Health TV Online
Health TV Online
Health TV Online

तीजको व्रत बस्दै हुनुहुन्छ ? ध्यान दिनुस् यी कुरा

तीजको व्रत बस्दै हुनुहुन्छ ? ध्यान दिनुस् यी कुरा

तीजका अवसरमा हिन्दु सनातनी महिलाहरूले व्रत बस्ने गर्छन्। भगवान् शिव र पार्वतीको उपासना गर्दै आफ्नो अवस्थाअनुसार कसैले दिनभर पानीसमेत नखाई, कसैले निराहार, कसैले पानी, फलफूल खाएर पनि व्रत बस्ने गर्छन्।

व्रत बस्नु व्यक्तिको इच्छाको कुरा हो। कसैले यसो गर वा उसो गर भन्नुभन्दा पनि आफ्नो शारीरिक, सामाजिक र पारिवारिक अवस्था हेरेर व्रत बस्ने हो। हाम्रा धर्मशास्त्रले पनि शरीरमाद्यम् खलु धर्मसाधनम् भनेका छन्, अर्थात् पहिले शरीर हेर अनि मात्र धर्मकर्म गर।

शरीर र मनलाई अप्ठ्यारोमा पारेर पानी पनि नखाई व्रत बस्नु राम्रो नहुने संस्कृतिविद् कान्ता भट्टराई बताउँछिन्। ‘शरीरको अवस्थाअनुसार पानी, फलफूल, जुस, दूध र दही खाएर व्रत बस्न सकिन्छ’, उनी भन्छिन्, ‘हाम्रो धर्मशास्त्रले पानी नखाई व्रत बस्नु भनेर कतै भनेको छैन।’

नियमित रूपले व्रत बस्ने हो भने व्रत नलिनेभन्दा बढी बाँच्ने डा. प्रकाश बुढाथोकी बताउँछन्। ‘उनीहरूमा दीर्घरोग लाग्ने सम्भावना कम हुन्छ। तौल पनि स्थिर रहन्छ’, उनी भन्छन्, ‘तर धेरै समयमा एकपटक लामो समयसम्म व्रत बस्दा शरीर कमजोर हुन्छ।’

उपवासको माध्यमबाट धेरै रोगको उपचार गर्न सकिने डा. जनकबहादुर बस्नेत बताउँछन्। ‘पाचन प्रणाली लगायत अन्य आन्तरिक अंगहरूलाई विश्राम दिन पनि उपवास अत्यन्त आवश्यक छ’, उनी भन्छन्, ‘तर उपचारात्मक उपवासका लागि प्राकृतिक चिकित्सकको निगरानीमा प्राकृतिक चिकित्सालयमा आवासीय रूपमा गर्नुपर्छ।’

व्रत बस्नु स्वास्थ्यको हिसाबले निकै राम्रो मानिने पोषणविद् अरूणा उप्रेतीको भनाइ छ। साताको एक दिन व्रत बस्नु राम्रो हुने उनी बताउँछिन्। ‘धार्मिक रूपमा भन्दा शारीरिक रूपमा निकै लाभदायी हुन्छ’ उनी भन्छिन्, ‘एक दिन भोकै बस्दा शारीरिक रूपमा अस्वस्थ भइँदैन।’ मधुमेह र उच्च रक्तचापका रोगीलाई व्रत नबस्न सल्लाह दिन्छन् बुढाथोकी।

विशेषगरी गर्भवती, भर्खरै शल्यक्रिया गरेका, ग्याष्ट्रिक, अल्सर र मुटुरोगीहरूले व्रत बस्न हुँदैन। नियमित औषधि सेवन गरेकाहरूले पनि व्रत बस्नु राम्रो नहुने चिकित्सकहरू बताउँछन्। ‘निराहार बस्दा वा पानी पनि नखाँदा ग्याष्ट्रिक हुने र मिर्गौला बिग्रन सक्छ’, बुढाथोकी भन्छन्, निको हुँदै गरेका रोग पनि व्रत बस्दा बल्झिन सक्छन्।’

दरका नाममा मध्यरातसम्म चिल्लो खाएर भोलिपल्ट भोकै बस्ने चलन राम्रो नभएको पोषणविद् उप्रेती बताउँछिन्। व्रत बस्दा प्रशस्त पानी पिउनुपर्ने उनको भनाइ छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा