सुदूरका महिलामा आङ खस्ने समस्या बढ्दाे

कैलाली : प्रदेश ५, ७ र कर्णाली प्रदेशको जिल्लाका सुदूर क्षेत्रमा बसोबास गर्ने महिलाले प्रजनन स्वास्थ्यमा भोग्दै आएका समस्यामध्ये आङ खस्ने समस्या सबैभन्दा बढी पाइएको छ।
‘कामको बोझ, मानसिक तनाव, सरसफाइमा कमी, उमेर नपुग्दै बिहे गर्नु र असुरक्षित रूपमा सुत्केरी गराउने कारणले पनि महिलामा पाठेघर समस्या जटिल हुँदै गएको छ’, नेपालगञ्जस्थित भेरी अञ्चल अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. कल्पना थापाले बताइन्।
‘गाउँघरतिर छिटोछिटो बच्चा जन्माउनु, सुर्तीजन्य अम्मल प्रयोग गर्नु, पोषणयुक्त खानामा ध्यान नदिनु र महिलाप्रति परिवारको व्यवहार मैत्रीपूर्ण नहुनुका कारण पनि यो समस्या झागिँदै गएको हाे’, थापाले भनिन्।
केही समयअघि यस भेगका विभिन्न ग्रामीण क्षेत्रमा सञ्चालन गरिएका स्वास्थ्य शिविरमा उपचारका लागि आएका महिलामध्ये अधिकांशमा पाठेघरको समस्या अधिक थियो। ‘शिविर, स्वास्थ्यचौकी र अस्पतालमा उपचारका लागि आउने महिलामध्ये एक चौथाइ महिलाको पाठेघर जटिल अवस्थामा पुगिसकेको हुन्छ, शल्यक्रिया गर्नुबाहेक अन्य उपचार सम्भव हुँदैन’, प्रमुख जनस्वास्थ्य प्रशासक खिमबहादुर खड्काको अनुभव छ।
विशेषतः ग्रामीण भेगका दलित, मधेशी, मुस्लिम र सीमान्तकृत समुदायका महिलामा यो समस्या बढी देखिएको छ। कम उमेरमा विवाह हुनु, घरमै बच्चा जन्माउनु, गर्भावस्थामा पोषिलो खानेकुरा खान नपाउनु, सुत्केरी अवस्थामा राम्रो स्याहार नपाउनु र अत्यधिक कामको बोझमा परेका महिलामा आङ खस्ने समस्या बढी देखिने गरेको जनस्वास्थ्य कार्यालयको तथ्याङ्कमा छ।
यो अवस्थामा सुधार ल्याउन सरकारले जिल्ला जिल्लामा महिला स्वास्थ्य कार्यक्रमअन्तर्गत सुरक्षित मातृत्व, आमा सुरक्षा, गर्भवतीपूर्व स्याहार, आइरन चक्की, पोषणयुक्त खाना वितरणलगायत कार्यक्रम सञ्चालन गर्दै आएको छ।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा