स्व. देवकाेटा पढेकाे अमरज्योति मावि शाेकमा, अाज पठनपाठन बन्द

हेल्थ टिभी अनलाइन संवाददाता
गोरखा– वरिष्ठ न्यूरोसर्जन डा. उपेन्द्र देवकोटाको निधन भएपछि पालुङटार नगरपालिका– ४ स्थित उनी पढेकाे अमरज्योति जनता माविकाे पठनपाठन बन्द गरिएको छ। देवकाेटाको शोकमा विद्यालय बन्द गरिएकाे हाे ।
विद्यालयका पूर्व विद्यार्थीको निधन भएकाले पठनपाठन बन्द गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश न्यौपानेले बताए। ‘हाम्रो विद्यालयको मात्र नभर्इ देशकै सम्पत्ति खोसिएको छ। याे दु:खद घडीमा हामीले उहाँ पढेको विद्यालयमा पठनपाठन गर्न सकेनौँ’, न्याैपानेले भने,’ ‘आज दिनभर पढाइ बन्द गर्ने निर्णय गर्यौँ।’ मंगलबार बेलुका देवकोटाप्रति श्रद्धाञ्जली व्यक्त गरेर बुधबारदेखि नियमित पठनपाठन सुरु गर्ने उनले बताए।
देवकोटाले कक्षा ५ देखि १० सम्म अमरज्योतिमा पढेका थिए। पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयाेजक डा.बाबुराम भट्टराईका सहपाठी देवकोटाले २०२६ सालमा अमरज्योतिबाटै एसएलसी दिएका थिए। भट्टराई देशभरबाटै ‘बोर्ड फर्स्ट’ हुँदा देवकोटा ‘टप टेन’ मा परेका थिए।
स्व. देवकाेटाकाे सम्झनामा विद्यालय प्राङ्गणमा देवकोटा स्मृति उद्यान बनाउने सोच बनाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष न्यौपानेले बताए।
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा
पत्रकार ज्योति शाहको क्यान्सर उपचारका लागि सहयोग जुट्दै