क्षयरोगकाे उपचारमा खोप : प्रारम्भिक परीक्षण प्रभावकारी
अनुसन्धानकर्ताहरूले क्षयरोगविरुद्धको उपचारमा ठूलो परिवर्तन ल्याउन सक्ने अपेक्षासहित एउटा नयाँ खोप विकसित भइरहेको बताएका छन्।
उक्त खोपले क्षयरोगबाट दीर्घकालीन रूपमा जोगाउन सक्ने आशा गरिएको छ। क्षयरोगबाट विश्वभरि बर्सेनि १५ लाख मानिसले ज्यान गुमाउने गरेका छन्।
सर्ने सम्भावना उच्च भएको यो रोग जीवाणुबाट सर्छ। यो रोगविरुद्ध अहिले उपलब्ध खोप बीसीजी त्यति प्रभावकारी छैन।
नयाँ खोपको प्रारम्भिक परीक्षण भइसकेको छ। तर त्यसले प्रयोगको अनुमति पाउन अझै केही वर्ष कुर्नुपर्ने हुन्छ।
अनुसन्धानमा संलग्न विश्वभरिका शोधकर्ताहरूको टोलीले मङ्गलबार पश्चिम भारतको हैदराबादमा फोक्सोको स्वास्थ्यसम्बन्धी एउटा सम्मेलनका क्रममा नयाँ खोपबारे जानकारी गराएको हो।
जीवाणुको प्रोटिनबाट बन्ने यो खोपले मानिसमा रोगप्रतिरोधक क्षमता विकसित गराउँछ।
अनुसन्धानकर्ताहरूका अनुसार नयाँ खोपले सबैभन्दा महत्त्वपूर्ण चरण ‘क्लिनिकल ट्रायल’ पूरा गरिसकेको छ र दक्षिण अफ्रिका केन्या तथा जाम्बियामा साढे तीन हजारभन्दा बढी मानिसमा त्यसको परीक्षण गरिसकिएको छ।
खोप किन क्रान्तिकारी छ?
क्षयरोग विशेषज्ञ डा. डेभिड लेविन्सनका अनुसार यो खोपले साँच्चिकै आमूल परिवर्तन गरिदिनेछ।
उनले भने, ‘यो खोपको विशेषता के हो भने क्षयरोग निम्त्याउने जीवाणुबाट पहिलेदेखि सङ्क्रमित वयस्कहरूमा पनि प्रभावकारी देखिएको छ।’
‘माइकोब्याक्टिरियम ट्युबरक्युलोसिसबाट सङ्क्रमित भएका अनिकांश मानिसमा क्षयरोग हुँदैन। हामीलाई के लाग्छ भने सङ्क्रमणले केही हदसम्म संरक्षण पनि गर्छ। त्यसैले उत्साहजनक कुरा के छ भने खोपले प्राकृतिक प्रतिरोध क्षमता बढाउन सघाएको देखिएको छ’, उनले थपे।
डा. लेविन्सनका अनुसार उक्त खोप आफ्नो विकासको मध्य चरणमा छ र सुरक्षा एवं प्रभावबारे प्रारम्भिक सङ्केत दिनेगरी त्यसको डिजाइन गरिएको छ।
‘अब ठूलो जनसङ्ख्यामा यसको परीक्षण गर्नुपर्ने देखिन्छ र अनुमति पाउनुअघि सम्भवतः ठूलो स्तरमा परीक्षण गरिनेछ। अपेक्षा गरिएअनुसार आगामी परीक्षण पनि सफल भए यो खोपले क्षयरोगको उपचारमा क्रान्ति ल्याउने सम्भावना छ।’
डा. लेविन्सनका अनुसार यदि योजनानुरूप सबै कुरा अगाडि बढे भने सन् २०२८ सम्ममा मानिसहरूले यो खोप पाउन थाल्नेछन्।
औषधि कम्पनी ग्ल्याक्सोस्मिथक्लाइन ९जीएसके० ले क्षयरोगको खोपबारे करिब २० वर्षदेखि काम गरिरहेको छ।
अहिलेको अवस्था कति गम्भीर छ?
विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०१८ मा एक करोड क्षयरोगी भएको अनुमान छ।
विश्वको लगभग एकचौथाइ जनसङ्ख्या नदेखिनेगरी क्षयरोगबाट सङ्क्रमित छ।
यसको अर्थ उनीहरूमा क्षयरोगको जीवाणु निष्क्रिय रूपमा छ, तर उनीहरू रोगी भएका वा अरूलाई सङ्क्रमित गरिरहेका छैनन्।
क्षयरोगको जीवाणु निष्क्रिय रूपमा रहेका मानिसहरूको जीवनमा क्षयरोग हुने खतरा पाँचदेखि १० प्रतिशतसम्म हुन्छ।
सबैभन्दा बढी प्रभावित कहाँ?
विश्वका कुल क्षयरोगीमध्ये एक तिहाइ सङ्ख्या आठवटा देशमा पाइन्छ। भारतमा २७ प्रतिशत, चीनमा ९, इन्डोनेसियामा ८, फिलिपिन्समा ६, पाकिस्तानमा ६, नाइजिरियामा ४, बंगलादेशमा ४ र दक्षिण अफ्रिकामा ३ प्रतिशत बिरामी छन्।
विश्वका अनुमानित चारमध्ये एकभन्दा बढी क्षयरोगको समस्या भारतमा देखिने गरेको छ।
भारतमा बर्सेनि ३० लाख क्षयरोगका नयाँ बिरामी थपिने गरेका छन्। विश्व स्वास्थ्य सङ्गठनकाअनुसार तीमध्ये एक लाखभन्दा बढी ‘मल्टि ड्रग रिजिस्टन्ट’ अर्थात् धेरै औषधिले काम नगर्ने हुन्छन्।
त्यहाँ बर्सेनि क्षयरोगबाट चार लाख मानिसले ज्यान गुमाउने गरेका छन् र क्षयरोगसँग लड्न सरकारले वार्षिक २४ अर्ब डलर खर्च गर्ने गरेको छ।
दिल्लीस्थित इन्टरनेसनल यूनियन अगेन्स्ट ट्युबरक्युलोसिस एन्ड लङ डिजिजकी निर्देशक जम्होई तोसिङ भन्छिन्, ‘भारतमा हामीले क्षयरोगलाई परास्त नगरेसम्म विश्वभरिबाट यसको उन्मूलन हुन सक्दैन।’
बीबीसी नेपालीबाट





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित