजनिक सुरक्षाका लागि अहिले कुनै खतरा छैन। अर्को विवरणअनुसार डा. चिउले वुहानस्थित एक प्रयोगशाला भ्रमण पनि गरेकी थिइन्।

उनीहरू चिनियाँ जासुस भएको दाबी गरिएको एउटा ट्वीट हजारौँ पटक रिट्वीट गरिएको थियो। सीबीएसले पछि ती सबै दाबीहरू आधारहीन भएको बताएको छ।

वुहानकी नर्सको भिडिओ

पोल खोलिएको दाबी गरिएको एउटा भिडिओ हुबे प्रान्तका एक चिकित्सक र नर्सले खिचेको दाबी गरिएको छ। विभिन्न सामाजिक सञ्जालका विभिन्न मञ्चमा दशौँ लाख मानिसले उक्त भिडिओ हेरेका छन्।

तीमध्ये सबैभन्दा चर्चित भिडिओलाई एक कोरियालीले युट्युबमा हालेका छन्। त्यसमा ती महिला वुहानको एउटा अस्पतालकी एक नर्स भएको बताएको छ। तर ती महिलाले त्यसको पुष्टि गरेकी छैनन्।

उनले सुरक्षा पोसाक पनि लगाएकी छन्। तर उनको पोसाक हुबेमा लगाइने पोसाकसँग मेल खाँदैन। उनका अनुसार चीनमा ९० हजारलाई नयाँ भाइरस संक्रमण भइसकेको छ। तर आधिकारिक तथ्यांकअनुसार चीनमा २० हजार जनामा त्यो संक्रमण देखिएको छ।

चाइनाफाइल अनलाइनका दृश्य सम्पादक मुयी सियाओका अनुसार ती महिला वुहानकी होइनन्। त्यो भिडिओको सत्यतालाई लिएर आशंका व्यक्त भएको छ।

बीबीसी

थप समाचार