मृत्युपछि ‘शुक्रकीट दान’
एक अध्ययनले पुरुषलाई मृत्युपछि शुक्रकीट दान गर्न दिनुपर्ने सुझाव दिएको छ।
मेडिकल इथिक्स नामक जर्नलमा प्रकाशित अनुसन्धानको निचोडमा मृत्युपछि शुक्रकीट दान गर्ने व्यवस्थालाई नैतिक रूपमा प्रोत्साहन दिई वीर्यको भण्डारण बढाउनुपर्ने उल्लेख छ।
सन् २०१७ मा बेलायतमा वीर्यदानबाट दुई हजार ३४५ बच्चा जन्मिएका थिए। तर कडा नियमका कारण भण्डार गरिएको शुक्रकीटको परिमाण घट्दो छ।
मृत्युपछि प्रोस्ट्न्ट ग्रन्थीलाई कृत्रिम ढङ्गले सक्रिय बनाएर वा शल्यक्रिया गरेर शुक्रकीट संकलन गर्न सकिन्छ र त्यसपछि त्यसलाई भण्डारण गर्न सकिन्छ।
प्रमाणहरूले मृत्यु भइसकेका व्यक्तिबाट संकलित शुक्रकीटबाट राम्रो किसिमले गर्भाधान गराउन सकिने र स्वस्थ सन्तान जन्माउन सकिने देखाएको छ। मानिसहको मृत्यु भएको ४८ घण्टा भित्र शुक्रकीट संकलन गर्नु पर्छ।
लेस्टर विश्वविद्यालयका चिकित्सक नाथन हडसन र म्यानचेस्टर विथेनस्वे अस्पतालका चिकित्सक हुसा पार्करले शुक्रकीट दानलाई अंगदानसँग तुलना गरेका छन्।
अरू किसिमको प्रत्यारोपणका लागि अंगदान गर्न सकिन्छ भने मृतकबाट लिइने शुक्रकीटलाई पनि बाँझोपन निदानको एउटा उपायका रूपमा हेरिनुपर्ने उनीहरूको तर्क छ।
तर यसमा परिवारको सहमति, विशेषाधिकार र दाताको गोपनियताको प्रश्न जोडिने अनुसन्धानकर्ताहरूको मत छ।
लाञ्छनाविरुद्ध चुनौती
सन् २०१४ मा वर्मिङघममा एउटा शुक्रकीट बैंक स्थापना भएको थियो जसलाई सरकारले ७७ हजार पाउण्ड अनुदान उपलब्ध गराएको थियो।
तर स्थापनाको दुई वर्षपछि नै बैंकले ढोका बन्द गरेको थियो र दाता खोज्ने काम बन्द गरेको थियो। बैंकमा नौ जनाले मात्रै वीर्यदान गरेका थिए जसमध्ये एक जनाले पछि उक्त प्रक्रियाबाट अलग हुने निर्णय लिए।
सन् २००५ को एक कानुनले बेलायतमा वीर्यदानबाट जन्मिएका शिशुहरूले उनीहरू १८ वर्ष पुगेपछि शुक्रकीट दातासँगसम्पर्क राख्न सक्ने व्यवस्था गरेको छ।
तर कतिपय विज्ञहरूले मृत पुरुषबाट शुक्रकीट संकलन गर्ने विधि ‘पश्चगामी बाटो’ हुने भन्दै युवा र स्वस्थ वीर्यदाताको खोजीमा नै जोड दिनुपर्ने बताउँछन्।
कानुनी नजिर
सन् १९९७ मा एक महिलाले आफ्ना मृत श्रीमानको शुक्रकीट प्रयोग गर्न पाउने अधिकार प्राप्त गरेकी थिइन्।
डायानसँग पारिवारिक जीवन शुरु गरेको दुई महिनापछि नै स्टेफन ब्लडलाई मेनिनजाइटिस रोग लागेको थियो।
त्यसपछि उनी ‘कोमा’मा गए। तर उनले मृत्युअघि लिखित रूपमा नै आफ्नो शुक्रकीट प्रयोग गर्न अनुमति दिएका थिएनन्।
उनीबाट संकलन गरिएका दुई नमुना डायान ब्लडको अनुरोधमा राखिएको थियो।
सन् १९९० मा बाँझोपनसम्बन्धी एउटा कानुनले डायन ब्लडलाई लिखित अनुमति नभएका कारण आफ्ना श्रीमानको शुक्रकीट प्रयोग गर्नबाट प्रतिबन्ध लगाएको थियो।
तर पछि पुनरावेदन अदालतले यूकेभन्दा बाहिर युरोपको जुनसुकै स्थानमा बाँझोपनको उपचार गराउन सक्ने आदेश दिएको थियो।
उनले भण्डारण गरेर राखिएको आफ्नो श्रीमानको शुक्रकीटबाट सन् २००२ मा जोएललाई जन्म दिएकी थिइन्।
त्यसको एक वर्षपछि उनले आफ्नो मृत पतिलाई आफ्नो छोराको बाबु भएको स्थापित गराउन मुद्दा जितेकी थिइन्।
बीबीसी नेपाली
काठमाडौंमा १७ जना औंलोको बिरामी, सबै आयातित
स्वास्थ्य मन्त्रालयले भन्यो, सरकारी अस्पतालमा काम गर्ने अनि निजीको विज्ञापन गर्न कहाँ पाइन्छ ?
गर्मीमा तातो हावा ‘लू’ बाट कसरी जोगिने ?
राष्ट्रिय प्रत्यारोपण केन्द्र १२ वर्षमा : १२ सय ३१ जनाको मिर्गौला प्रत्यारोपण
आइभीएफबारे ७ भ्रम र यथार्थ