१० कक्षा पढेका ‘झोले चिकित्सक’, अकालमै जान्छ बिरामीकाे ज्यान
बाँके : स्वास्थ्यचौकीमा चिकित्सक नहुनु र भए पनि उपचारका लागि जनशक्ति, प्रविधि र औषधि अभाव हुँदा नरैनापुर गाउँपालिकामा ‘झोले चिकित्सक’को दबदबा छ।
पैतालीस हजार जनसंख्या रहेको नरैनापुर गाउँपालिकामा छ स्वास्थ्यचौकी छन्, तर औषधिको अभाव भने सधैँ भइरहन्छ । नरैनापुरका गाउँहरूमा झोले चिकित्सकले स्वास्थ्य सुविधा धानिरहेका छन्। झोले चिकित्सककै उपचारका कारण बर्सेनि ज्यान गुमाउनेको संख्या धेरै छ। गाउँमा कोही बिरामी हुँदा झोले चिकित्सक बोलाइन्छ, बिरामीको मृत्यु हुन्छ, परिवारमा केही दिन रुवावासी हुन्छ, घटनाको चर्चा विस्तारै सेलाउँदै जान्छ र ‘झोले चिकित्सक’ले उन्मुक्ति पाउँछ।
नरैनापुरमा ३५ झोले चिकित्सक रहेको अनुमान छ । यिनै झोले चिकित्सकले धानेको स्वास्थ्य सुविधाकै कारण धेरैले ज्यान गुमाउँछन्। यसको मुख्य कारण स्वास्थ्यचौकीमा चिकित्सक नहुनु र भए पनि उपचारका लागि चाहिने प्रविधि र औषधिको अभाव हुनु भएको नरैनापुरवासीको भनाइ छ।
नरैनापुरमा छ वडा छन्, हरेक गाउँमा कम्तीमा दुईका दरले झोले चिकित्सक छन्। मुस्किलले १० कक्षासम्म पढेका र भारतको बहराइचलगायत केही शहरका क्लिनिकमा एकदुई वर्षमात्र प्रशिक्षण लिएर सीमावर्ती गाउँमा ठूलै डाक्टरको रूपमा क्लिनिक स्थापना गर्ने ३५ भन्दा बढी झोले चिकित्सकले नरैनापुरको स्वास्थ्य सेवा धान्दै आएका छन् ।
झोले चिकित्सकबारे जब कसैको मृत्यु हुन्छ, अनि मात्रै चर्चा हुन्छ। केही समय चर्चा हुन्छ, त्यसपछि सामान्य स्थिति कायम गर्दै ‘झोले चिकित्सक’ले पुनः पेशा शुरु गर्छन्। बाँकेको नरैनापुर गाउँपालिकामा मङ्सिर १६ गते ‘झोले चिकित्सक’को उपचारबाट दुई जनाको ज्यान गएपछि चिकित्सकले चर्चा पाए।
भारत श्रावस्ती जिल्लाको मनकौरा गाउँका झोले चिकित्सक राजेश सिंहले उपचार गर्दा नरैनापुर–५ मटेहियाका ३० वर्षीय गयाराज धोबी र राप्तीसोनारी गाउँपालिका–७ गेंदवाका २८ वर्षीय मालिकराम धोबीको ज्यान गयो। घरमा मुण्डनको कार्यक्रममा भोज खाएपछि गयाराज र मालिकरामलाई बान्ता भएपछि उनै ‘झोले चिकित्सक’ सिंहलाई बोलाइएको थियो।
बान्ता हुने क्रम बढेपछि परिवारका सदस्यले उनै झोले चिकित्सक सिंहको उपचारपछि बिरामीलाई निको हुनुको साटो दुवैको मृत्यु भयो । इलाका प्रहरी कार्यालय भगवानपुरका इन्चार्ज मानबहादुर बिसीले भने, ‘उपचारकै क्रममा गयाराजको मृत्यु भयो, मालिकरामलाई उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा ज्यान गयो।’
दुई जनाको मृत्यु घटनामा संलग्नता रहेका झोले चिकित्सक सिंहको खोजी भइरहेको इलाका प्रहरी कार्यालय भगवानपुरका इन्चार्ज बिसीले बताए। ‘हामीले नरैनापुर क्षेत्रमा रहेका अवैध औषधि पसल र झोले चिकित्सकहरूको पहिचान गरिरहेका छौँ। अवैध औषधि पसलमा शिल गरेर झोले चिकित्सकलाई कारबाहीको दायरामा ल्याउँछौँ’, उनले भने।
करlब २५ वर्षदेखि गाउँमा अवैध उपचार गरेर बस्दै आएका राजेश सिंहको यो पहिलो घटना होइन। स्थानीय मयाराम धोबीले भने. ‘धेरै मान्छेको मृत्यु भयो तर जाँच नभएका कारण कुरा खुलेन।’ तीन दिनअघि फेरि दुईको ज्यान गयो। मृत्युपछि दुवैको शव परीक्षणपछि अन्त्येष्टि गरिएको छ ।
घटनापछि स्थानीय स्वास्थ्य अवस्थाबारे प्रश्न खडा भइरहँदा स्वास्थ्यचौकी मटेहिया, गंगापुर, नरैनापुर, कालाफाँटा, लक्ष्मणपुर र कटकुइँयामा समयमा औषधि नपुग्ने गरेको गुनासो बाहिर आएको छ। स्वास्थ्यचौकी मटेहियाका इन्चार्ज प्रेम बुढाले समयमा औषधि नभएका कारण पटक–पटक बिरामी फर्काउनुको विकल्प नरहेको बताए। ‘अर्डरअनुसार औषधि प्राप्त हुँदैन’, उनले भने, ‘अहिले सामान्य औषधि सिटामोलसमेत छैन।’
स्वास्थ्यचौकीबाट समयमा माग नआएका कारण औषधि अपुग हुनगएको नरैनापुर गाउँपालिकाका स्वास्थ्य संयोजक मोइन खाँले बताए। ‘समयमै औषधि माग नगरेपछि अभाव हुनु स्वाभाविक हो’, उनले भने, ‘खपत भएकैले औषधि सकिनु ठूलो कुरा होइन।”
स्वास्थ्य संयोजक खाँले गाउँपालिकाभित्र रहेका अवैध औषधि पसलहरूको तथ्यांक लिन शुरु गरेको बताए। ‘हामीले अवैधरूपमा सञ्चालनमा रहेका औषधि पसल र झोले चिकित्सकहरूको खोजी शुरु गरेका छौँ’, उनले भने, ‘हाम्रो गाउँपालिकामा अवैध मेडिकल माफियालाई कुनै स्थान छैन।’
रासस





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित