Health TV Online
Health TV Online

एक व्यक्तिमा लक्षण देखिनुअघि नै अर्काेमा सरिसक्ने भाइरस काेराेना

एक व्यक्तिमा लक्षण देखिनुअघि नै अर्काेमा सरिसक्ने भाइरस काेराेना

कोरोना भाइरस रुघाखोकी लगाउने भाइरसहरूको परिवारको एउटा सदस्य हो। तर अहिले फैलिएको यो भाइरस पहिला देखिएको थिएन। त्यसैले यो नयाँ भाइरसलाई २०१९ एन सी ओ भी नामकरण गरिएको छ।

अन्य पशुपक्षीबाट सरेपछि नयाँ भाइरसहरू मानिसमा सामान्य बन्छन्। चमेरोबाट बिरालोजस्तो देखिने सिभिट र त्यसपछि मानिसमा भाइरस सरेपछि सन् २००३ मा श्वासप्रश्वासम्बन्धी रोग ‘सार्स’को प्रकोप फैलिएको थियो। यो नयाँ कोरोना भाइरसले पनि श्वासप्रश्वास प्रणालीमा गम्भीर खालको संक्रमण गराउँछ।

ज्वरो आउनु, त्यसपछि सुक्खा खोकी लाग्नु र केही हप्तापछि सास फेर्न गाह्रो हुनु यो रोगका लक्षण हुन्। संक्रमण भएका केही बिरामीलाई अस्पताल लगेर उपचार गर्नुपर्ने स्थिति उत्पन्न हुन्छ। यो रोगको छुट्टै औषधि वा खोप छैन।

कोरोनाभाइरसको सङ्क्रमण भएका एकचौथाइ मानिसलाई मात्रै गम्भीर समस्या हुने बताइन्छ। मृत्यु हुनेमा अधिकांश वृद्धावस्थाका वा स्वास्थ्यसम्बन्धी अन्य समस्या भएका व्यक्ति छन्।

चिनियाँ अधिकारीहरूले ‘वन्यजीवनको अवैध कारोबार’ गर्ने समुद्री खाद्यपदार्थको एउटा बजारबाट उक्त भाइरस फैलिएको आशंका गरिएको छ।

चिनियाँ अधिकारीहरूले लक्षण देखिनुअघि नै संक्रमित व्यक्तिबाट उक्त भाइरस अन्य व्यक्तिमा सर्ने भएकाले त्यसको नियन्त्रण गर्न एकदमै कठिन भएको बताएका छन्।

नियन्त्रणबारे के भन्छन् वैज्ञानिक?

बेलायतस्थित एमआरसी सेन्टर फोर ग्लोबल इन्फेक्सस डिजीज अन्यालसिसमा कार्यरत वैज्ञानिकहरूले चीनले यो भाइरस नियन्त्रण गर्न नसक्ने सम्भावना भएको बताएका छन्।

उनीहरूका अनुसार अहिले फैलिएको महामारीको रूप हेर्दा कोरोना भाइरस मानवबाट मानवमा सरेको हुन सक्छ। प्रत्येक संक्रमित व्यक्तिले सालाखाला २.५ जनालाई कोरोना भाइरस सारिरहेको उनीहरूको अनुमान छ।

उक्त संस्थाले भाइरस नियन्त्रण गर्ने चीन सरकारको प्रयासको प्रशंसा गरेको छ। तर उसका अनुसार महामारी नियन्त्रण गर्न भाइरसको प्रसारण ६० प्रतिशतले घटाउन सक्नुपर्छ। त्यसो गर्न ठूलो चुनौती भएको उनीहरूको धारणा छ।

किनभने त्यसका लागि सामान्य लक्षण भएका बिरामी फेला पार्नु र तिनलाई छुट्याएर अलग्गै राख्नुपर्छ।

बीबीसी

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार