के खाँदै हुनुहुन्छ दर? होशियार, यस्ता खानेकुराले निम्त्याउन सक्छ समस्या

काठमाडौं : हिन्दु महिलाहरुले तीजको तयारीस्वरूप दर खाने दिन। अामाछाेरी, दिदीबहिनीलगायत छाेरीचेली मिलेर मीठा मीठा परिकारहरू बनाएर खानु र नाचगान गरेर रमाइलाे गर्नु नै यो दिनको मुख्य विशेषता हो।
तीजको अघिल्लो दिन शरीरलाई दह्रो बनाउने आडिलो खानेकुरासहित दर खुवाउने चलन सुरु भएको बताउँछिन्, संस्कृतिविद् कान्ता भट्टराई। सामान्यतय व्रतकाे अघिल्लाे दिन सात्विक खानेकुरा खानुपर्ने शास्त्रकाे मान्यता छ। अर्थात् माछा मासुलगायत पदार्थ व्रतकाे अघिल्लाे दिन खान हुँदैन।
व्रत बस्दा शरीर कमजोर हुन नदिने विषयसँग दरको सम्बन्ध रहेको भट्टराई बताउँछिन्। ‘सामान्यतय व्रतको अघिल्लो दिन तामसी किसिमका पदार्थ खानु हुँदैन’, उनी भन्छिन्, ‘दरमा खाइने खानेकुराहरू स्वस्थ र पोषणयुक्त हुनपर्छ।’
पहिले पहिले अनादीको लट्टे, थाेरै घिउ हालेको खाना, खीर, ढकने जस्ता तागत दिने खानेकुरा खाने चलन थियाे। बढ्दाे अाधुनिकीकरण र बजारीकरणसँगै दरमा धेरैथरीका परिकार समावेश हुन्छन्। यसरी तयार पारिएका परिकार बनाउन प्रयोग गरिने तेल, मसला आदिको गुणस्तरमा विशेष ध्यान दिन जरुरी छ। आजभोलि घरमा खानेकुरा बनाउन धेरै समय लाग्ने र झण्झटिलो हुने हुँदा बजारमा पाइने मिठाइ र अन्य परिकार किनेर ल्याउने चलन छ।
बजारबाट ल्याइने यस्ता खानेकुरा आकर्षक देखिए पनि स्वस्थकर नहुने चिकित्सकहरू बताउँछन्। ‘बजार खानेकुरामा रंग र अन्य अखाद्य वस्तु मिसाइने हुँदा यस्ता खानेकुराले बान्ता हुने, झाडापखाला लाग्ने जस्ता समस्या आउन सक्छ’, डा. सन्दीपराज कुँवर, ‘यस्ता खानेकुरा नखान सुझाव दिन्छु। सकेसम्म घरमै बनाएका खानेकुरा खानुस्।’
दरमा अधिकांश खानेकुरा चिल्लो भए पनि विशेष रुपमा थप घिउ राखेर खाने गरिन्छ। अझ भनौँ भने घिउ नभएको दर पनि के दर भनिन्छ। भोलिपल्ट व्रत बस्ने हुनाले दरमा घिउ तथा चिल्लाे खाने गरिएको हो। चिल्लोबाट बढी शक्ति प्राप्त हुन्छ भनेर यस्ता खानेकुरा खाने चलन छ। तर यस्ता चिल्लो पिरो खानेकुरा खानाले पेटमा ‘एसिडिटी’ बढ्ने एवं पेट पोल्ने हुन्छ। चिकित्रसकहरू दरमा फलफूल, हरियो सलाद समावेश गर्ने सल्लाह दिन्छन्।
तीजको दिनमा निराहार व्रत बस्ने गरिन्छ। हाम्रो शरीरलाई एकदिनमा दुई लिटरभन्दा बढी पानी चाहिन्छ। पानी पनि नखाएर व्रत बस्दा शरीरमा अनेकौँ समस्या देखिने मृगौलारोग विशेषज्ञ डा.ऋषिकुमार काफ्ले बताउँछन्। ‘कमजोर र दीर्घरोगीलाई एक दिनको व्रतले पनि निकै असर पुर्याउन सक्छ’, उनी भन्छन्।
विशेषगरी मधुमेह भएका बिरामीले दर र तीजको दर खाँदा अझ बढी सतर्कता अपनाउनुपर्ने बताउँछिन् मधुमेहरोग विशेषज्ञ डा.ज्योति भट्टराई।‘तिज सकिएपछि सुगर बढेर आउने बिरामी बढी हुन्छन्’, उनी भन्छिन्, ‘तीजको दर त हो भनेर जथाभावी खाँदा स्वास्थ्यमा गम्भीर असर पुर्याइरहेको हुन्छ।’ एकदिन खाएको दरले महिनौँ वा जीवनभर दुःख हुन्छ भने बेलैमा होश पुर्याउनु बुद्धिमानी हुने चिकित्सकहरूको भनाइ छ।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा